site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथासँगको समानुभूति  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

साहित्यिक कृतिको आश्वादन र अध्ययनबाट समाजमा जुन मानसिक प्रभाव पर्दछ, त्यही नै कृतिगत प्रभावको सामाजिकता हो । सामाजिक विषयवस्तु र सामाजिक पर्यावरणका चापबाट प्राप्त अनुभव प्रकट गरिएको साहित्यिक कृति प्रकाशित हुनासाथ सार्वजनिक वस्तु बन्दछ ।

१८ वटा कथाहरूले संरचित ‘अपरिचित अनुहार’ संग्रहभित्रका कथाले दिने प्रभावको पाटो भनेको देशको सामाजिक र सांस्कृतिक अनुहार हो, जुन अनुहार कतै नेपथ्यमा छ, कतै किनारामा छ, कतै पीडाभित्र छ त कतै कसैले कुल्चिएर घाइते बनाइदिएको छ ।

हुन त गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पारिजात, रमेश विकल, भवानी भिक्षु, गोविन्द गोठाले, मनु ब्राजाकी, इन्द्रबहादुर राईलगायत समकालीन नेपाली कथाकारका कथामा नेपाली समाज र संस्कृतिको अनुहार नआएको भने होइन । यही बाटोका यात्री हुन् महेश पौड्याल ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कथाकार पौड्यालले आफू बाँचेको सामाजिक धरातललाई प्रस्तुत गरेका छन् । एडगर एलेन पोले कथाका बारेमा भनेका छन्, ‘कथा छोटो हुनाले एकै बसाइमा पढेर सकिन्छ । पाठकमा एउटा प्रभाव जमाउनका निम्ति कथा लेखिन्छ र यो आफैँमा पूर्ण हुन्छ ।’

महेश पौड्यालका कथाहरू हेर्दा लाग्छ, एकै बसाइमा पढेर सकिने यी कथाहरूमा चलाखीपूर्वक योजनाको कलात्मक सामाजिक चित्र खिचिएको छ ।

Royal Enfield Island Ad

साहित्यमा समाज प्रतिबिम्ब हुन्छ र साहित्यका माध्यमबाट समाज बुझ्न सकिन्छ भन्ने बुझेका कथाकारले ‘अपरिचित अनुहार’भित्र समाजमा एक्लिएका, असहाय र फरक क्षमता भएका पात्रहरूको प्रतिनिधित्व गराएका छन् ।

समाजको यथार्थलाई प्रस्तुत गरिएका यस संग्रहभित्रका कथाहरूमा नेपाली ग्रामीण परिवेश र सहरी परिवेशमा घटित घटनाहरूको नालीबेलीलाई पात्रहरूको चरित्रका माध्यमबाट प्रस्तुत गरिएको छ ।

संग्रहको पहिलो कथा ‘बार्दलीको एउटा अनुहार’मा पोलियो रोग लागेर घुँडामुनिको भाग नचल्ने नारी पात्रलाई प्रस्तुत गरिएको छ । सधैँ बार्दलीमा बसिरहने अप्सराप्रति पुरुष पात्र मनेले देखाएको मानवीय प्रेमले  मान्छेभित्रको मानवतालाई प्रस्तुत गरेको छ ।

गाडीको सहचालकको अनुहार समाजका लागि अपरिचित बनिरहेको संस्कृतिलाई कथाकारले परिचित बनाउन चाहेका छन् । ‘हल्ला अर्को पनि चलेको छ— अप्सरा आमा हुँदै छे ।’ (बार्दलीको एउटा अनुहार, पृ.११)

‘मृगनयनी’ कथामा एउटी दृष्टिविहीन बच्चीको प्रसंगसँगै हरेक मान्छेको मनोविज्ञान जोडिएको छ । म पात्रले यात्रामा भेटेकी बच्ची मृगनयनीलाई सुरूमै उसको वास्तविक समस्या बुझ्न नसक्नु, गाडीमा मृगनयनीसँग कुरा गर्दा म पात्रलाई अनौठो लाग्नु, भरतपुरमा बच्ची ओर्लिनु अनि पछि प्राञ्जलको उपन्यासको प्रसंग आउनुले कथावस्तु रोचक तरिकाले अगाडि बढेको देखाउँछ ।

दृष्टिविहीन बच्चीसँग म पात्रको संवाद हेर्दा कथा पढ्ने पाठकले त्यो म पात्रका ठाउँमा आफूलाई पाउन सक्छ । तर, मृगनयनी दृष्टिविहीन हुन् भन्ने कुरा उनीसँगै बसेको म पात्रले चिन्न नसक्नुको रहस्यले पाठकका मनमा एउटा प्रश्न जन्माउन सक्छ, ‘मृगनयनीको हाउभाउलाई किन सजिलै बुझेन म पात्रले ?’

मान्छेहरू अचेल कसरी संवेदनाहीन भइरहेका छौँ भन्ने यथार्थलाई ‘उपहार’ कथामा देख्न सकिन्छ । बच्चाहरू स्वतन्त्र हुन्छन् र उनीहरूले गाउँसमाजलाई आत्मीयताको डोरीले बाँध्न सक्छन् भन्ने विषयलाई उपहार कथाले उठाएको छ ।

मान्छेको कथा कहाँ छ ? यो प्रश्न सबैको हो । वास्तवमा मान्छेको कथा भीडमा छ भन्ने विचार लेखकको हो । भीडलाई पर्गेल्न सकेमा जीवनको रहस्य बुझ्न सकिन्छ भन्ने विषयलाई ‘आवाजहरू’ कथाले उठाएको छ ।

अपरिचित मान्छेहरूकै कथालाई प्राथमिकता दिने लेखक पौड्यालले ‘बगर’ कथाभित्र अग्ले नामको पात्रका माध्यमबाट मानवीय संवेदनालाई देखाउन खोजेका छन् ।

मान्छे रूपले राम्रो कि मनले ? मान्छेले मान्छेभित्रको मान्छेलाई चिन्न नसक्दा कस्ता दुर्घटना हुन्छन् भन्ने मनोवैज्ञानिक प्रसंग बगर कथामा रहेको छ ।

साहित्य कल्पना र यथार्थको मिश्रण हो । हामीले भोगेका र देखेका कुरालाई कल्पनाशीलताले रङ पोत्छौँ र साहित्यको कुनै विधामा त्यसलाई पुर्याउँछौँ । कुनै कृति पढेपछि हामीले कुनै समय वा कुनै समाजलाई भेट्न सक्छौँ त्यसैले त साहित्यलाई समाज चिन्ने दरिलो माध्यमका रूपमा चिन्न सकिन्छ ।

यस संग्रहमा रहेका कथाहरूमा कतै बच्चाहरूको खेलका माध्यमबाट सत्ता र शक्तिप्रति लेखक प्रश्न गर्छन् भने कतै प्रगतिशील विचार र नेपाली सामाजिक परिवेशका मान्यताहरू कति मिल्दा छन् कति अमिल्दा छन् भनेर आलोचनात्मक दृष्टि राख्छन् ।

‘दुर्ग’, ‘मन्दिर’, ‘चौकीभित्र चौकीबाहिर’जस्ता कथाका माध्यमबाट लेखक वास्तविक मान्छेको परिचयलाई सामाजिक–सांस्कृतिक परिस्थितिसँग जोडिदिएर उत्तर खोज्ने जिम्मा पाठकलाई दिन्छन् ।

मान्छे अहम्ले ठूलो कि विवेकले ? गाउँ छोड्नु र सहरकेन्द्रित हुनु रहर कि बाध्यता ? सामाजिक मूल्य–मान्यता बचाउने कि बिर्सने ? यस्ता प्रश्नहरूको उत्तरलाई यो संग्रहभित्र रहेका कथाहरू ‘उपलब्धि’, ‘ओरालो’, ‘चौतारीको भेट’, ‘डबल पेन्सन’ले उठाएको महत्त्वपूर्ण विषय हो ।

कथामा आएको अर्को विषय भोक हो । भुटानबाट नेपाल पस्दा भोकले मरेकी एउटी सानी बालिका र सँगै रहेका आमा र छोराको कथाले आजको वास्तविक समस्यालाई उठाएको देखिन्छ ।

‘अपरिचित अनुहार’ शीर्ष कथा हो, जुन कथामा छोराको मृत्युले अभिघात भोगिरहेको एउटा बाबुको पीडालाई प्रस्तुत गरिएको छ । कथा पढ्दा अतियथार्थजस्तो लाग्छ, तर त्यो अतियथार्थसँगै हामी प्रत्येकले भोगेको पीडा त्यसमा देखिन्छ ।

‘बूढो रूख र जुरेली’ संग्रहको अन्तिम कथा हो । यस कथामा मानवेत्तर पात्रको प्रयोग गरेर लेखकले प्रकृतिको आवाजलाई उठाउन चाहेका छन् ।

महेश पौड्याल कथाको खाका राम्रो तयार पार्दछन् । पात्र, परिवेश, कथानक र संवादको परिकल्पना पनि राम्रो गर्दछन् । यसअर्थमा महेश कथाचेत राम्रो भएका कथाकार हुन् ।

तर, कथामा समसामयिक विषय अर्थात् मुद्दा र प्रयोगशील पक्षलाई भने लेखकले जोड दिएको देखिँदैन । समसामयिक विषयका कथा खोज्ने पाठकको रुचिलाई लेखकले सम्बोधन गर्नुपर्ला कि !

‘नर्सरी’ कथा पढिसकेका पाठकले यस संग्रहको शीर्ष कथा ‘अपरिचित अनुहार’मा फेरि सन्तान गुमाएको बाबुको अभिघात पढ्न पाएका छन् । यस कथाबाट पाठकलाई विषयको पुनरावृत्ति भएको अनुभव भने पक्कै हुन्छ । अर्को संग्रहमा कथाकारले अभिघातलाई फरक तरिकाले लेख्नुपर्ने देखिन्छ ।

संग्रहमा रहेका सबै कथाहरू नेपाली समाज र संस्कृतिकै विषयलाई आधार बनाएर लेखिएका छन् । सरल र सम्प्रेष्य भाषामा लेखिएको संग्रह पठनीय  छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro