काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्ने भएको छ । पुनर्निर्माण सम्पन्न भएको करिब दुई वर्षपछि आज महानगरलाई हस्तान्तरण गर्न लागिएको हो ।
रानीपोखरीको ऐतिहासिकता झल्काउने गरी ०७४ पुस १३ गते काठमाडौं महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागको संयुक्त बैठकले अध्ययन समिति बनाएको थियो । सोही समितिको प्रतिवेदनका आधारमा प्राधिकरणले ०७५ फागुनदेखि पुनर्निर्माणको काम अगाडि बढाएको थियो ।
करिब दुई वर्षको समयावधिमा पुनर्निर्माणको काम सम्पन्न गरिएको थियो । पुनर्निर्माण सम्पन्न भई ०७६ कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।
पोखरी पुनर्निर्माणका लागि नौ करोड ५४ लाख र मन्दिर तथा वरिपरिको सौन्दर्यकरणका लागि करिब १५ करोड गरी झन्डै २५ करोड रुपैयाँ लागतमा पोखरी पुनर्निर्माण गरिएको छ ।
तत्कालीन राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तिन्द्र मल्लका नाममा वि.सं. १७२५ सालमा रानीपोखरी बनाउन लगाएका थिए ।