काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेपको प्रकृतिमा परिवर्तन हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा बैंकहरूमा मुद्दती निक्षेपको अंश बढ्दै जाँदा बचत र चल्ती निक्षेपको अंश भने घट्दै गएको छ ।
बैंकरहरू बैंकमा कास (करेन्ट, बचत र कल) निक्षेपको अंश धेरै हुनु राम्रो हुने बताउँछन् । तर, राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्कअनुसार बैंकमा मुद्दती निक्षेपको अंश ह्वातै बढेको देखिन्छ । मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४८ खर्ब ९ अर्ब रहेको छ ।
जसमध्ये मुद्दती निक्षेपको अंश ५४.३ प्रतिशत रहेको छ । यस्तै बचत निक्षेपको अंश ३१.५ प्रतिशत, करेन्ट निक्षेप ७.१ र अन्य प्रकृतिका निक्षेपको अंश ७.१ प्रतिशत रहेको छ ।
०७४ यता बैंकहरूमा निक्षेपको प्रकृति हेर्ने हो भने मुद्दती निक्षेपको अंश लगातार बढ्दै गएको छ । ०७४ असार मसान्तमा कुल निक्षेपमा मुद्दती निक्षेपको अंश ४३.२ प्रतिशत मात्रै थियो । यस्तै, बचत निक्षेप ३५.४ प्रतिशत थियो ।
०७५ असार मसान्तमा मुद्दती निक्षेपको अंश बढेर ४४.८ प्रतिशत पुग्दा बचतको अंश घटेर ३४.५ प्रतिशतमा झर्यो । ०७६ असार मसान्तमा कुल निक्षेपमा मुद्दती निक्षेपको अंश अझै बढेर ४६.३ प्रतिशत पुग्दा बचतको अंश ३२.८ प्रतिशतमा झर्यो । ०७७ असार मसान्तमा मुद्दती निक्षेपको अंश बढेर ४८.६ प्रतिशत पुग्दा बचतको अंश ३१.९ प्रतिशतमा झर्यो ।
०७८ असार मसान्तमा भने मुद्दती निक्षेपको अंश केही घटेर ४७ प्रतिशमा झर्यो भने बचत निक्षेपको अंश बढेर ३४.२ प्रतिशत पुग्यो । पछिल्लो ५ महिनमा निक्षेपको प्रकृतिमा झनै ठूलो परिवर्तन देखियो । मुद्दती निक्षेपको अंश बढेर ५४.३ प्रतिशत पुग्दा बचतको अंश भनेर घटेर ३१.५ प्रतिशतमा झरेको छ ।
किन बढ्दै छ मुद्दती निक्षेपको अंश ?
कोभिडपछि तल झरेको निक्षेपको ब्याज विस्तारै बढ्न थालेसँगै मुद्दती निक्षेपको ब्याजदर 'डबल डिजिट' (दोहोरो अंक)मा पुग्दा बचतबाट मुद्दती निक्षेपतिर परिवर्तन हुन लागेको नेपाल बैंकर्स संघका उपाध्यक्षसमेत रहेको एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । स्टक मार्केट बढ्दो 'सर्ट टर्म' निक्षेपको रूपमा बैंकमा रहेको पैसा बजार घट्न लागेपछि र निक्षेपको ब्याजदर बढ्दै जाँदा मुद्दती निक्षेपमा सार्ने क्रम बढेको केसीको भनाइ छ ।
“मुद्दती निक्षेको अंश बढ्नु भनेको ब्याजदर बढेसँगै बचतबाट नै उता कन्भर्ट भएको हो,” उनले भने, “व्यवसायी घरानाले पनि मुद्दती निक्षेप राख्न लागेको जस्तो देखिन्छ, क्यास फ्लो राम्रो भएपछि ब्याज नआउने कल निक्षेपको सट्टा छोाटो अवधिको मुद्दती निक्षेपमा उनीहरूले पनि पैसा राख्न लागेका छन् ।”
निक्षेपको ब्याजदर कम हुँदा पर्खेर बसेकाले अहिले ब्याजदर बढेसँगै मुद्दती निक्षेपमा बचतको निक्षेप सार्दा त्यसको अंश बढेको केसीको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट छोटो अवधिको मुद्दती निक्षेपमा पनि तुलनात्मक रूपमा ब्याजदर राम्रो हुँदा मुद्दती निक्षेपको अंश बढ्दै गएको बताउँछन् । आर्थिक वर्ष २०७४/०७५ देखि नै मुद्दती निक्षेपको अंक बढ्दै गएको भट्ट बताउँछन् ।
“बैंकहरूलाई २०७३/०७४ को तरलता अभावपछि सम्पत्ति र दायित्वको मिसम्याच भयो भन्ने लाग्यो । त्यसले बैंकहरूलाई पनि मुद्दती निक्षेपलाई प्रमोट गर्नुपर्छ भन्ने लाग्यो,” भट्टले बाह्रखरीसँग भने, “२०७४/०७५ पछि ब्याजदर बढ्दै जाँदा निक्षेपकर्ता मुद्दती निक्षतर्फ बढी आकर्षित भए त्यो ट्रेन्ड अझै बाँकी छ ।”
'स्रोतको लागत बढेर ब्याजदर बढ्छ'
कुल निक्षेपमा मुद्दती निक्षेपको ब्याजदर बढ्दा स्रोतको लागत बढेर ब्याजदर बढ्ने केसी बताउँछन् । “बचत र मुद्दती बीचको ब्याजदर अन्तर ४/५ प्रतिशत अन्तर छ । मुद्दती निक्षेपको अंश बढ्दा कस्ट बढ्यो,” उनले भने, “त्यसले आधार ब्याजदर बढ्छ भने समग्रमा ब्याजदर नै बढाउन सक्छ ।”
मुद्दती निक्षेपको अंश बढ्दा निक्षेपको स्रोतको स्थिरता भने कायम हुने उनको बुझाइ छ । जसले निक्षपमा हुने उतारचढाव घटाउने केसी बताउँछन् ।
बैंकहरूमा मुद्दती निक्षेपको अंश बढी हुँदा वित्तीय स्थायित्व हुने भट्टको तर्क छ । बैंकिङ दिर्घकालीन व्यवसाय भएकाले दिर्घकालीन प्रकृतिको स्रोत लिएर कर्जा लगानी गर्दा केही लागत बढ्छ भने पनि त्यो सकारात्मक हुने भट्ट बताउँछन् । यसले केही लागत बढाएपनि बैंकहरूमा निक्षेपमा स्थिरता हुने र ब्याज बढी पाइने हुँदा निक्षेप बैंकिङ प्रणालीमा आउने उनको तर्क छ । यसले एसेट्स मार्केट पनि बबल हुन नदिने उनले दाबी गरे । साथै ब्याजदरमा समेत स्थायित्व ल्याउले उनले बताए ।