काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्नका लागि ओमान गएका बलिङ अलराउन्डर करण केसी नेपाल फर्कने भएका छन् ।
करणले चोटका कारण ग्लोबल क्वालिफायर गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले जानकारी दिए । उनले करणको स्थान गुल्शन झाले लिने बताए ।
“ब्याक इन्ज्युरीका कारण रुलआउट भएका छन् । उनको स्थान गुल्शन झाले लिनेछन्,” मल्लले भने, “ग्लोबल क्वालिफायरका लागि चाँडै १४ जनाको नाम हामी सार्वजनिक गर्छौँ ।”
करण र ओपनर कुशल भुर्तेल सोमबार सम्पन्न आयरल्यान्डविरुद्धको खेलसम्ममा ठिक हुने भनिएको थियो । आयरल्यान्डविरुद्ध कुशल उपलब्ध भएका थिए । करणले खेलेनन् ।
नेपालले यही फागुन ६ गते ओमानविरुद्धको खेलबाट ग्लोबल क्वालिफायर क्रिकेट प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालको सम्मिलित समूहमा ओमान, फिलिपिन्स र क्यानडा छन् । अर्को समूहमा आयरल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई), जर्मनी र बहराइन छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल्ने दुई टोली अष्ट्रेलियामा आउँदो अक्टोबरदेखि हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।
ग्लोबल क्वालिफायरका लागि नेपालको खेल तालिका
फागुन ६ – नेपालविरुद्ध ओमान
फागुन ७ – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९– नेपालविरुद्ध क्यानडा