काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको करिअरको ग्राफ ‘बुलबुल’की टेम्पो चालक महिलाको भूमिकाले उठाएको भन्दा फरक पर्दैन ।
उनी आफैं पनि यो स्वीकार गर्दछिन्, “हो बुलबुल पछि मलाई अनि मेरो अभिनय क्षमतालाई अझ सिरियस रुपमा लिन थालिएको हो । त्यसपछि स्वस्तिमाले फरक–फरक पात्र पनि निभाउन सक्छिन् भन्ने पुष्टि भएको हो ।”
बब्ली कलेज गोइंग स्टुडेन्ट, क्युट किशोरीदेखि प्यारी प्रेमिका, एक सामान्य टेम्पो चालक महिलाजस्ता भूमिका निभाइसकेकी स्वस्तिमालाई अझै फरक अनि नयाँ पात्र निभाउने इच्छा थियो । जसअनुरुप उनको बकेट लिस्टमा सुदूरपश्चिमकी एक सामान्य महिला पात्र निभाउने थियो । “मलाई सुदूरपश्चिमको क्यारेक्टर निभाउन मन थियो जुन चिसो मान्छेमा मैले त्यो मौका पाएँ ।”
चलचित्रको फर्स्ट लुक पोस्टरमा स्वस्तिमाको लुकले निकै चर्चा पायो । नाकमा बुलाकी, कानमा ढुंग्री, निधारमा रातो टीका, गलामा पोते अनि तुना नबाँधिएको चोली लगाएर ब्याग भिरेकी मेकअप बिनाको निन्याउरो मुहारमा उनलाई उभ्याइएको छ । पोस्टरमा स्वस्तिमाको लुक हेर्दा उनी त्यही क्षेत्रकी टिपिकल महिला जस्तै देखिरहेकी छन् ।
काठमाडौंमा हुर्किएकी उनलाई पश्चिमेली लवज टिप्न कतिको गाह्रो भयो ? “मलाई एकदम धेरै काम गर्न मन लागिरहेको भएर मैले सब्कनसियस्ली त्यो पिक गरिसकेको थिएँ । आजकल इन्टरनेटले गर्दा हामीलाई त्यहीँ नपुगेरै त्यहाँको हरेक जानकारी लिन सजिलो भएको छ ।”
आफ्नो बकेट लिस्टमा भएकै कारण स्वस्तिमाले चलचित्र खेल्ने तय भैनक्दा नै यसबारे सेल्फ स्टडी गरिरहेकी थिइन् । यसमा उनले बाजुराकी एक सामान्य महिलाको भूमिका निभाएकी छिन् । “मेरो जुम्लाको एकजना साथी छ । जुम्ला र बाजुराको भाषा, बोल्ने तरिका बडी ल्यांग्वेज लगभग ८० प्रतिशत जति मिल्छ । झट् हेर्दा पनि त्यहाँका महिलाहरु त्यस्तैत्यस्तै देखिनु हुन्छ,” स्वस्तिमा प्रस्ट्याउँछिन्, “ठ्याक्कै त मिल्दैन किनभने सुदूरपश्चिममा पनि डोटी, अछाम, बाजुरा, बझाङ, जुम्लाको सबैको आ–आफ्नो भाषा हुन्छ । तर, हामी त्यहाँभन्दा फरक ठाँउकालाई भने त्यस्तै लाग्न सक्छ ।”
स्वस्तिमाको मिल्ने साथी पनि जुम्लाकै र त्यसमाथि निश्चलको मामाघर पनि जुम्ला यसले पनि स्वस्तिमालाई यो पात्रमा ‘होमवर्क’ गर्न सहज भयो । यसकै सिलसिलामा स्वस्तिमा दुईपटक जुम्ला पुगिसकेकी थिइन् । आफ्नो व्यक्तिगत कामकै सिलसिलामा गएको भए पनि उनले त्यहाँको वातावरण, रहनसहन र पात्रलाई नजिकबाट नियालिरहेकी थिइन् । एकहप्ताको कार्यशाला अनि एकहप्ता पुनः बाजुरा पुगेर गरेको अध्ययनले उनलाई ‘चिसो मान्छे’ को पात्र निभाउन त्यति धेरै गाह्रो नभएको बताउँछिन् ।