बीबीसी । तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकासहित यसका मित्रराष्ट्रहरूले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो । त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ ।
कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारेल १३९ डलर पुगेको छ । एक ब्यारेल १५९ लिटर बराबर हुन्छ । तुलना गर्ने हो भने २०२१ मा कच्चा तेलको मूल्य औसतमा प्रति ब्यारेल ६२.२६ डलर मात्र थियो ।
युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि नै ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको छ । यसमा अहिले नै दुनियाँभर उपभोक्ताहरूले इन्धनको मूल्य वृद्धि महसुस गरिसकेका छन् । तेलका साथै यसले शेयर बजारमा पनि ठूलो प्रभाव पारिरहेको छ ।
रुस विश्वकै प्रमुख तेल निर्यातकर्ता भएकाले पनि यससँग कारोबार ठप्प पार्नुले दुनियाँभर असर गर्ने पक्का छ । कोभिड महामारीपछि केही सुधार अनुभव गरिरहेको विश्व अर्थतन्त्रमा फेरि ठूलो क्षति पुग्ने बताइएको छ ।
तेल बजार सम्बन्धी विश्लेषक फर्म भान्डा इन्साइट्सले भनेको छ, “अमेरिकाले तत्कालै रुसबाट तेल निर्यात बन्द गराउन सक्छ तर युरोपका लागि यो निर्णय लिन सजिलो हुने छैन । किनकि यदि पुटिनले युरोपको ग्यास सप्लाई बन्द गरिदिए भने त्यहाँ वास्तवमै भयानक ऊर्जा संकट सिर्जना हुनेछ । ”