मस्को । रसियाले युक्रेनमाथि हुनसक्ने सम्भावित आक्रमणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफ्ना रुसी समकक्षी सर्गेइ लाभ्रोभसँग वार्ता गर्ने भएका छन् । स्विजरल्यान्डको जेनेभामा शुक्रवार वार्ता हुनेछ ।
बिहीबार ब्लिन्केनले यदि रुसी फौजले युक्रेनको सीमा पार गरेको खण्डमा गम्भिर परिणामहरु भोग्नुपर्ने भन्दै मस्कोलाई चेतावनी दिएका थिए ।
युक्रनेको सीमा क्षेत्रमा एक लाखको संख्यामा फौज तैनाथ गरेको रसियाले भने आफ्नो आक्रमणको कुनै योजना नरहेको बताउँदै आएको छ । रुसी राष्ट्रपतिले युक्रेनलाई उत्तरी एटलान्टिक सन्धि संगठन (नेटो)को सदस्यता लिने अनुमति नदिन र नेटोलाई पूर्वी युरोपमा सैनिक गतिविधि त्याग्न गरेको अनुरोधबारे अझैसम्म पश्चिमा जगतले कुनै विश्वास दिलाउन सकेको छैन ।
ब्लिन्केनले पुटिनको सरकारमाथि नाकावन्दी लगाउन अमेरिकी गठबन्धनसँग सहमति जुटाउने प्रयास गरे लगत्तै यो वार्ता हुन लागेको हो ।
ब्लिन्केनले बिहीबार जर्मनीको वर्लिनमा नाकावन्दीका विषयमा वेलायत, फ्रान्स र जर्मनीका अधिकारीहरुसँग विस्तृत छलफल गरेका थिए ।
बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा आक्रमण गर्न सक्ने र त्यस्तो स्थितीमा रसियाले डरलाग्दो परिणाम भोग्नुपर्ने बताएका थिए । बीबीसी