काठमाडौं । स्पेनबाट खेल्न आएका आभाष लामिछानेले गरेको गोलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पालाई १–० ले पराजित गरेको छ । जितपछि एपीएफले रेलिगेशन संकट टार्ने सम्भावना जीवित राखेको छ ।
जितपछि एपीएफले ९ खेलबाट १० अंक जोडेको छ । जुन रेलिगेशन क्षेत्रको च्यासल युथभन्दा पाँच अंकले माथि हो । समान खेलबाट ११ अंक हिमालयन शेर्पा भने छैटौं स्थानमा छ ।
पहिलो हाफको इन्जुरी समयमा आभाषले गरेको गोल एपीएफको जितमा निर्णायक बन्यो । नवीन लामाको कर्नरमा आभाषले हेडमाफर्त उत्कृष्ट गोल गरेका हुन् ।
त्यसको एक मिनेट नवित्दै हिमालयन शेर्पाले बराबरी गर्ने मौका खेर फाल्यो । मिलन राईको प्रहारलाई एपीएफका गोलकिपर युया कुरियामाले बचाइदिएका थिए । रिबाउन्डमा प्राप्त बलमा एपीएफका मुताम्बा पिस्टोनले गरेको प्रहार आकासिएको थियो ।
जारी लिगमा एपीएफको यो दोस्रो जित हो । यसअघि एपीएफले फ्रेन्ड्सलाई हराएको थियो । हिमालयन शेर्पाको भने यो लगातार दोस्रो हार हो । हिमालयन पछिल्लो खेलमा थ्री स्टारसँग २–० ले पराजित भएको थियो ।
एपीएफले दोस्रो मिनेटमै अग्रता लिएको थियो । तर, स्ट्राइकर आशिष लामाको गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए । २०औं मिनेटमा मनिष थापाको कर्नरमा आशिष गुरुङको हेड प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले अग्रता लिने अवसर गुमाएको थियो ।