काठमाडौं । कवि तथा नियात्राकार भीष्म उप्रेतीको नियात्राकृति ‘हिमाल, शेर्पा र यती’ लाई ‘पवन आलोक नियात्रा पुरस्कार—२०७७’ प्रदान गरिएको छ । पुरस्कारकासाथ २५ हजार नगद राशिसमेत प्रदान गरियो ।
नियात्रा समाजद्वारा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कृत कृतिकार भीष्म उप्रेतीलाई साहित्यकार श्रीओम श्रेष्ठ रोदनले समाजका अध्यक्ष प्रतीक ढकाल र पुरस्कार कोष संस्थापक रेखा कँडेलको उपस्थितिमा पुरस्कार प्रदान गरे ।
केही दिन अघि निर्णायक समूहको छनोटमा परेका पाँच कृतिहरूमध्ये भीष्मको ‘हिमाल, शेर्पा र यती’ लाई पवन आलोक नियात्रा पुरस्कार प्रदानका लागि सिफारिस गरेको थियो । उक्त पुरस्कारका लागि ‘हिमाल, शेर्पा र यती’सँगै अन्य चार कृति ‘देश देशावर’, ‘कालापानी यात्रा’, ‘यायावर पाइला’ र ‘हिमाल हेर्ने पाइलाहरू’ छनोटमा परेका थिए ।