विराटनगर । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जीटीए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो ।
टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो ।
जीटीएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापामगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे ।
यसअघि खेलको १७औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्समा अनमार्क रहेका बस्नेतले खमिरगिल्सन कन्दङवाको क्रस पासलाई सदुपयोग गर्दै गोल गरे ।
खेलको २०औँ मिनेटमा डिफेन्डर निवास रानाको ह्यान्ड बल भएको थियो । त्यसपछि जागृतिका मिलन राईले गरेको पेनाल्टी प्रहार जीटीएका गोलकिपरले बचाउ गर्दा अग्रता दोब्बर गर्ने अवसर गुमेको थियो ।
खेलको २२औँ मिनेटमा जीटीएले खेल बराबरी गर्यो । देवाशिष राईले मैदानको मध्यभागबाट दुईजना डिफेन्डरलाई बिट गर्दै विपक्षी गोलपोस्टमा प्रहार गरेका थिए । गोलकिपरबाट रिबाउन्स भएको बललाई उनले गोलमा परिणत गरे ।
३६औँ मिनेटमा जीटीएका कप्तान आशिष देवानको कर्नर प्रहारमा ज्योति क्षेत्रीले गरेको हेडर गोलकिपर निरज चौधरीले गोललाइनबाट बचाए । पाँचौँ मिनेटमा जागृतिका मिलन राईले डिबक्समा वान भर्सेस वान पाएको अवसर गुमाए । उनको पावरफुल सट गोलकिपरले उत्कृष्ट बचाउ गरे । १३औँ मिनेटमा निशान लिम्बूले डिबक्समा पाएको अवसर सदुपयोग गर्न सकेनन् ।
खेलको ६८औँ मिनेटमा जागृति १० खेलाडीमा सीमित भयो । जागृतिका स्ट्राइकर मिलन राई विपक्षी गोलकिपर निगम सिंहलाई फाउल गरेपछि रेडकार्ड पाएर मैदानबाट बाहिरिए । १० खेलाडीमा सीमित भएको जागृति त्यसपछि दबाबमा परेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता जागृतिका गोलकिपर चौधरी भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । बुधबारको तेस्रो क्वार्टर फाइनल खेल चर्च ब्वाइज युनाइटेट र गोर्खा ब्वाइज स्पोर्टस क्लब रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख पुरस्कार पाउने आयोजक झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद एक लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टीभी प्रदान गर्दै आएको छ ।