काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसद् अवरोध छोडेर नियमित संसदीय प्रक्रियामा आउने दाबी गरेका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले एमालेले महाअभियोग सिफारिस समितिमा सदस्य पठाएर संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद् अवरोध पनि हट्ने दाबी गरेका हुन् ।
एमालेले लामो समयदेखि संसद् अवरोध गरिरहँदा जनताबाट संसद्को औचित्यमाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताउँदै उनले अहिले ‘अर्ली इलेक्सन’को कुरा उठेको उल्लेख गरे । एमाले संसदीय प्रक्रियामा आए संसद् पूर्णकाल चल्ने उनको भनाइ छ ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अर्ली इलेक्सनको बहसभित्र स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरे । एमाले सधैँ संसदीय प्रणालीमा विश्वास गर्ने बताउँदै उनले संसदीय व्यवस्थालाई स्थापित गर्नकै लागि सदनमा विरोध जनाएको जिकिर गरे ।
नेम्वाङले महाअभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुर्याउन सिफारिस समितिमा नाम दिइएको समेत बताए ।
सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको बताए ।