काठमाडौं । पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार काठमाडौं फर्किएको छ ।
भारतबाट अमित अग्रवालले बाह्रखरीसँग बुधबार दिउसो कुरा गर्दै बिहीबार बिहानसम्म काठमाडौं आइपुग्ने बताएका थिए ।
उनी परिवारसहित काठमाडौंमा आएर भेटघाट थालिसकेको बताएका छन् ।
प्रहरी, प्रशासन र बैंकसँगको छलफलपछि पत्रकार सम्मेलन गर्ने तयारीमा अग्रवाल परिवार रहेको छ । नौजनाको परिवारसहित सम्पर्कविहीन भएको अग्रवाल परिवारको खोजीमा प्रहरी निरन्तर लागेको थियो ।
अमितले सोमबार काठमाडौंमा रहेकी आफ्नी बहिनीलाई फोन सम्पर्क गरेर आउन लागेको जानकारी गराएपछि प्रहरीमा दर्ता गरेको निवेदन पनि बहिनीले फिर्ता लिएकी थिइन् ।
महँगो विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएदेखि नै मिटर ब्याजीको टर्चर र बैंकको ऋणले समस्यामा परेर भागेको चर्चा भएको थियो ।
ठूलो ऋणमा फसेपछि अग्रवाल परिवारले घरमा एक पत्र छाडेर काठमाडौं छाडेको थियो । पत्रमा पनि उनीहरुले बाचिन्छ कि बाचिदैन भन्ने आसय व्यक्त गरेका थिए ।
“हामीहरु भागेका होइनौँ,” अमितले बाह्रखरीसँग कुरा गर्दै भने, “मिडियाले पनि हाम्रा बारेमा अलि धेरै नकारात्मक कुराहरु लेखिदिए ।”
उनले आफ्नो परिवार भारत पुगेदेखि नै कोभिड भएकाले समस्या परेर सम्पर्कमा आउन नसकेको बताएका थिए ।
अग्रवाल परिवारका सदस्य ओम अग्रवाल, उषा अग्रवाल, अमित अग्रवाल, रुचिका अग्रवाल, अभिषेक अग्रवाल, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल पुस २२ देखि नै सम्पर्कमा थिएनन् ।
यस्तो थियो बाह्रखरीसँग अमित अग्रवालले बुधबार गरेको कुराकानीको सम्पादित अंश :
हाम्रो बारेमा ‘नेगेटिभ’ न्युजहरु धेरै आए । म भारतबाट भोलिसम्ममा नेपाल आइपुग्ने तयारी गरेको छु । यहाँबाट फर्केर काठमाडौंमा एउटा पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेका छौँ । त्यसका लागि प्रेस विज्ञप्ति पनि तयार गरिसकेको छु । नेपाल आएर व्यापार व्यावसाय सुरु गर्छौँ । बैंकसहित सबैसँग लिएको पैसा तिर्छौँ । पसलमा यतिबेला ताल्चा लागेको छ । बैंकसँग पनि कुरा हुँदैछ । बैंकले पनि व्यापार गर्ने वातावरण सिर्जना गर्छौँ भनेर भनिरहेका छन् । सकारात्मक माहोल बनेपछि पैसा तिरिहाल्छौं । व्यापार अब हाम्रो पहिलेजस्तै नियमित हुन्छ । नतिर्ने भन्ने त कुरै हुँदैन ।
हामीले नेपाल छाड्ने पहिलो कारण भनेको बैंकले एकदमै मानसिक दबाब दियो । बुधबारको दिन मेरो पसलमा, गोदाममा अफिसमा ताल्चा लाग्यो । ताल्चा लगाइसकेपछि मैले पहिला ऋण लिएका साथीहरुले पनि धेरै अपशब्द प्रयोग गरेर अप्ठेरो पार्न थाले ।
त्यसपछि ७८ वर्षको बुबा साह्रै ‘डिप्रेसन’मा आइसक्नुभएको थियो । बुबाले अब म आत्महत्या गर्छु यस्तो ‘टर्चर’ सहेर बस्न सक्दिन भन्नुभयो । त्यसले हामीलाई निकै नराम्रो लाग्यो ।
डिप्रेसनमा आइसकेपछि दुई चार दिन बुबालाई कतै लगेर घुमाएर ल्याउँ भन्ने लाग्यो । चेकअप गरौं भनेर हामीहरु भारत आयौं । त्यसपछि कोभिड भयो । म र बुबा चारदिनपछि बिरामी प¥यौँ । म १० दिनजति अस्पतालमा बसेँ । त्यसपछि मैले समवन्य गरेर फर्किने वातावरण बनाइसकेको छु ।
मैले तिर्नमात्रै होइन लिन पनि बाँकी छ । कति क्यासिनो, ठूला होटल, रेष्टुराँसँग मैले पनि करोडौँरुपैयाँ लिन बाँकी नै छ ।
कैयौँ क्यासिनो र होटललाई हामीलाई तिर्न बाँकी रहेको पैसा तत्कालै तिरिदिए भने हामीलाई पनि सहज हुन्छ ।
मिटरब्याज भनेर धेरैजनाले हो–हल्ला पनि गरेका छन् । मलाई धेरैजनाले मोहरा बनाइरहेका छन् । व्यापार गरिसकेपछि लेनदेन हुन्छ । यो झुटो बोल्ने कुरा पनि होइन । तर मेरो भनाई के छ भने कसैलाई बिगार्ने मनसाय होइन । नेपाल आएर व्यापार सुरु गरेर जोसँग लिनुदिनु छ त्यो मिलाउँछु । मलाई सकारात्मक वातावरण सिर्जना गरिदनप¥यो । हामी सबै परिवार फर्किदैछौँ । नेपाल आएपछि हामीले तिर्न बाँकी रहेका सबैको रकम प्रक्रिया पूरा गरेर तिर्दै जानेछौँ । कसैलाई पनि मर्का पर्न दिनेछैनौँ । यसमा सबैले सकारात्मक सहयोग गर्नुहुनेछ लागेको छ ।