सडकमा आइपुग्दा रातको सवा १० बजिसकेको थियो ।
‘कठपुतली’को प्रिमियर शो हेरेर सिटी सेन्टरको चौथो तलाबाट तल झरेको थिएँ । सडकमा दुई–तीन ट्याक्सी खडा थिए ।
तर, कुरा गर्नु त टाढाको कुरो, मलाई देख्दैमा झ्यालै नखोली ट्याक्सी ड्राइभरले हात हल्लाउँदै ‘लान्न’ भन्ने संकेत गरे । मानौँ, हरर जनाराको फिल्म हेरेर झरेको म भूत–पिशाच हुँ !
त्यसपछि त आफैँ तर्सिएँ, साँच्चै ट्याक्सी नपाइने नै हो त ! कमलपोखरीदेखि हिँड्नुपर्ने त हुन्न !
तर, मेरो सोचाइ गलत निस्कियो । अर्थात्, परबाट तुफानसरि आएको एउटा ट्याक्सी हातको एक इसारामा मेरो अगाडि रोकियो । जाने ठाउँ र दरभाउमा कुरो मिल्यो ।
केही बेरमै म कोठातिर हुइँकिँदै थिएँ ।
चालक भाइ रामेछापका रहेछन् । मैले जनकपुरी साइनो लगाएँ । कुनै बेला एउटै अञ्चलको ! अञ्चलवासीको साइनोले कुराकानीलाई सहज बनायो ।
करिब १५–२० मिनेटको बाटो भए पनि रातको समयमा टाढै लाग्ने । त्यसैले पनि एकोहोरो कुरो गर्न थालेँ । उसले के सोच्छ, वास्ता गरिनँ ।
चालक भाइले भने, ‘राति पैदल हिँड्नु हुन्न सर । म त १० बजेसम्म भेटे जतिलाई छोडेर मात्र घर फर्किन्छु । झन् अहिले जाडोको रात, पैदल हिँड्न गाहै्र हुन्छ नि ।’
उनले भनिरहँदा मैले सम्झिएँ करिब ४० वर्षअघिको त्यो रात्रि पैदलयात्रा । जतिखेर सिंहदरबारदेखि जयवागेश्वरीसम्म पैदलै हिँडेर पुगेको छु । मैले ड्राइभर भाइलाई पनि सुनाएँ ।
उनी बोले, ‘हो र !’
०००
ऊ बेला पैदल हिँड्नु सायद नियति नै थियो । त्यसैले पनि साँझपख साझा बस वा मिनि बसको भिडमा कोचिनुभन्दा पैदल हिँडाइमा नै समय खर्च गर्थेँ । पातलो खल्तीका कारण पनि पैदलमा रमाउनुपर्ने दिनहरू थियो ।
सहर छिर्नुपर्दा एक मोहर तिरेर बस चढिन्थ्यो । साँझ भने रत्नपार्कबाट कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, सिफलचौर हुँदै बुवाको डेराकुटीस्थल जयवागेश्वरी पुग्थेँ ।
धेरै त हुँदै होइन । त्यति चार ठाउँ पार गर्नु न हो ! त्यही सोच्दै हिँडिन्थ्यो ।
यात्रामा यदाकदा बागबजार थपिन्थ्यो । मामाको नर्सिङ होम त्यहीँ भएकाले कहिलेकाहीँ मामाकै गाडीमा चाबेल फर्किन पाइन्थ्यो । मौका नमिले हिँडेरै फर्कनु त छँदै छ ।
हुन त हिँड्न खासै जाँगर चल्ने मानिस हैन म । तर, बाध्यता । बेरोजगारीले टाढा होस् वा नजिक, खुब हिँडाउँथ्यो ।
तर, त्यस रातको हिँडाइ आज पनि मेरो मानसमा तरोताजा छ । वर्ष गन्नुपर्दा पनि दुवै हातका औँला चारपटक पड्काउनुपर्छ ।
अँध्यारो भएपछि हिँड्न डर लाग्थ्यो । हिम्मत हुन्थेन । अझ रातोपुल र कालोपुलको बाटो भएर नहिँड्नु नै भन्थे । त्यसैले हिम्मत गर्ने कुरै हुन्थेन ।
म मात्रै हैन, धेरै मानिस डराउँथे । त्यसैले चलनचल्तीको बाटो हिँड्थे, पैदलयात्रु ।
चैत तेस्रो साताको त्यो रात । मैले एक्लै बाटो नापेँ, लखरलखर । डरले मुटुकलेजो एक ठाउँ गुटमुटिएको थियो होला ! तर, डेरा त पुग्नु थियो । त्यसैले अप्रतियोगी गबैयाको बिल्ला भिरेको मैले रेडियो नेपालमा गाएको आफ्नै गीत जोडजोडले गाउँदै बाटो छिचोल्न थालेँ ।
०००
रेडियो नेपालको वार्षिकोत्सव थियो । आयोजना हुँदै थियो देशव्यापी लोकगीत प्रतियोगिता ।
त्यति बेला सिंहदरबारभित्र रहेको रेडियो नेपाल छिर्न आजजस्तो गाह्रो थिएन । कहिले स्टुडियो त कहिले गीत रेकर्डिङ गरेको हेर्न म बारम्बार रेडियो नेपाल गइरहन्थेँ । त्यसै बेला थाहा पाएँ लोकगीत प्रतियोगिताका बारेमा ।
गीत गाउने लहडले गाँजेको मलाई रेडियो छिर्ने एउटा अवसरजस्तै लाग्यो, प्रतियोगिता । ‘आव देखा न ताव’ तुरुन्तै एउटा (कथित) लोकगीत रचेँ । गीतले भन्थ्यो , ‘...जाऊँ हिँड जनकपुर लान्छु, लाने मै हुँ ठिटो’ (बाँकी त मैले आफैँ पनि बिसेँ !) ।
नामुद संगीतकारझैँ लय पनि आफैँले भरेँ । र, आफूलाई ठूलो गायक ठानेँ ।
अचम्मको थियो ऊ बेलाको मेरो गायकी । मोहम्मद रफीको गीत गाउँदा आफूलाई रफी ठान्थेँ । किशोरकुमारको गीत गाउँदा किशोरकुमार । मुकेशको गीत गाउँदा भ्याएसम्म नाके स्वर निकाल्थेँ !
सिरहा, जलेश्वरतिर मौका मिल्दा गीत गाउन स्टेजमा उक्लिहाल्थेँ । सरोजगोपालको ‘नक्कलीलाई भगाई लग्यो झिल्केले...’, मैले खुब गाएँ । (सायद सजिलो गीत भएर होला !)
गणेश रसिकको ‘घरबेटी नानी...’, कुमार बस्नेतको ‘लैबरी लै...’, दीप श्रेष्ठको ‘साइँली बरी चियाबारीमा...’, उदितनारायण–मधु क्षेत्रीको ‘साइँली र माइली पोइला गएछन्...’ जस्ता थुप्रै गीत मनग्ये गाइयो ।
त्यही रनाहाले मलाई पुर्याएको थियो रेडियो नेपालको लोकगीत प्रतियोगितामा । प्रतियोगिताको नियम के थियो, मलाई थाहा भएन । मैले त सुनेकै भरमा लोकगीत रचेर बुझाएको थिएँ, गाउन पाउने आशमा ।
तर, सुरुमै कङ्कर लाग्यो सुन्नेलाई । तिनले ‘अझै प्राक्टिस गरेर आऊ’ भन्दै फिर्ता पठाए । र, म रन्थनिँदै डेरा फर्किएँ ।
लोकगीत भयो भएन, सुरताल मिल्यो मिलेन भन्नेतिर मेरो ध्यान गएन । स्वर राम्रो हुँदाहुँदै पनि मलाई लिएनन् भन्ने कुराले नै म रन्किएको थिएँ । फन्किएको थिएँ ।
त्यसैको एक–दुई दिनपछि मामाकहाँ जाँदा मैले आफू लोकगीतको भ्वाइस टेस्टमा फेल भएको सुनाएको थिएँ । मामाले सुन्नुभयो र हाँसेर टारिदिनुभयो ।
त्यसबीच गौशालाको वाग्मती पुलमा अडेस लाएर साथी बिरु गीत सुनाउँथ्यो । कहिले मै गाउँथे, ‘...जाऊँ हिँड जनकपुर लान्छु, लाने मै हुँ ठिटो ।’ यसरी नै केही दिन बिते ।
प्रायः हरेक बिहान मामाकहाँ पुग्थेँ म । त्यस दिन पनि बिहानै पुगेँ । मामा खाना खान बसिसक्नुभएको थियो । ८ बजे वीर अस्पताल जो पुग्नु थियो ।
मलाई भन्नुभयो, ‘राजेश, एकचोटि रेडियो नेपाल गएर बमबहादुर कार्कीलाई भेट है । मैले पठाएको भन्नू ।’
तिनताक बमबहादुर कार्की रेडियो नेपालको लोकगीत सेक्सन हेर्थे सायद ।
के भएछ भने, बमबहादुर कार्की नर्सिङ होम पुगेका रहेछन् मामासँग भेट्न । अनि, मामाले पनि मेरो कुरा गर्नुभएछ । कार्कीले ‘भान्जालाई मसँग भेट्न पठाइदिनुस् न डाक्टर साब...’ भनेछन् ।
मामाले ‘कार्कीलाई भेट’ भनिरहँदा खुसी लाग्यो । तर, ‘पानको पात...’ का गायक कार्कीले के भन्ने हुन् ! खुसीसँगै डर पनि पलायो ।
म फेरि रेडियो नेपाल छिरेँ । ‘जाऊँ हिँड जनकपुर लान्छु, लाने मै हुँ ठिटो...’ फेरि सुनाएँ । अनि, अप्रतियोगी कलाकारका रूपमा गीत गाउने टुंगोका साथ म फर्किएँ ।
गते, बार, तिथिमिति सम्झना भएन । तर, ३८÷३९ सालतिरको कुरो हो । चैत २० गते रेडियो नेपालको वार्षिकोत्सवको अवसर । सायद एक–दुई दिनअघि होला । म रेडियो नेपाल पुगेँ ।
अप्रतियोगिहरूका लागि गीत गाउन रातिको समय छुट्ट्याइएको रहेछ । त्यो समयमा अरू पनि केही कलाकार थिए, गीत गाउने ।
म स्टुडियो छिरेँ । माइक अघिल्तिर उभिएँ । मेरो गीतमा हारमोनियम फेट्दै साथ दिए संगीतकार मदन परियारले । अरू संगीतकर्मीहरू पनि आफ्नो–आफ्नो वाद्य बजाउनमा भिडेका थिए ।
हरियो बत्ती बलेपछि पसिना निकाल्दै गीत गाउन सुरु गरेँ । एकै छिनमा त गीत सक्किगो !
अप्रतियोगी गीतहरु रेकर्ड गर्ने चलन थिएन । त्यसैले रेकर्ड हुने कुरो पनि भएन । उता, मेरो गीत सुन्नेले पनि त्यो गीत रेकर्ड गरेनन् । बस्, सुने मात्रै । सायद, जसरी सुने त्यसरी नै बिर्सिए पनि । (मैले आफैँ त बिर्सिएँ !)
र, लोकगीत गाएर म निस्किँदा रातको सवा १० बजिसकेको थियो ।
जे होस्, रेडियोमा गीत गाएर बाहिर निस्किँदै थिएँ । र, मेरो ढुकुरे छाती चौडा न चौडा भएको थियो ! फु गर्दा ढल्ने सन्ठी मार्का ज्यानमा खै कताबाट ऊर्जा आएको थियो कुन्नि !
जब सिंहदरबारभित्रबाट मूल सडकमा आइपुगेँ, अनि झसंग भएँ । महसुस भयो म एक्लो छु भन्ने ।
खल्तीमा दुई रुपियाँको एउटा नोटबाहेक अरू थिएन । सायद, रुमाल पनि । निधारको पसिना पनि हातैले लेप्राउनुपर्ने अवस्था थियो । दुईको नोटले ट्याक्सी सोच्न पनि सकिन्थेन ।
सिंहदरबारको पृथ्वी सालिकदेखि जयवागेश्वरीसम्म पुग्न ट्याक्सीमा पन्ध्र–बीस रुपियाँ पर्थ्यो नै । रेडियो छिर्दा यतातिर सोच्दै सोचिएन ।
अब एक्लै पैदल हिँड्नुको विकल्प थिएन । न साथमा पैसा थियो न त साथी नै कोही । छाया साथ छ भन्ने अवस्था पनि थिएन । ल्याम्पपोस्टको मधुरो उज्यालोले के छाया साथ लगाउँथ्यो र !
तथापि, घर पुग्नु थियो । त्यसैले एक्लै लम्किएँ, पुलतीसडकतिर । छोटो बाटो भए पनि कालिकास्थानको बाँसघारी भएर हिँड्ने हिम्मत भएन । त्यसैले पुतलीसडकको बाटो रोजेको थिएँ ।
ऊ बेला ठूलठूला पक्की घर खासै थिएनन्, पुतलीसडकमा । दुई–चारवटा थिए कि ! बाँकी त पुराना घर मात्रै । तिनै घरका आड लाग्दै एक्लै लम्किएँ ।
पुतलीसडकसम्म त हिम्मत दह्रै थियो । त्यहाँबाट डिल्लीबजार उकालो लागेपछि हिम्मत पनि मैनझैँ पग्लिँदै गयो । लाग्यो, बीचमै निमिट्यान्न पो हुन्छु कि !
डिल्लीबजारतिर उक्लिएपछि केही बेरअघि रेडियोमा लाइभ गाएको गीत भट्ट्याउने सोचेँ । हिम्मत जगाउन त्यसले पो केही काम गर्छ कि ! झिनो आशा पलायो । ‘डुबते को तीनके का सहारा’ भनेजस्तै ।
पुवारको त्यही त्यान्द्रो समाएँ । र, कराउँदै गाउन थालेँ, ‘जाऊँ हिँड जनकपुर लान्छु, लाने मै हुँ ठिटो’ । यो डर भगाउने रामबाण उपाय थियो वा थिएन, म भन्न सक्दिनँ । तर, गीत भट्ट्याउँदै गर्दा आवाज मेरो साथी भइरहेको थियो ।
निरन्तर गीत गाउँदै डिल्लीबजार पिपलबोट, मैतिदेवी चोक, धोबीखोला पुल हुँदै पुरानो बानेश्वर पुगेँ ।
‘अब त जयवागेश्वरी भनेको त्यहीँ नै त हो, आइपुगी हालेँ’ भन्ने ढाडस दियो मनले । हिम्मत ‘रिचार्ज’ भयो । र, गीतको ‘डाइनामो’ अझ तेज घुमाउँदै उत्तर मोडिएँ ।
अग्लाअग्ला मसला र अरू जातका गाछीहरू मैले गाएको गीतका साक्षी थिए । तिनले सायद सुनिरहेका थिए, ‘...लाने मै हुँ ठिटो’ ।
आज ती मसला र अरू जातका गाछीहरू एउटै छैनन्, जसले मेरा गीत सुनेका थिए ।
यसरी जोडजोडले गीत गाउँदै म जयवागेश्वरी पुगेँ । कोठा छिर्दा ११ नाघिसकेको थियो । त्यो बेलासम्म पनि आमा मलाई कुरेर बसिरहनुभएको थियो ।
स्टोभ बालेर आमाले खाना तताउनुभयो । खान दिनुभयो । अनि भन्नुभयो, ‘गीत त राम्रै गाइस् ।’
आमा, बुवा र भाइहरूले रेडियोमा गीत सुनेछन् । म यसै दंग परेँ ।
भोलिपल्ट बिहान भने खिन्न लाग्यो, घरमा टेप रेकर्डर हुँदाहुँदै पनि मैले गाएको गीत रेकर्ड नगर्देकोमा । कसलाई के भन्नु !
आमाबुवालाई केही भनिनँ । के भन्ने ? तर, दाइ भइखाको, भाइहरूको झाँको झारेँ ।
तर, म पनि गायक हुँ भन्ने मसँग कुनै चिनो भने थिएन ।
त्यसपछि गाउने सोख हरायो । गायनमा रुचि हुँदाहुँदै पनि गायक हुन सकिनँ ।
०००
ट्याक्सीले घरमा छोडेपछि सोचेँ– यदि, आज त्यसरी नै कमलपोखरीबाट हिँडेर आउनुपरेको भए म आउन सक्थेँ र ?