काठमाडौं । ब्याजदर वृद्धिले पनि बैंकिङ प्रणालीमा निक्षेपमा सुधारात्मक संकेत देखिएन । नेपाल राष्ट्र बैंकको निर्देशनपछि फागुन महिनामा बैंकहरुले यसअघि ३ महिनमासम्म स्थिर राखेको ब्याजदर वृद्धि गरेका थिए ।
माघसम्म मुद्धति निक्षेपमा अधिकतम १०.०५ (रेमिट्यान्समा ११.०५) प्रतिशत बयाजदर दिँदै आएका बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर बढाएर मुद्धति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत (रेमिट्यान्समा १२.०३) पुर्याएका थिए । तर, उक्त ब्याजदर वृद्धिले पनि बैंकहरुमा निक्षेपमा सुधार नदेखिको तथ्यौक आएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले उपलब्ध गराएको फागुन महिनाको दोस्रो साताको तथ्यांकमा निक्षेपमा सुधार नदेखिए पनि कर्जा लगानीमा भने सुस्त वृद्धि देखिएको छ ।
माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो शुक्रबार १३ गते आउँदा २ अर्बले मात्रै बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ । यही दुई सातामा कर्जा लगानी भने १० अर्बले विस्तार भएको छ । माघ मसान्तमा ४१ खर्ब ५५ अर्ब रहेको कर्जा फागुन ६ गते ४१ खर्ब ५९अर्ब र फागुन १३ गते आउँदा ४१ खर्ब ६५ अर्ब पुगेको छ ।
चालु आर्थिक वर्षको साढे ७ महिनाको तथ्यांक हेर्ने हो भने वाणिज्य बैंकहरुले साढे ४ खर्ब कर्जा विस्तार गर्दा निक्षेप भने १ खर्ब मात्रै बढेको छ । २०७८ असार मसान्तमा ४२ खर्ब १ अर्ब रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप २०७८ फागुन १३ गते आउँदा बढेर ४३ खर्ब १३ अर्ब पुगेको हो ।
२०७८ असार मसान्तमा ३७ खर्ब २१ अर्ब रहेको वाणिज्य बैंकहरुको कर्जा लगानी २०७८ फागुन १३ गते ४ खर्ब ४४ अर्बले विस्तार भएर ४१ खर्ब ६५ अर्ब पुगेको छ ।
लगातार निक्षेपभन्दा कर्जा वृद्धि उच्च रहँदा बैंकिङ प्रणालीको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि नै रहेको छ । गत शुक्रबारको बैंकिङ प्रणालीको औसत सीडी रेसियो ९०.३२ प्रतिशत रहेको छ । यस्तै ७ प्रतिशत माथिल्लो सीमा रहेको अन्तर बैंक ब्याजदर ६.९९ प्रतिशत रहेको छ ।
फागुन १५ गतेको बैंकहरुले राष्ट्र बैंकसँग लिएको स्थायी तरलता सुविधा १ खर्ब ३४ अर्ब भन्दामाथि रहेको छ भने रिपो २० अर्बगरी राष्ट्र बैंकले १ खर्ब ५४ अर्बभन्दा बढी तरलता बजारमा पम्प गरेको छ ।
बैंकहरुले राष्ट्र बैंकबाट लिएको पुनर्कर्जालाई पनि निक्षेपमा गणना गर्न सक्नेछन् । चालु आर्थिक वर्षमा मात्रै राष्ट्र बैंकले १ खर्ब ६ अर्ब पुनर्कर्जा पठाएको छ । गत आवको पुनर्कर्जासमेत गणना गर्ने हो भने १ खर्ब ५५ अर्बभन्दा धेरै पुर्नकर्जा प्रणालीमा रहेको छ । यसले तरलता अवस्थामा कुनै पनि सकारात्मक संकेत नदेखिएको प्रस्ट हुन्छ ।