काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आज पनि सहमहामन्त्री पदको मतगणना गरिँदै छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले मतपेटिका खोलिँदै छ । अब केही बेरमै मतगणना सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार अहिले तीनवटा क्लष्टरको मतगणना गर्न लागिएको छ । मुस्लिम, मधेसी र खसआर्यतर्फको मतगणना हुन लागेको हो । नौ ठाउँमा मतगणना हुनेछ ।
खसआर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे, मधेसीतर्फ महेन्द्र यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव तथा मुस्लिमतर्फ फरमुल्लाह मन्सुर र शेख वकिल प्रतिष्पर्धामा छन् ।
यसअघि, बिहीबार महिला, आदिवासी जनजाति र दलिततर्फको सहमहामन्त्रीको मतगणनापश्चात् नतिजा सार्वजनिक भइसकेको छ । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।
आठमध्ये हरेक क्लष्टरबाट एक/एकजना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गएको सोमबार भएको निर्वाचनमा कुल ४६८२ मत खसेको थियो ।