काठमाडौं । चारपटकको विजेता नेपाल पुलिस क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिग रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको फ्रेन्ड्ससँग गोलरहित बराबरी खेलेको छ ।
बराबरीपछि ६ खेलबाट ६ अंक जोडेको नेपाल पुलिस आठौँ स्थानमा छ । पुलिस क्लबले पाँचौँ स्थानको सातदोबाटो युथसँग अंक बराबरी गर्ने मौका गुमायो । त्यस्तै फ्रेन्ड्सले पनि रेलिगेसन क्षेत्रबाट माथि उक्लने मौका गुएको छ । फ्रेन्ड्सले ६ खेलबाट तीन अंक जितेको छ । छैटौँ चरणसम्म जितबिहीन हुने फ्रेन्ड्स एक्लो टोली हो ।
फ्रेन्ड्सका नाथनियल गार्सियाले १२औँ मिनेटमा पहिलो बार च्यापेर हानेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाएका थिए । २९औँ मिनेटमा पुलिसका तेज तामाङको फ्रीकिकमा मानबहादुर परियारले हेडमार्फत दिएको पासमा सुमन लामाले हानेको प्रहार बार नजिकैबाट बाहिरिएको थियो ।
४५औँ मिनेटमा पुलिसलाई भाग्य साथ दिएन । मानबहादुरको लामो पासमा रवि पासवानले हानेको ‘एक्रोबाइटिक सट’ क्रस बारमा लागेर फर्किएको थियो ।
८१औँ मिनेटमा पुलिसका सुमनको कर्नरमा भोलानाथ सिलवालको हेड प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले खुट्टाले बचाएका थिए । सोही बलमा फ्रेन्ड्सका रक्षकले क्लियर गर्दै दिएको लामो पासमा एन्थोनियल काउन्टर अट्याकमा गोल गर्न चुके । उनले ‘वान भर्सेज वान’को अवसर खेर फाले । पुलिसका गोलकिपर शत्रुधनले पेनाल्टी बक्स बाहिर आएर बल क्लियर गरिदिएका थिए ।