काठमाडौं । बाढीपीडित स्थानीय आन्दोलनमा उत्रिएपछि मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण प्रभावित बनेको छ ।
बाढी प्रभावित स्थानीय आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा उत्रिएसँगै काम गर्न असहज भएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
‘‘गत वर्ष असार र साउनमा आएको बाढीले मेलम्ची बजार क्षेत्रमा ढुंगा, बालुवा थुपारिदिएको छ,” उनले भने ।
नदी नियन्त्रणका लागि तटबन्ध, बस्ती संरक्षण, मेलम्ची–इन्द्रावती करिडोर एकीकृत विकास परियोजना, नदीलाई पुरानै धारमा बहाउन, जोखिममा रहेका बस्ती संरक्षणका लागि तत्काल बजेट छुट्ट्याएर काम गर्नुपर्नेलगायत स्थानीयको माग छ ।
“पुनः बर्खायाममा बाढी आउँदा बस्ती डुबानमा पर्ने सम्भावना छ । स्थानीयले नदी नियन्त्रणको माग गर्दै आएका छन्,” प्रवक्ता पन्तले भने ।
बाढीपीडितका माग आयोजनाको क्षेत्रभित्र परे पनि जिम्मेवारीअन्तर्गत नपर्ने उनले बताए । ‘‘हामीले स्थानीयका मागलाई पूरा गर्नुपर्छ भनी सम्बन्धित विभागमा आग्रह गरिरहेका छौँ । तत्कालै स्थानीयले माग गरेका समस्या पूरा गर्न बजेट नभएको र काम सुरु नगरिएकाले समस्या सिर्जना भएको छ । आवश्यक बजेट माग गरी असहजता हटाउन तत्काल काम सुरु गर्ने भनेका छौँ,” उनले भने, “सामाजिक उत्थान कार्यक्रमअन्तर्गत केही काम गर्न सक्छौँ भन्दै बजेटको माग गरिएको छ ।”
खानेपानीमन्त्री उमाकान्त चौधरी, आयोजनाका कार्यकारी निर्देशकसहितको टोली स्थानीयका समस्या समाधानका लागि मेलम्ची गएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।
प्रवक्ता पन्तले खानेपानीमा विभिन्न जटिलता भए पनि अस्थायी रूपमा आउँदो चैत/वैशाखमा काठमाडौंमा पानी ल्याइने बताए ।
“चैत/वैशाखमै ल्याउने गरी काम भइरहेको छ,” उनले भने, ‘‘अहिले पूर्ण रूपमा काम रोकिएको अवस्था भने होइन । स्थानीयको आन्दोलनले केही असहज भएको छ ।”
आयोजनाको हेडवक्सको मर्मत र सुरुङमार्ग सफाइको काम सकिन लागेको आयोजनाले जनाएको छ । सहायक सुरुङ र संरचनामा नयाँ उपकरणहरू जडान गर्नुपर्ने देखिएको प्रवक्ता पन्तले जानकारी दिए ।