काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुच्चे नक्सामा समेटिएको भूमि फिर्ता लिन सरकारले नचाहेको आरोप लगाएका छन् । उनले लिम्पियाधुरा, लिपुलेकलगायत भारतले मिचेको भूमि फिर्ता ल्याउन सरकारले पहल नगरेको उल्लेख गरे ।
शुक्रबार स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीनतर्फको सीमा विवादलाई संकेत गर्दै तथाकथित सीमा विवादमा सरकार अल्झिएर बसेको टिप्पणी गरे ।
“सरकारले मिचिएको भूमि फिर्ता ल्याउन पहल गरेन । तथाकथित सीमा विवाद निकाल्ने, मिचिको भूमि फिर्ता नल्याउने बाटोमा लाग्यो,” उनले भने, “यो सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विगार्दै लगेको छ । परराष्ट्र नीति खल्बलिएको छ । शक्ति राष्ट्रहरुले खेल मैदान बनाएका छन् । छिमेकी हरुसँग सम्बन्ध विगारेको छ ।”