काठमाडौं । झन्डै एक महिनाको रस्साकस्सीपछि अफ्रिकन कप अफ नेसन्समा दुई टोली बाँकी छन्, इजिप्ट र सेनेगल । इजिप्ट र सेनेगलले आज राति उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
इजिप्ट र सेनेगल उपाधिका लागि प्रतिस्पर्धा गर्दा लिभरपुलका दुई स्टार फरवार्ड मोहम्मद सालाह र सडियो माने आमनेसामने हुनेछन् ।
सालाहको इजिप्ट उपाधि जितेर कीर्तिमान बढाउने लक्ष्यमा हुनेछ भने मानेको सेनेगल पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि इजिप्टले सातपटक उपाधिमाथि कब्जा जमाइसकेको छ । सेनेगल भने यसअघि दुईपटक फाइनलमात्र फाइनलसम्मको यात्रा तय गर्न सफल भएको छ ।
२००२ र २०१९ मा खेलेको दुवै फाइनलमा सेनेगल पराजित भएको थियो । प्रतियोगितामा सबभन्दा धेरै उपाधि जिते पनि २०१० पछि इजिप्ट उपाधिविहीन छ ।
सालाह र माने दुवैले इङ्ल्यान्डको उच्च श्रेणीको लिगमा सयभन्दा धेरै गोल गरिसकेका छन् । लिभरपुलले २०१८/१९ को सिजन च्याम्पियन्स लिगको उपाधि जित्दा माने र सालाह दुवैले महत्वपूर्ण भूमिका खेलेका थिए । लगत्तै अर्को सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि उचाल्यो, ३० वर्षपछि । त्यसमा पनि माने र सालाहको भूमिका महत्वपूर्ण रह्यो ।
पछिल्लो दुई खेलमा इजिप्टले सेनेगललाई हराउन सकेको छैन । सेनेगलको फाइनल यात्रामा मानेले तीन गोल गरेका छन् भने अर्को दुई गोलमा अवसर सिर्जना गरिदिएका छन् । इजिप्टको फाइनलमा यात्रामा सालाहले दुई गोल गरेका छन् भने अर्को एक गोलमा अवसर सिर्जना गरिदिएका छन् ।
‘‘लिभरपुलका साथी माने र एक टिमका रूपमा सेनेगलविरुद्ध खेल्न पाउनु खुसीको कुरा हो,’’ इजिप्टका सालाहले भने, ‘‘हामी मैदानभित्र प्रतिद्वन्द्वी हौँ । र, खेल सकिएपछि फेरि हामी टिमका सहयात्री हौँ ।’’
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले माने र सालाह फाइनलमा पुग्नु ठुलो उपलब्धि भएको बताएका छन् । जर्मन प्रशिक्षक क्लोपले भनेका छन्, ‘‘खेलपछि एक जना धेरै खुसी हुनेछ र अर्को केही कम खुसी हुनेछ । उनीहरू सुपरस्टार हुन् । उनीहरूको काँधमा ठूलो जिम्मेवारी पनि छ । दुवैलाई ठूलो उपलब्धि हासिल गर्ने राम्रो अवसर छ ।’’
२०१९ को फाइनलमा अल्जेरियासँग पराजित हुँदा माने पनि सेनेगलको टिममा थिए । माने भन्छन्, ‘‘यो टिममा धेरै लिडरहरू छन् । त्यतिनै धेरै अनुभवी खेलाडी पनि छन् । हाम्रो सफलतामा सबैले उत्तिकै योगदान गरेका छन् ।’’
सेनेगल पछिल्लो १६ खेलमा पराजित भएको छैन । इजिप्ट पछिल्लो पाँच खेलमा अपराजित छ ।
सेनेगलकै पूर्व मिडफिल्डर एलिउ सिसेले पछिल्लो तीन वर्ष आफ्नो टोलीलाई अफ्रिका फिफा वरीयातामा शीर्ष स्थानमा राख्न सफल भएका छन् । त्यो सफलतालाई अब पालो उपाधिमा बदल्ने समय आएको छ । सेनेगलले दुईपटक फाइनलमा हार्दा सिसे प्रत्यक्ष रूपमा संलग्न छन् । २००२ मा क्यामरुनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा सिसे खेलाडी थिए । उनी पेनाल्टीमा गोल गर्न चुकेका थिए । तीन वर्षअघि इजिप्टमा पराजित हुँदा सिसे प्रशिक्षकको भूमिकामा थिए ।
२०१५ बाट सेनेगलको जिम्मेवारी सम्हालेका ४५ वर्षे सिसेले आफ्नो टोली मानसिक र शारीरिक रूपमा उपाधि जित्नका लागि तयार रहेको बताएका छन् ।
‘‘हामी उपाधिको नजिक छौँ र एक लडाइँ बाँकी छ,’’ सेनेगलका प्रशिक्षक सिसेले भन, ‘‘यो पुस्ताले उपाधि जित्यो भने मात्र हाम्रो मिहिनेतको फल मिल्नेछ । हामी यो उपाधिलाई सन् १९६० देखि पछ्याइरहेका छौँ । धेरै राम्रो पुस्ताले पनि सफलता हासिल गर्न सकेनन् । तर हामी विश्वस्त छौँ । उपाधिका लागि लड्नेछौँ ।’’
इजिप्टका प्रशिक्षक कार्लोस क्विरेजसँग लामो अनुभव छ । उनले रियाल मड्रिड, पोर्चुगल र इरानमा काम गरिसकेका छन् । त्यस्तै उनले म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनको सहायक भएर पनि पाँच वर्ष काम गरिसकेका छन् । तर ६८ वर्षे क्विरेज फाइनल खेलमा इजिप्टको टच लाइनमा हुनेछैनन् । क्यामरुनविरुद्धको खेलमा उनले रातो कार्डको सामना गरेका थिए ।
क्विरेजसँगै उनका सहायक वाइल गोमा पनि निलम्बनमा छन् । गोलकिपर मोहम्मद इल शेनवे, रक्षक अहमेद हेगाजी र ओमार कमलले फाइनल खेल गुमाउनेछन् ।