site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखरको वरीयताले कांग्रेसमा तरंग : इतर पक्ष भन्छ– सभापतिले पहिलो बैठकबाटै गुटको बिजारोपण गरे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भएको छ । पार्टीमा परिवर्तन आवश्यक छ भन्दै पाँच वर्षदेखि संस्थापनइतरका नेताहरुले भाषण गरे पनि अन्त्यमा उनीहरुकै सहयोगमा सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन् । 

उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा संस्थापनइतर समूहबाट युवा अनुहारले प्रवेश पाएको छ । तर, सभापतिको चर्को विरोध गर्ने रामचन्द्र पौडेल र डा. शशांक कोइरालाको मौन समर्थन र प्रकाशमान सिंह तथा विमलेन्द्र निधिको खुला समर्थनबाट देउवा सभापतिमा दोहोरिएका हुन् । 

तिनै नेताहरुको सहयोगमा महाधिवेशनबाट केन्द्रीय समितिमा झन्डै ८२ प्रतिशत प्रतिनिधित्व बनाएका छन् । तर, देउवाले पाएको मत भने ६० प्रतिशत पुगेको छैन । तर, उनले झन्डै ४१ प्रतिशतको जनमतलाई नजरअन्दाज गर्दै शेखर कोइरालाको वरीयता भने २०औं नम्बरमा राखेपछि तरंग सिर्जना भएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेसको विधानअनुसार महाधिवेशनमा चुनाव लडेको सभापतिको निकटतम प्रतिद्वन्द्वी स्वतः केन्द्रीय सदस्य हुन्छ । त्यतिमात्र होइन संसदीय व्यवस्था मान्ने नेपाली कांग्रेसमा विपक्षी नेताको भूमिका पनि उसले नै निर्वाह गर्छ । यसअघिका महाधिवेशनपछिको अभ्यास नै हेर्ने हो भने पनि ४० प्रतिशत मत पाएका रामचन्द्र पौडेललाई नसोधी देउवाले अधिकांश काम गरेका छैनन् । भ्रातृ संस्थामा पदाधिकारी नियुक्तिको भागवण्डा होस् वा अधिवेशन पौडेलसँगकै छलफलमा तय गरेका छन् ।

तर, १४औं महाधिवेशनमा देस्रो चरणमा चुनाव जितेका देउवाले निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालालाई अहिलेसम्म सर्वदलीय बैठक हो्स वा पार्टीका आन्तरिक बैठक कतै पनि आमन्त्रण गरेका छैनन् । 

Royal Enfield Island Ad

सभापतिको चुनावमा पहिलो चरणमा ५० प्रतिशत मत नपुगेर दोस्रो चरणमा भिड्दा विपक्षमा लडेकाहरुको समर्थन लिएर जित्न सफल भएका देउवाले अहिले भने अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरु र प्रत्यक्षरुपमा सहयोग गरेकाहरुलाई सम्मान दिएका छन् भने महाधिवेशन प्रतिनिधिको झन्डै ४१ प्रतिशत समर्थन पाएका शेखर कोइरालालाई उनले ‘इग्नोर’ गरेको एक केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय समिति बैठकको एक दिनअघि सभापति देउवाले बालुवाटारमा चरण–चरणमा नेताहरुसँग छलफल गरे । छलफलमा पहिलो बैठकले कस्ता एजेन्डा पारित गर्ने, त्यसले देशभरी दिने सन्देश कस्तो हुनुपर्छ जस्ता विषयको छलफल खास हुन नसकेको केन्द्रीय समितिको पहिलो बैठकको निर्णयले देखाएको छ । केन्द्रीय समितिले गरेका निर्णय हेर्दा यो महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति जस्तो नभएर शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको नियमित बैठकजस्तै रहेको संस्थापनइतर एक नेताले बताए ।

कांग्रेस पदाधिकारीमा निर्वाचित भएका युवा नेताहरु गगन थापा र धनराज गुरुङले महाधिवेशनपछि विगतमा गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई र सुशील कोइरालाले शेरबहादुर देउवालाई गरेको व्यवहार सभापति देउवाबाट पनि शेखर कोइरालालाई हुनुपर्ने बताउँदै आएको स्रोतले जानकारी दियो । तर, सभापति देउवाले भने फरक शैली सुरु गरेका छन् । 

प्रवक्ता तोकिनसकेको हुँदा कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय महमन्त्री गगन थापाले सार्वजनिक गरेका थिए । बैठकका निर्णय सुनाउने क्रममा उनीमाथि नै वरीयताका विषयमा प्रश्नहरु उठाइएको थियो । त्यसको जवाफमा थापाले विधानले नियकटतम प्रतिद्वन्द्वीलाई केन्द्रीय सदस्य स्वतः हुने व्यवस्था भए पनि वरीयता सभापतिले तोक्ने जानकारी दिए । 

“सभापतिको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको विधानअनुसार स्वतः केन्द्रीय सदस्य हुन्छ । उहाँलाई सभापतिले नियुक्त गर्नु पर्दैन,” थापाले भने, “तर, वरीयता तोक्ने अधिकार सभापतिलाई हुन्छ । उहाँको कन्साइनले जे देख्यो त्यो वरीयता तोक्नु भएको हो ।”

शनिबार कांग्रेस सभापति शेरबहादु्र देउवाले पहिलो बैठक अघि निर्वाचितहरुको प्रमाणपत्र वितरण समारोहको समापन सम्बोधनमा आफूलाई भोट नहाल्नेहरुको पनि सभापति भएको दावी गरे । 

“मलाई भोट होल्नुभयो, मलाई विश्वास गर्नुभयो । म सबैको विश्वास समेट्ने गरेर निष्पक्ष रुपमा पार्टीलाई अघि बढाउने छु,” देउवाले भनेका छन्, “म सबैको भावनाको कदर गरेर पार्टीलाई अघि बढाउनेछु । मलाई भोट नहाल्नेहरुको पनि म सभापति भएर काम गर्नेछु ।” 

देउवाले त्यसो भनेको १५ मिनेटपछि राखेको केन्द्रीय समिति बैठकमा देउवाले वरीयता भने आफ्नो प्रतिद्वन्द्वीलाई २०औँ नम्बरमा दिएर सुरु गरेका छन् । 

“सभापतिजीको बोली र व्यवहार एउटै देखिएन । उहाँ सबैलाई समेट्छु भन्दै विपक्षमा आएको मतलाई स्याबोटाइज गर्न लाग्नुभयो,” कांग्रेसका एक पदाधिकारीले बैठकपछि भने, “उहाँले आफ्नो विपक्षमा रहेका शेखर नेतृत्वको समूहलाई छिन्नभिन्न पारेर एकलौटी गर्न सकिन्छ कि भन्ने अभ्यास पहिलो बैठकबाटै सुरु गर्नुभयो ।” 

उनका अनुसार विगतमा विपक्षमा रहेका रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंहलाई चित्त बुझाउँदा शेखर समूह छिन्नभिन्न हुन्छ भन्ने विश्वासमा सभापति परेका छन् । तर त्यसले उल्टो परिणाम दिने उनको भनाई छ । 

“सभापतिले भनेजस्तै सबैलाई समेटेर अघि बढ्नुपर्ने हो । किनभने अब उहाँलाई गुट आवश्यक पनि छैन,” ती पदाधिकारीले भने, “सभापति देउवाले शेखरसँग रहेका मान्छे छिन्न भिन्न पार्छु भनेर लाग्नुभयो भने त्यसले गुटको रुप लिन्छ । गुट भएपछि बार्गेनिङ हुन्छ । बागर्नेनिङले इगो जन्माउन सक्छ । पार्टीभित्रको इगोले निर्वाचनमा पराजयसम्म पुर्‍याउने जोखिम हुन्छ ।” 

उनका अनुसार सभापति निकट रहेकाहरु गुटबन्दी गराएर आफ्नो हाली मुहाली गर्ने सोचमा रहेको भन्दै सभापति त्यही सोचको शिकार हुने जोखिम पहिलो बैठकबाटै देखिएको बताए । 

राजनीतिक विश्लेषकहरु कुनै पनि नेताको विगत र भविश्यप्रतिको योजनाले उसको वर्तमानको मूल्यांकन हुने भन्दै शेरबहादुर देउवाको विगतबाट धेरै राम्रो हुने अपेक्षा गर्न नसकिने बताउँछन् । 

विगत जस्तो भए पनि सुधार हुनु कांग्रेस र देशका लागि आवश्यक भएपनि कस्तो हुने भन्ने कुरा भने देउवाकै हातमा रहेको उनीहरुको बुझाई छ । 

“कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु नै डिजाइनमा आउने व्यवस्था छ । डडेलधुरामा सभापति देउवाविरुद्ध अनसन बस्ने पक्षले विमलेन्द्र निधिलाई समर्थन गर्‍यो । उ आफू अधिवेशनको प्रक्रियाबाट बाहिर रह्यो । तर, केन्द्रीय महाधिवेशनमा उनै निधिले देउवालाई समर्थन गरिदिए,” विश्लेषक हरि शर्माले भने, “अब कांग्रेस कस्तो बन्छ भन्ने कुरा नयाँ कार्यकालका लागि अनुमोदित भएका देउवा कसरी अघि बढ्छन् भन्ने कुराबाट निर्धारित हुन्छ । त्यो भन्दा बढी कांग्रेसले कस्तो विचार बोक्न र जनताले आस गर्नुपर्ने के काम गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।” 

उनले आफ्नो विपक्षमा लडेको नेता, टिम र विपक्षी मतदातालाई सभापतिले सम्बोधन गर्ने र समेट्ने कुरा कांग्रेसको भविश्यसँग जोडिने बताए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro