वासिङटन । रुसले युक्रेनमाथिको आफ्नो आक्रमण जायज हो भनेर प्रमाणित गर्न युक्रेनबाट भएको नक्कली आक्रमण देखाउने योजना बुनिरहेको दाबी अमेरिकाले गरेको छ । मस्कोले रुसी भूभाग वा पूर्वी युक्रेनमा रुसी भाषा बोल्नेहरूमाथि युक्रेनले आक्रमण गरिरहेको ग्राफिक भिडियो निकाल्ने सम्भावना रहेको अमेरिकाले बताएको छ ।
तर रुसले आफ्नो त्यस्तो बनावटी आक्रमण चित्रित गर्ने योजना नरहेको र अमेरिकाले आफ्नो दाबी पुष्टि गर्ने प्रमाण नदिएको जनाएको छ ।
युक्रेनी सीमानामा एक लाख संख्याको हाराहारीमा रुसले अत्याधुनिक हातहतियारसहित आफ्नो फौज तैनाथ गरेकाले पश्चिम जगतले रुसले कुनै पनि समय युक्रेनमाथि आक्रमण गर्ने सक्ने अनुमान गरिरहेको छ ।
मस्कोले आफ्नो फौज त्यहाँ सैनिक अभ्यासका लागि राखिएको सफाइ दिँदै आएको छ । तर युक्रेन र पश्चिमा देशहरूले भने यसलाई रुसको हमलाकै तयारी ठानिरहेका छन् ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोह्न किर्वीले बिहीबार पत्रकारहरूलाई भनेका छन्, "रुसले त्यसरी झुठो आक्रमणको दाबी गर्ने योजना बनाइरहेको सूचना हामीलाई प्राप्त भएको छ । यस परिप्रेक्षमा रुसले ग्राफिक प्रपोगान्डा भिडियो बनाउने हामीलाई विश्वास छ । त्यस्ता भिडियोमा लाशहरू, शोकाकुल मानिसहरू र युद्धबाट ध्वस्त भएको भनिएका स्थानहरू देखाइनेछन् ।"
तर, वरिष्ठ अमेरिकी अधिकारीहरूले रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नका लागि बनाउन सक्ने तत्कालीन कारणहरूमध्ये एक कारण यस्तो भिडियो पनि हुनसक्ने बताएका छन् ।
साथै तिनीहरूले रुसले यस्तो भिडियो प्रपोगान्डा नगरून् भनेर अमेरिकाले पहिले नै तिनीहरूको सम्भावित योजना सार्वजनिक गरेको पनि बताएका छन् ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकाले रुसलाई यसरी उक्साएको यो पहिलो घटना नभएको बताएका छन् । नेटोको प्रतिरक्षा गठबन्धनलाई सहयोग गर्न अमेरिकाले पूर्वी युरोपमा थप फौज पठाउँदै गरेको बताएको भोलिपल्टै यस्तो भिडियो प्रपोगान्डा प्रसंग बाहिरिएको हो ।
बीबीसीबाट ।