सिडनी । सर्बियाका स्टार टेनिस खेलाडी नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट स्वदेश फिर्ता पठाइने भएको छ ।
कोभिडविरुद्धको खोप नलगाएकाले अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गर्ने निणर्य गरेको थियो । उनले अन्तिम प्रयासस्वरूप टेनिस प्रतियोगितामा भाग लिनका लागि अस्ट्रेलियामा बस्न दिन भनी अदालतसमक्ष आग्रह गरेका थिए । तर, न्यायधीशहरूले अस्वीकार गरेपछि उनले अब स्वदेश फर्कनुपर्ने छ ।
योसँगै जोकोभिचको अस्ट्रेलियन ओपन उपाधि जोगाउने तथा २१औँ ग्रान्ड स्लाम जितेर नयाँ कीर्तिमान बनाउने सपनामा धक्का लागेको छ ।
अदालको निर्णयपछि उनले भनेका छन्, "म अत्यन्तै निराश भएको छु । तर, म्याचको सम्मुख अदालतले सुनाएको निर्णयलाई मैले सम्मान गरेको छु । स्वदेश फर्कने सिलसिलामा पनि म सम्बन्धित निकायहरूलाई सहयोग गर्नेछु । तर, अहिले नै मैले कहिले अस्ट्रेलिया छाड्दैछु भन्ने स्थिति छैन ।"
उनको अपिलविरुद्ध अदालतले निर्णय सुनाउँदै गर्दा उनका समर्थकहरू अदालत कक्ष बाहिर चिन्तित मुद्रामा चुपचाप बसेका थिए । एक महिला समर्थकले मेलबर्नमा खेल्ने भनिएका ३४ वर्षीय जोकोभिचको अनुपस्थितिमा आफूलाई निकै खल्लो लाग्ने प्रतिक्रिया दिएकी छन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अदालतको निर्णयको स्वागत गरेका छन् । "यो निर्णय हाम्रा सीमानारूलाई बलियो पार्न र हामीलाई सुरक्षित राख्न भएको हो । अस्ट्रेलियालीहरूले कोरोना महामारीको क्रममा धेरै त्याग गरेका छन् । त्यसैले पनि त्यागको बदलामा तिनीहरूसँग सुरक्षित बाँच्न पाउने आशा गर्ने अधिकार छ," उनले भनेका छन् ।