काठमाडौं । गएको पुस २२ गतेदेखि काठमाडौंबाट सम्पर्कविहीन रहेको अग्रवाल परिवार मुग्लिनको बाटो हुँदै भारततर्फ गएको पाइएको छ । प्रहरी अनुसन्धानले उनीहरू मुग्लिनको बाटो हुँदै वीरगन्ज पुगेको देखिएको हो ।
एक प्रहरी अधिकारीका अनुसार प्राविधिक रूपमा उनीहरू वीरगन्जसम्म पुगेको देखिएको छ । त्यहाँबाट उनीहरू भारत गएको हुन सक्ने प्रहरी आशंका छ ।
नौजनाको परिवारसहित सम्पर्कविहीन भएको अग्रवाल परिवारका सदस्यमध्ये एकजनाको मोबाइल लोकेसन वीरगन्जमा देखिएको थियो । अग्रवाल परिवारका सबैको मोबाइल स्वीच अफ छ ।
महँगो विदेशी कम्पनीका मदिराको व्यवसाय गर्दै आएका अभिषेक र अमित अग्रवालको परिवार सम्पर्कविहीन भएको हो । तीन अर्ब रुपैयाँभन्दा बढी ऋणमा फसेपछि सो परिवार सम्पर्कविहीन भएको बताइँदै आएको छ ।
सम्पर्कविहीन हुनेमा ओम अग्रवाल, उषा अग्रवाल, अमित, रुचिका, अभिषेक अग्रवाल, आरती अग्रवाल, नन्दनी, पार्थ र कनव अग्रवाल छन् । घर छाड्नुअघि अग्रवाल परिवारले घरभित्र एक पत्र छाडेर गएको थियो ।
प्रहरीले पत्रलाई ‘क्लु’को रूपमा लिएको छ । पत्रमा ओमप्रकाश अग्रवाल, उनकी पत्नी उषा, छोराहरू अभिषेक र अमितको हस्ताक्षर छ ।
पत्रमा बैंकको ब्याज तिर्न र अरू व्यक्तिहरूलाई ब्याज तिर्न समस्या भएको, मिटर ब्याजीको फन्दामा परी आफ्नो सम्पत्ति सिद्ध्याइसकेको समेत उल्लेख छ ।
अग्रवाल परिवारले काठमाडौं छाड्दा आफ्नो गाडी प्रयोग नगरेको प्रहरी निष्कर्ष छ । एक उच्च प्रहरी अधिकारीले भने, “काठमाडौंबाट बाहिरिने नाकाबाट अग्रवालको गाडी बाहिरिएको छैन । काठमाडौंमै कतै गाडी लुकाइएको हुनसक्छ । उनीहरू अन्य गाडीको प्रयोग गरेर बाहिरिएका हुनसक्छन् ।”
विगत २५ वर्षदेखि व्यापार गर्दै आएको परिवार एकाएक सम्पर्कविहीन भएपछि प्रहरीले उनीहरू जान सक्ने सम्भावित स्थानहरूमा खोजी गरिरहेको छ ।