काठमाडौं । प्रहरीले बलात्कारको आरोप लागेका एमालेका नेता तथा मुगुका निलम्बित सांसद मोहन बानियाँ र पीडित महिलामाथि अनुसन्धार गरेर प्रतिवेदन तयारीको काम थालेको छ ।
दुवै पक्षको बयान लिने काम सकिएको र अदालतले दिएको चैत ३ गतेसम्मको म्यादमा प्रतिवेदन बुझाइसक्नेगरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । त्यतिबेलासम्म पनि प्रतिवेदन तयार नभए पुन: म्याद थप हुने उनले बताए ।
जुम्लाकी एक महिलाले नेपालगन्जस्थित अप्सरा होटेलमा बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् । त्यसपछि अदालतको आदेशअनुसार प्रहरीले बाँकेस्थित राँझा विमानस्थलबाट बानियाँलाई पक्राउ गरेको थियो ।
बलात्कारको मुद्दा दर्ता भएपछि फागुन २२ गतेको प्रतिनिधिसभा बैठकले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको थियो ।