काठमाडौं । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन आक्रमणपश्चात् पश्चिमी मुलुकहरूले आफ्नो देशमाथि जारी गरेका प्रतिबन्ध युद्धको घोषणा गरे बराबर भएको बताएका छन् ।
“तर, धन्न भगवान् ! अहिलेसम्म त्यो स्थिति आइसकेको छैन,” उनले भने ।
साथै, पुटिनले युक्रेनलाई उडानरहित क्षेत्र घोषणा गर्ने प्रयाससम्बन्धी कडा चेतावनी दिएका छन् । युरोपले त्यसो गरेमा यसको अर्थ युद्धमा सहभागिता जनाएसमान हुने उनले बताएका छन् ।
त्यसैगरी, उनले रुसमा आपत्कालीन स्थिति या ‘मार्सल कानुन’ लागु गर्ने चर्चालाई अस्वीकार गरेका छन् । राजधानी मस्कोनजिक एरोफ्लोट प्रशिक्षणको कार्यक्रममा महिला ‘फ्लाइट अटेन्डेन्ट’हरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
रुसले १० दिनअघि युक्रेनमाथि हमला सुरु गरेदेखि विश्वका थुप्रै मुलुकले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन् ।
यही क्रममा पुटिनलगायत रुसका धनाढ्य र अरू नेताको विदेशी सम्पति समेत जफत गरिएको छ । रुसी बैंंकलाई स्वीफ्ट अन्तर्राष्ट्रिय प्रणालीबाट निकालिएको छ । दर्जनौँ ब्रान्डेड कम्पनीले रुससँगको सबै कारोबारमा रोक लगाएका छन् ।
यिनै कारणले रुसी मुद्रा रुबलको भाउमा ठूलो गिरावट देखिएको छ । जसका कारण रुसको केन्द्रीय बैंकले दुई गुणाले ब्याजदर बढाउनुपरेको छ ।
पुटिनले अझै युक्रेन हमलाका लागि सुरुवाती स्पष्टीकरण दोहोर्याउँदै आफूले केवल रुसी भाषा बोल्ने समुदायलाई बचाउन यो विशेष सैन्य अपरेसन लागु गरेको बताएका छन् ।
त्यस्तै, रुसी सेनाले अपेक्षा गरेभन्दा कमजोर प्रस्तुति देखाएको रिपोर्टबारे उनले भनेका छन्, “हाम्रो आर्मीले सबै काम सम्पन्न गर्नेछन् । यसमा मलाई कुनै पनि शंका छैन । सबै योजनाअनुरूप नै भइरहेको छ ।”
सो आक्रमणमा केबल प्रोफेसनल सेनाले मात्र सहभागिता जनाइरहेको पनि उनले दाबी गरेका छन् । तर, पछिल्लो समय भिडियो प्रमाणहरूमा सैनिकहरू पक्राउ परेको देखिएको थियो ।
युद्ध जारी रहेकै अवस्थामा पुटिनले शनिबार मात्र इजरायलका प्रधानमन्त्री नफ्तेली बेनेटसँग तीन घण्टा लामो छलफल गरेका छन् । यसलगत्तै उनी बेनेट जर्मनका चान्स्लरलाई भेट्न बर्लिनका लागि उडेका थिए ।
इजरायल अमेरिकाको नजिकको मित्रराष्ट्र भए पनि बेनेटले रुससँगको सम्बन्ध बचाउने अधिक प्रयास गरिरहेको पाइएको छ । बीबीसीबाट ।