site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छाया लेखन : कसको छाया, कस्तो छाया ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नियमित छलफलको क्रममा एकजना मित्रले कुनै लेखनको विषयमा कुराकानी गरिरहनुभएको सुनेँ । सुरूमा मैले विषय र सन्दर्भ बुझ्न सकिनँ । सोधेँ, “कस्तो लेखन भन्नुभयो ?” 
उहाँले हार्दिक जवाफ फर्काउनुभयो, “छाया लेखन ।” 
मैले अझै पनि बुझिनँ । थप जान्न चाहेँ, “के भनेको त्यो ?” 
उहाँले सहज भन्नुभयो, “घोस्ट राइटिङ ।” 
“ए ! गोस्ट राइटिङको कुरा पो गर्नुभएको ! त्यस्तो लेखन गर्नु हुन्न,” मैले थपेँ । 
“काठमाडौंमा सबैले गर्छन् । त्यति ठूलठूला मानिसलाई किताब लेख्ने फुर्सद कहाँ हुन्छ ?” उहाँले अझै यसको आवश्यकता प्रष्ट्याउने यत्न गर्नुभयो ।

हो, धनाढ्य मानिसलाई लेख्ने फुर्सद हुँदैन । उनीहरूको हजार काम हुन्छ । लेखनजस्तो महत्त्वहीन (?) काममा खर्च गर्ने समय हुन्न । लेख्नका लागि चाहिने समय हुन्न । कहिलेकाहीँ त चिन्तनका लागि चित्त नहुन सक्दछ । वा अभिव्यक्तिका लागि शब्द नहुन सक्दछ । यस्तो विषम अवस्थामा बाँचिरहेका छन्, साहु–महाजनहरू ।

तर, जसको चिन्तन प्रणालीमा यस्तो विकार भरिएको छ, उसलाई लेखक हुने लालसा जाग्नु नै किन ? यही प्रश्नको सेरोफेरोमा बसेर यस आलेखमा मैले गोस्ट राइटिङले निम्त्याएका जटिलताहरूका बारेमा चर्चा गरेको छु ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अंग्रेजीमा गोस्ट राइटिङ भनिने छद्म लेखन भनेको अरूका लागि कसैले गरिदिने खेताला लेखन वा चिन्तन हो । यसलाई नेपालीमा छाया लेखन भनिँदो रहेछ भन्ने कुरा भर्खरै थाहा पाउँदा मलाई अमिलो अनुभूति भयो ।

खासमा मलाई गोस्ट राइटिङलाई ‘प्रेत लेखन’ भन्न मन लाग्छ । यसमा लेखक यो लोकमा देखिँदैन । कुनै अर्कै मानिसको खेताला हुन्छ । परलोक पनि पुगेको हुँदैन । वास्तवमा यस्तो लेखक न घरको न घाटको हुन्छ । त्यो गोस्ट हो, जो अगति परेर मृत्युपछि पनि यसै लोकमा भट्किरहेको हुन्छ ।

Royal Enfield Island Ad

छद्म लेखनले दुईवटा वर्गको निर्माण गर्दछ, साहु र लेखक । साहु पैसा खर्च गर्न तयार छ । किताबको गातोमा उसको नाम देखेर दंग पर्ने बानी परेको साहुले आफ्नो आत्मकथा लेखाउँछ । दास लेखक कसरी मालिकलाई खुसी पार्ने भनेर दिनरात शब्द चिन्तनमा खर्च गर्छ । नयाँ–नयाँ अनुच्छेद तयार गर्छ । मालिकलाई सुनाउँछ अनि त्यसको बदलामा भुक्तानीको किस्ता कुर्छ ।

यो साहु र दास दुवैले पाठकप्रति गर्ने गद्दारीको पराकाष्ठा हो । विचार प्रवाहको मूल्यको विरूद्धमा गरिने यस प्रकारको आत्मरतिले साहुलाई त खुसी पार्ला, तर खेतालो लेखक र उसका पाठक कुन हैसियतमा खुम्चिन पुग्छन् भन्ने कुराप्रति खासै यसले चासो राख्दैन ।

पुँजीवादी युगमा किताब भनेका मानिसका दृष्टिकोण, निष्कर्ष र विचार प्रवाहका माध्यमा मात्र होइनन् । किताबले बोक्ने बृहत् अर्थ आजको समयमा आएर संकुचित हुन पुगेको छ । तर, समाजमा आफ्नो नाममा किताब हुनु भनेको प्रतिष्ठा आर्जन गर्ने माध्यम भएको छ ।

त्यस्तै, प्रकाशनगृहहरूले किताबलाई वस्तुका रूपमा बजारमा परिचालन गर्दा कुन व्यक्तिको जीवनमा मानिसलाई रुचि हुन्छ वा कुन व्यक्तिका बारेमा किताब लेखिएमा बिक्री हुन्छ भन्ने बुझेका हुन्छन् ।

पुँजीवादको सबैभन्दा रोचक पक्ष भनेको बजारको प्रवृत्तिलाई विश्लेषण गरेर सबैभन्दा बढी लाभ आर्जन गर्न सक्ने वस्तु पहिचान गर्नु हो । प्रकाशनगृहले मानिसका जीवनका भोगाइलाई सबैभन्दा बिक्री हुने वस्तु मानेका छन् ।

यो युगमा मध्यम वर्गले सधैँ उपभोक्तावाद र पुँजीवादप्रति आफ्नो इमानदारिता प्रस्तुत गर्छ । प्रकारान्तरले भन्नुपर्दा यो वर्ग नै बजारको सबैभन्दा चलायमान तत्व हो । यसले नै समाजमा जन्मिने नयाँ अभ्यासका विधि, नैतिकता र जनमानसका धारणा तय गर्दछ ।

यसरी हेर्दा मध्यम वर्ग भनेको उपभोक्तावादी संस्कृतिको मानक निर्धारण गर्ने तह हो, जसले छद्म लेखनको प्रेतलाई अझै चौडा, उर्वर जमिन प्रदान गर्ने गर्दछ । समय क्रममा विस्तारै निर्माणरत यसै वर्गले नै यस्तो परजीवी लेखनको संस्कृतिलाई मलजल गरेको छ ।

हुन त आत्मकथा नलेखेर कुनै मानिसले जीवनी पनि लेखेका वा लेखाएका छन् । जसले लेखेको हो उसको पहिचान प्रस्तुत गरेर बजारमा पुस्तक पठाएका पनि छन् । त्यसो गर्नु भनेको इमानको बाटोमा हिँड्नु हो । तर, हामीले विश्वासै गर्न नसकिने व्यक्तिहरूको नाममा बजारमा पुस्तक प्रकाशन भएर बिक्री भइरहेको देखिनुले छद्म लेखनको अभ्यासको प्रचुरतालाई दर्शाउँछ ।

काठमाडौंको विगत २० वर्षको लेखाजोखा गर्ने हो भने आत्मकथाको बजारमा अत्यधिक मात्रामा किताबहरू देखिएका छन् । अवकाशप्राप्त कर्मचारी, सैन्य अधिकारी, प्रहरी अधिकृत, पत्रकार, व्यापारी, कलाकारदेखि अन्य थुपै मानिसका जीवनका कथाहरूले बजार भरिएको छ ।

लेखनसँग सम्बन्धित पेसाका मानिसले त आफैँ लेखे पनि होलान् । तर, आफूमा लेखनको कतै पनि कुनै झुकाव नै नभएका मानिसबाट समेत उत्कृष्ट लाग्ने विवरण, वर्णन र कथाहरूले बजार भरिन पुग्नु अचम्म लाग्दो कुरा हो ।

त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा स्नातकोत्तर तहमा ‘लाइफ राइटिङ’ पढाउँदा ‘आत्मकथा’ र ‘जीवनी’को बीच भेद नछुट्टिएका नेपाली किताबहरूको बारेमा थुप्रै छलफल गरेको थिएँ । प्राध्यापकको रूपमा सबैभन्दा ठूलो चुनौती भनेको लेखकको आधिकारिकता स्थापित गर्ने कुरामा नै सधैँ रहन्थ्यो ।

व्यवसायको जगतमा अपार सफलता हासिल गरेको व्यापारीको आत्मकथा उसले लेखेको होइन वा उसको लेखन त्यो स्तरको हुन सक्दैन भनेर अनौपचारिक तहमा भने तापनि औपचारिक छलफलमा भने त्यस्तो असम्भव प्रायः हुने अवस्था बन्थ्यो । प्राध्यापकबीच कुनै व्यक्तिले त्यो किताब लेखेको होइन भनेर छलफलचाहिँ हुन्छ । तर, स्थापित रूपमा औंँला ठड्याउने साहस कसैले गर्दैन ।

त्यस्तै अर्कोतिर, बजारमा गोस्ट राइटिङ गर्ने, गर्न सिकाउने र गर्न लगाउनेहरूलाई एउटै थलोमा ल्याउने किसिमका कम्पनीहरू पनि सरकारको स्वीकृतिमा नाफाको तोकिएको अंश सरकारलाई कर तिर्ने सर्तमा आफ्नो व्यापार गरिरहेका छन् ।

विश्वविद्यालयको कुनै उपाधिका लागि अर्काको अनुसन्धानको केही अंश साभार गर्ने कुराप्रति शून्य सहनशीलताको पर्याप्त निर्देशन सुनेको वर्गलाई छद्म लेखनको अभ्यासले स्वाभाविक रूपमा प्रेतले झैँ तर्साउँछ । यसमा रहेका नैतिक जटिलताले मानिसलाई लखेट्छ ।

प्रतितर्कका लागि कसैले यो युग सरोगेसीको हो भन्न सक्छ । हो, अप्ठ्यारोमा परेर संरचनागत सीमाका कारण कसैले सन्तान उत्पादनका लागि अर्काको शरीरको सहारा लिन सक्दछ । यसमा पनि थप छलफलको आवश्यकता छ ।

तर, कुनै क्लार्क लेखकबाट पुस्तक तयार गरेर आफ्नो नाममा बजारमा पठाउनु भनेको दुई प्रकारले धोका हो । पहिलो, पुँजीले समाजको आत्मा खरिद गर्न सक्छ भन्ने साहुले मानेको हुन्छ । यही कुरालाई छद्म लेखनले स्थापित गरिदिन्छ । त्यस्तै, साहुले पाठक भनेका लाटा उपभोक्ता हुन् जसले बजारले प्रस्तुत गर्ने मलमूत्र दुवैलाई गंगाजलझैँ ग्रहण गरिदिन्छन् भन्ने मान्दछ ।

अब यस्तो परिस्थितिको लागि जिम्मेवार को त ? यो सबैभन्दा अप्ठेरो प्रश्न हो । सरकारी नीतिमा भएका रिक्तताहरू कर्मचारीतन्त्रको नेतृत्व गर्ने वा राजनीतिक नेतृत्व गर्नेहरूले सम्बोधन गर्न सक्दछन् ।

तर, नवीन रूपमा देखिएका अभ्यासहरूले नैतिक मूल्य र मान्यतामा पार्ने निश्चित असरहरू अनुभूत समाजले नगरी नीतिगत सम्बोधन पनि नहुने परम्पराले देखाउँछ । तर, लेखनमा हराएको इमानको खोजीप्रति गैर÷राजनीतिक नेतृत्वमा संवेदनाको विकासचाहिँ नभएकै हो ।

हाम्रा प्राज्ञिक निकायहरूले निर्माण गर्न नसकेको हस्तक्षेपकारी भूमिका नै हाम्रो समयको सबैभन्दा ठूलो विरोधाभास हो । आदर्श कल्पना भनेको प्राज्ञिक नेतृत्वले मानक स्थापित गर्नुपर्दछ भन्ने हो ।

समाजले प्राज्ञहरूबाट नैतिक चेतनाको प्रवाहको अपेक्षा गरेको हुन्छ । यहाँनेर हाम्रो प्राज्ञिक नेतृत्व कुन भीमकाय पर्वतको परिक्रमा गरिरहेछ ! कुन शक्तिकेन्द्रको चास्नीमा डुबेको छ ? भन्ने प्रश्न जन्मिन्छ ।

केही समय अगाडि एकजना लेखक साथीले फोनमा गुनासो गरेको सम्झिन्छु, “पैसा लिन अनामनगरमा बोलाएको थियो, गाली गरेर पठायो । आजको दिन खराब भयो ।” 
मैले उनलाई सोधेको थिएँ, “केको पैसा नि ?” 
“उसको लागि एउटा किताब लेख्दै छु ।”
हुन त अप्रिय लाग्छ, तर छद्म लेखनले साहु र लेखकबीच मलिक र दासको सम्बन्ध स्थापित गर्छ ।

प्रेत योनीमा लेखनलाई फसाउने यो कर्म पनि दासताको आधुनिक स्वरूप हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro