शुक्रबार, माघ १४, २०७८ । समय : दिनको २ बजे । स्थान : शिक्षा पत्रकार समूहको कार्यालय, अनामनगर ।
प्रसंगको पृष्ठभूमि यसरी बन्छ । बरफ भएर जमेको वर्तमानको शिक्षा क्षेत्रलाई ‘बहसमा शिक्षा’ विषयक टेलिभिजन कार्यक्रमको हतौडामार्फत ठोकठाक गर्ने कार्यमा संलग्न सुदर्शन सिग्देललाई भेट्न अनामनगर पुगेको थिएँ । समूहले टेलिभिजन कार्यक्रमलगायत अन्य धेरै अभियानलाई अघि बढाएको छ । सिग्देल त्यसैका एक कर्मठ पात्र हुन् ।
अनामनगरका केही प्रख्यात सीमास्तम्भमध्ये एक हो, सेकुवाको सेवन नगर्ने शाकाहारीलगायत जोकोहीले पनि जानेको ‘बाजेको सेकुवा’ । हनुमानस्थानबाट उत्तर जाँदा बाजेको सेकुवाबाट धोबीखोलातिर जाँदा अक्सिडेन्टल पब्लिक स्कुलको छेउमा छ, शिक्षा पत्रकार समूहको कार्यालय ।
उक्त कार्यालय उत्तर–दक्षिण फैलिएको सडकको पश्चिम किनारामा एकापसमा जोडिएका बहुतले भवनहरूमध्ये एकको पहिलो तलामा अवस्थित रहेछ । केही दिनदेखि राम्रोसँग घाम लाग्न नसकेको वातावरणले मलाई तनाव पस्किरहेको थियो ।
पत्रकारहरूको त्यो कार्यालयमा पुगेपछि त्यहाँको पानी जम्ने चिसोले ‘करेलालाई निमको थाँक्रो’ भन्ने उखान चरितार्थ गराइदियो ।
मैले सिग्देललाई कार्यालयमा देखिनँ । हामीले भेट्न तय गरेको समयसीमा नाघिसकेको थियो । मैले उनलाई मोबाइलमा सम्पर्क गरेँ ।
“तपाईंको अति नै चिसो कार्यालयमा आईपुगेँ । तपाईं कता हो त ?”
“सर, म अर्को जरुरी कामले बबरमहल आएको छु । सर बस्दै गर्नुहोला, म आइहालेँ ।”
हाम्रो छलफल ‘विद्यालयको कम्प्युटर शिक्षण सिकाइ’ विषयमा हुनेवाला थियो । मैले कुरा गर्दागर्दै भनेँ, “यो चिसो छिँडीजस्तो ठाउँमा छलफल गर्नुको कुनै तुक छैन । बाहिर घाम लागिरहेको छ । कुनै घाम लाग्ने स्थानमा गए त भैगो !”
“होइन, त्यसो नगरौँ । म तपाईंलाई लिन आउँछु । हामी कुनै तातो ठाउँमा जाऔँ ।”
मेरो प्रस्ताव उनले माने ।
म त्यो चिसो कार्यालयबाट बाहिर निस्किएँ र बाजेको सेकुवातिर लागेँ । मेरो काम अब ट्याक्सी खोज्ने थियो । आँखा सडकका सवारीसाधनमा भए पनि मन भने कार्यालयको चिसोतातोमा नै रुमल्लिएको थियो ।
जापानको इन्स्टिच्युट अफ ग्लोबल इन्भाइरोन्मेटल स्ट्राटेजिज अर्थात् आईजीईएसलाई सम्झिएँ । सम्भवतः अहिलेसम्म मैले काम गर्ने अवसर पाएका कार्यालयहरूमा सबैभन्दा उत्कृष्ट त्यही होला । चिसोतातोको त के कुरा, त्यस भवनले कुन मौसममा कति कार्बन उत्सर्जन गर्छ भन्ने कुराको समेत जानकारी सर्वसाधारणका लागि उपलब्ध थियो ।
उता, काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पस, धुलिखेलमा भने गर्मी मौसमका लागि अतिउपयुक्त र जाडोमा भने ‘बरफ’ जम्ने कार्यकक्ष र कक्षाकोठाहरू थिए । टिनको छानो भएको कक्षामा खुला झ्याल राखेर पुस÷माघतिर पढाउनु भनेको सकसपूर्ण काम थियो ।
