site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपामा राजेन्द्र महतो समूहको विद्रोह, केन्द्रीय कार्यालयमा १६१ जनाको धर्ना

काठमाडौं । पार्टीभित्र अध्यक्षले एकलौटी र हुकुमी शैली अपनाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र विद्रोह सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक विधि र पद्धतिबाट पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्ट बनेको राजेन्द्र महतो समूहले संघर्ष सुरु गरेको हो ।

संघर्षस्वरूप पार्टीका धनुषा र महोत्तरीका १६१ नेता तथा कर्याकर्ताले आइतबारबाट पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना सुरु गरेका छन् । नेता सञ्जयकुमार चौधरीकाअनुसार आजबाट संघर्षका कार्यक्रम सुरु गरिएको हो ।

आज अध्यक्ष ठाकुरसँग भेटेर विवादको विषयमा छलफल गर्ने गरी उनीहरू काठमाडौं आएका थिए । तर, अध्यक्ष ठाकुरले भैरहवा पुगेर आउन ढिला गरेका थिए । नेता चौधरीकाअनुसार काठमाडौं  अध्यक्ष आइपुगे पनि उनी वार्तामा आउन चाहेनन् । 
"उहाँ भोलितिर समय मिलाएर कुरा गरौँला भन्द‌ै आउन चाहानुभएन," चौधरीले भने । 

विवादका विषयमा छलफल गर्न नआएपछि उनीहरूले धर्ना सुरु गरेका हुन् । 

"भोलि पनि हामी उहाँलाई पर्खन्छौँ, नआए धर्ना गर्ने पार्टी अफिस ताला लगाउने र जिल्ला जिल्लामा लाल्टिन बालेर विरोध गर्छौं" उनले भने । 

संघर्षको अन्तरकथा
पार्टी बनेको चार महिना पूरा नहुँदै लोसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । लोसपभित्र भागबन्डाको लडाइँ छ । १२ जिल्ला र प्रदेश २ मा अध्यक्ष चयन गर्दा समानुपातिक भागबन्डा नभएको भन्दै पार्टीभित्र अध्यक्ष र वरिष्ठ नेता महतोबीच संघर्ष चुलिएको हो ।

पार्टी विधानानुसार तीन प्रकारका समिति बन्ने व्यवस्था छ । जसमा विधानले ४०१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने आधार दिएको छ । यस्तै, १५१ सदस्यीय राजनीतिक समिति र ९९ सदस्यीय प्रदेश समिति विधानसम्मत गठन गर्नुपर्ने हुन्छ ।

यस्तै, जिल्लामा ५१ सदस्यीय कार्यसमिति हुन्छ । जसमा १५ जना कार्यसम्पादन समितिमा रहन्छन् । तर, पार्टीले ३० सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाहेक अरू समितिहरू गठन गर्न सकेको छैन । त्यो कार्यकारिणी समितिको बैठक पनि चार महिनामा दोस्रोपटक बस्न सकेको छैन । कार्यकारिणी समितिको संख्या बढाउने भनिए पनि कति पुर्‍याउने भन्ने टुंगो लगाउन सकेको  छैन ।

नेतृत्वको विषयलाई टुंगोमा पुर्‍याउन भन्दै मंसिरमा तीनपटक चार नेताबीच संवाद भएको भएको थियो । जसमा अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी र अनील झा संवादमा बसे । संवादको मुख्य विषय तदर्थ समिति घोषणा गर्नु थियो । मुख्य चाहिँ जिल्ला कार्यसमिति र प्रदेश तहको नेतृत्व घोषणा गर्नु थियो ।

संवादपछि पार्टीले १२ जिल्लामा जिल्ला अध्यक्ष तथा प्रदेश–२ मा प्रदेश अध्यक्ष तोक्यो । जिल्ला र प्रदेश तहको अध्यक्ष तोक्न नपाउँदै विवाद सुरु भएको हो । महतो पक्षले अध्यक्ष ठाकुरले एकलौटी ढंगले आफूनिकटहरूलाई अवसर दिएको भन्दै विरोध सुरु गरेको हो । जसमा  नेता झाले पनि साथ दिएका छन् ।

“१२ जिल्ला र प्रदेश–२ को पनि अध्यक्ष केन्द्रीय एकलौटी तोकियो, कार्यकारिणी समितिमा पनि छलफल भएन । अध्यक्षले एकलौटी गर्नुभयो । त्यसैले हामी डेलिगेसन आउन बाध्य भयौँ,” धर्ना बस्न आएका नेता सञ्जय सिंहले भने ।

महतोनिकट एक नेता मंसिरमा तीन चरणमा संवाद गर्दा सम्भावित नामबारे छलफल भएको तर नाम तोकिँदा छलफलविपरीत आएको बताउँछन् । “राजेन्द्रजी र अनीलजीले गरेको सहमतिअनुसार नाम आएन, महन्थ ठाकुरको कोटको खल्तीबाट नाम झिकेर अध्यक्ष बनाउने काम भयो । त्यसैले साथीहरू डेलिगेसन आउनुभएको हो,” उनी भन्छन् ।

तर, ठाकुरपक्षीय नेताहरू भने सबै तहका अध्यक्षहरू सहमतिमै तोकिएको दाबी गर्छन । बरु, राजपामा हुँदाजस्तो भागबन्डा नपाएर महतो र झा समूहले बखेडा झिकेकोे आरोप ठाकुरपक्षीय नेताहरूको छ ।

“खोजेजति भाग नपाएपछि बोलेका हुन्, पार्टीमा कुनै विवाद छैन,” ठाकुरपक्षीय एक नेता भन्छन्, “हिजो राजपामा ६ अध्यक्षमण्डल हुँदाजस्तै भाग खोजेर बसेका छन् । अध्यक्षले केही भाग दिनुभएको छ । सबै उनीहरूलाई दिने भन्ने हुँदैन ।”

झापा, मोरङ, महोत्तरी, सर्लाही, धनुषा, बारा, पर्सा र दाङमा अध्यक्ष ठाकुरनिकट जिल्ला अध्यक्ष बनेका छन् ।

यता, सप्तरीमा भने महतोनिकट सुनील झा जिल्ला अध्यक्ष बनेका छन् ।

यस्तै, सिरहामा भण्डारीनिकट रामदयाल यादव र कपिलवस्तुमा भण्डारीनिकट कैलाश अग्रहरी तदर्थ समितिअन्तर्गत जिल्ला अध्यक्ष बनेका छन् । रौतहटमा झानिकट लीलाप्रसाद साह अध्यक्ष बनेका छन् ।

प्रदेश–२ को अध्यक्ष पनि ठाकुरनिकट जितेन्द्रप्रसाद सोनल बनेपछि विवाद गहिरो बनेको हो । तर, महतो पक्ष भने यसलाई मान्न तयार छैन । १२ मध्ये अधिंकाश जिल्लामा पूर्वसद्भावना पार्टीनिकट नेताहरू नेतृत्वमा पुगेको दाबी उनीहरूको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro