एम्सटड्र्याम । नेदरल्यान्डका राजा विल्लेम अलेक्जेन्डरले अबदेखि राज परिवारको ऐतिहासिक सुनको बग्गी प्रयोग नगर्ने घोषणा गरेका छन् । बग्गी दासतासँग जोडिएको भनेर राष्ट्रिय बहस चल्न थालेपछि उनले आफूले बग्गी प्रयोग नगर्ने घोषणा गरेका हुन् ।
आलोचकहरूले घोडाबाट तानिने ‘डी गोडेन कोएत्स’ नामक यस बग्गीको एक भागमा सिंगारिएको एक छविले मुलुकको औपनिवेशिक विगतलाई गौरान्वित गर्ने गरेको दाबी गर्छन् ।
सन् २०१५ देखि प्रयोगमा नल्याइएको यस बग्गीमा राखेर राजा रानीलाई संसद्को उद्घाटन समारोहमा लग्ने गरिन्थ्यो । यस बग्गीको इतिहासबारे मुलुकमा हाल बहस चलिरहेको छ । बग्गीमा रहेको औपनेशिकहरूको सम्मान बताइने उक्त विवादास्पद तस्बिरमा काला र एसियाली मूलका मानिसहरू देखिन्छन् । उनीहरूमध्ये एकजनाले घुँडाले टेक्दै बसिरहेकी एक गोरा युवतीलाई कोका र उखु दिइरहेको देखिन्छ । ती युवतीलाई नेदरल्यान्डसको प्रतीकको रूपमा लिइने गरिएको छ ।
त्यसैगरी ती युवतीसँगै बसिरहेका एकजना पुरुषले एकजना बालकलाई एउटा पुस्तक दिइरहेको देखिन्छ । यसलाई भने नेदरल्यान्डसले आफ्ना प्रभुत्वमा रहेका मुलुकहरूलाई उपहार स्वरूप ‘सभ्यता’ दिइरहेको रूपमा प्रस्तुत गरिएको हो । यो तस्बिर सन् १८९६ मा कलाकार निकोलस भान डेर वायले तयार पारेका थिए ।
एउटा औपचारिक भिडियो सन्देशमार्फत राजा विल्लेमले यो बग्गी थुप्रै मानिसका लागि अपमान र आपत्तिजनक रहेको स्वीकार्दै मुलुकलाई आफ्नो औपनिवेशिक इतिहासको विरासतलाई सामना गर्न पनि आह्वान गरेका छन् ।
उनले भनेका छन्, "तर पक्कै पनि ऐतिहासिक वस्तु तथा प्रतीकहरूमाथि प्रतिबन्ध लगाउनु मात्र पनि समाधान होइन ।"
लामो समय संग्रहालयमा थन्किएको यस बग्गीको गत वर्ष मात्र मर्मत सम्भार गरिएको थियो ।
गत वर्ष राजधानी एम्स्टड्र्यामका मेयर फिमेक हाल्सेमाले विगतमा दास व्यापारमा रहेको सहरको भूमिकाका लागि औपचारिक रूपमा क्षमायाचना गरेकी थिइन् । तर, प्रधानमन्त्री मार्क रुटेले राष्ट्रिय स्तरमा यसबारे औपचारिक माफी माग्न अस्वीकार गरेपछि मेयरको कदम अप्ठ्यारोमा परेको थियो ।
बीबीसीबाट ।