अलि अघिल्तिर चोकमा एउटा ट्याक्सी देखियो । म नजिकै पुगेँ । तर, चालक थिएनन् । ट्याक्सी पार्क गरेनजिकै ठेलागाडामा सामान राखेर बेच्ने एक व्यापारी देखिए । उनले मैले ट्याक्सी खोजेको आशय बुझे । म जताबाट आएँ, त्यतैतिर हातले संकेत गरे ।
मैले पछाडि फर्केर हेरेँ । एक पाका सवारीचालक देखिए । उनी हातमा चाबी बोकेर मतिरै आए । हाम्रो कुरो मिल्यो । दामको कुरा दुवैले गरेनौँ । सायद उनले र मैले एकार्कामा एउटै मनोभाव पढ्यौँ ।
“भाडाको मोलमोलाइ त्यसले गर्छ, जोसँग सहमतिमा आउने आँट र अनुभव हुँदैन ।”
उनी सर्लाहीका बासिन्दा रहेछन् । भूगोलको सोधीखोजीपछि म ‘कथा संसार’को पोको खोल्न लागेँ ।
“आज ठेलागाडाका ती व्यापारीले तपाईंलाई गुन लगाए । मान्छेले गुन लगाउन जान्यो भने त्यसले कहिलेकाहीँ ठूलो काम गर्छ ।”
उनी सहमत भए । मेरो कुरामा चाख दिए ।
मैले एउटा रोचक प्रसंग सम्झिएँ, कोइलाखानीमा थुनिएको एक मजदुरको ।
मैले उनलाई सुनाएँ—
“खानीमा सुरुङ भएर जानुपर्दो रहेछ । सुरुङको गेट बिहान ९ बजे खुल्दो रहेछ र बेलुका ५ बजेपछि बन्द हुँदो रहेछ । सयौँ मजदुर बिहान एकैपटक भित्र पस्दा रहेछन् र बेलुका सुरुङबाट निस्किँदा रहेछन् । गेटमा प्रायजसो एउटै गेटपाले बस्दो रहेछ । एक दिन एक मजदुर बेलुका भित्र थुनिएछन् । गेट बन्द भएपछि सुरुङको तापमान स्वाट्टै घटेर माइनस हुँदो रहेछ । थुनिएका मजदुरअघि काल मडारिन थालेछ । तर, भाग्यवश आधा मिनेटजति पछि गेट खुलेछ । गेटपाले भित्र आएछन् । र, ती मजदुरको ज्यान जोगिएछ ।”
मैले कथामा रङ भर्न चालक महोदयलाई सोधेँ—
“तपाईं भन्नुस् त, ती गेटपालेले कसरी थाहा पाए होलान् भित्र कोही व्यक्ति थुनिएको कुरा !”
उनले भने—
“मैले कल्पना गर्न सकिनँ हजुर ।”
त्यस्तो उत्तर आउनु स्वभाविक थियो । यसैले मैले कथाको यसरी बिट मारेँ ।
“ती थुनिएका मजदुरको एउटा विशेषता रहेछ । उनी भित्र पस्दा र बाहिर निस्कँदा गेटपालेसँग आँखा जुधाएर मुस्कुराउँदा रहेछन् र अभिवादन गर्दा रहेछन् । यसैले गेटपालले उनलाई चिन्दा रहेछन् । थुनिएको दिन गेटपालेले मनैमन ‘आज केही फरक भएको छ, ती मुस्कुराउने मजदुर बिहान त भित्र पसेका थिए बाहिर निस्किएका छैनन्’ भन्ने तर्क गरेछन् । यसैले उनले गेट खोलेछन् ।”
सुदर्शन दाहालसँग मेरो आर्ट काउन्सिलमा भेट्ने कुरा थियो । यसैले ट्याक्सी त्यहीँ एक छिन रोकेपछि उनी आए । हामीले पुल्चोक, बखुन्डोलमा नयाँ खुलेको रेस्टुरेन्टलाई गन्तव्य बनायौँ ।
रेस्टुरेन्ट भएको पाँचतले भवन निर्माणको अन्तिम चरणमा छ । यसको छतमा भएको रेस्टुरेन्टमा घामको आनन्द लिन पाइने भएकोले पनि यो मेरो रोजाइमा परेको थियो ।
ट्याक्सीबाट ओर्लनुअघि मैले चालक महोदयलाई सोधेँ—
“कति पैसा दिऊँ त हजुरलाई ?”
“मलाई पैसाले त हुँदैन हजुर ! मलाई त पूरै ३०० रुपैयाँ चाहिन्छ ।”
“ल हुन्छ ।”
मैले उनलाई ३५० रुपैयाँ दिएँ । उनले आश्चर्यभावमा मतिर हेरे ।
“पचास बढी आयो त हजुर !”
“यो ५० को ती ठेलावालाको कुनै सामान किनिदिनुहोला ।”
उनले मेरो मनसाय बुझे । पक्कै पनि सुरुङमा थुनिएका मजदुरले हाँसेर गेटपालेलाई गुन लगाएको सम्झिए होलान् । उनले आदरभावमा भने—
“म यो ५० उसैलाई दिन्छु हजुर ।”
मेरो दिन बनेको थियो । मलाई लाग्यो– सम्भवतः इमानको यो सगरमाथा सबैले चढ्ने हो भने हामी अर्कै मुलुकका नागरिक हुने थियौँ । मेरो मन द्रवीभूत भयो । यो लेखिरहँदा मेरा आँखामा आँसु छन् । मन भारी भएको छ । ती सवारीचालक र ठेलावालालाई म जिन्दगीभर भुल्ने छैन ।
यो घटनाले मलाई १२ वर्षअघिको एक प्रसंग स्मरण गरायो । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यालय धोबीघाटमा थियो । म पुल्चोकको दमकल भएको स्थानभन्दा केही सय मिटर पश्चिममा अवस्थित एक स्टेसनरी पसलमा सामान किन्थेँ । साहुजी रमाइला थिए । म पुगेपछि भन्थे—
“सर आउनुभयो । अब केही नयाँ कुरा सुन्न पाइन्छ ।”
म पनि उनका कुरा सुनेर मक्ख पर्थेँ । एक दिन सामान किन्ने क्रममा एउटा अविस्मरणीय घटना सिर्जना भयो । एउटा ५ वर्षजतिको बालक आफ्नी बहिनीका साथ त्यही पसलमा सामान किन्न आयो । हुलियाले उनीहरू गरिब परिवारका सन्तान भन्ने जनाउँथ्यो । बालकको रोजाइमा परेको सामानको दाम १५ रुपैयाँ पर्ने रहेछ । तर, ऊसँग १० रुपैयाँ दाम मात्र रहेछ । साहुजी र बालकको कुराकानीले मेरो ध्यानाकर्षण गर्यो ।
“साहुजी, यो ५ रुपैयाँ म दिन्छु । उसले रोजेकै सामान दिनुहोस् ।”
साहुजीले नमान्ने कुरै भएन । बालक खुसी भएर गयो । मेरो र साहुजीको कुरा अन्यत्रै मोडियो । मैले उनको ५ रुपैयाँ दिन बिर्सिएछु । भोलिपल्ट त्यही बाटो भएर म गएँ । साहुजी प्रफुल्ल मुद्रामा भेटिए ।
“के सेवा गरौँ त हजुर ?”
“तपाईंले सेवा दिने होइन । मैले पो हिजो त्यो बाबुलाई सामान किनिदिएको रुपैयाँ तपाईंलाई दिन बिर्सिएछु । यसैले आएको ।”
साहुजीले मतिर एक छिनसम्म एकटक लगाएर हेरे । उनले त्यो ५ रुपैयाँ लिन मानेनन् । त्यसपछि जहिले पनि मैले सामान किन्दा उनी आफैँ भन्थे–
“यसको बजार मूल्यमा हजुरलाई यति छुट हुन्छ ।”
मैले ५ रुपैयाँभित्र लुकेको इमानको शक्ति देखेँ । त्यसले त्यस्ता सयौँ ५ रुपैयाँहरू आफसे आफ मेरो कित्तामा ल्यायो ।
इमानको यो अर्को दृष्टान्त पनि मानसपटलमा चट्टान भएर बसेको छ ।
सुदर्शनजीसँग विद्यालयको वर्तमान शिक्षण सिकाइको तौरतरिकालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । पुल्चोकको यो रेस्टुरेन्ट भर्खरै सञ्चालनमा आएको हुनाले ग्राहकहरूको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना कालखण्डमा केही कालो बादलका चाँदीका घेराहरू पनि देखिएका छन् । समग्र नेपालमा धेरैवटा स्तरीय होटेल र रेस्टुरेन्ट खुलेका छन् ।
म भने चौथोपटक त्यहाँ पुगेको थिएँ । यसैले त्यहाँका अधिकांश कर्मचारीहरूले मलाई चिनिसकेका थिए । हामीले बिल भुक्तानी गर्दा हामीलाई सेवा दिने भाइले भनेका थिए—
“सरलाई मैले छुटसहितको बिल ल्याएको छु ।”
मेरा लागि त्यो हर्षको विषय थियो । हामी मूल काउन्टर भएको तलामा ओर्लियौँ । त्यहाँ छोटो अलमल भयो । काउन्टरमा बस्ने अधिकृत कर्मचारी पनि परैबाट मलाई अभिवादन गर्दै आइन् ।
“लौ ! तपाईंहरूको छतमा लाग्ने पारिलो घाम र सुन्तलाको ताजा जुसले मोहनी लगायो । हामी फेरि आयौँ ।”
“धेरै–धेरै धन्यवाद सर । फेरि पनि सेवा गर्ने मौका दिनुहोला ।”
मलाई मैले प्रयोग गरेको ‘मोहनी’ शब्दले धुलिखेलको एउटा बेकरीको प्रसंग याद दिलायो ।
“मैले भने नि मोहनी लगायो भनेर । यो मोहनीको जादु त कमालको पो हुन्छ त !”
“सुनौँ न सर !”
हाम्रो कुराकानीले त्यहाँ भएका अधिकांशलाई तान्यो ।
मैले प्रसंग सुनाए–
“म तपाईंहरूले जस्तै बेकरीको मोहनी लागेर काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसनजिकको त्यो कारखानामा गएँ । बिक्रीकक्ष र कारखाना एकै स्थानमा थिए । एकपटक यसैगरी पेस भएँ । बिक्रीकक्षका अधिकारी मेरो माग पूरा गर्दै थिए । मोहनी शब्दले नजिकै बेकरी परिकार पोको पार्ने काममा खटिएका ४÷५ जना महिलाहरूको ध्यान खिचेछ । सबैले मलाई अनौठो मानेर हेरे !”
मैले उनीहरूतिर लक्षित गर्दै भनेँ—
“लौ भन्नु त, मोहनी लागेपछि के हुन्छ ?”
समूहकी एक युवतीले मेरो प्रश्नको प्रत्युत्पन्न जवाफ दिइन्—
“मोहनी लागेपछि के हुनु नि ! मान्छे पागल हुन्छ ।”
सबै खित्का छोडेर हाँसे । अधिकारीले पनि रमाइलै माने ।
“मान्छे पागल भएपछिचैँ के हुन्छ नि ?”
मैले फेरि उनको जवाफमा भर्याङ लगाएँ ।
“अर्को पागलसँग भेट हुन्छ ।”
अब भने छानो उडाउने हाँसो सिर्जना भयो । मेरो भन्डारणमा अर्को प्रश्न थिएन ।
यता वर्तमानमा पनि त्यति नै आयतन बराबरको हाँसो छताछुल्ल भयो । मैले रंगमञ्चको पर्दा लगाएँ । सुदर्शनजी र म लिफ्ट चढेर ओर्लियौँ ।
मैले उनलाई भनेँ—
“लौ हेर्नुहोस् ! तपाईंको चिसो कार्यालयको कमाल । हामी त्यहीँ बसेका भए यो रमाइलो कहाँ उम्रिन्थ्यो होला त ?”
हामी शुक्रबार अपराह्नलाई बिट मार्दै र फेरि रमाइलो उमार्ने वाचाका साथ छुट्टियौँ ।