काठमाडौं । जर्मन सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको ४१ लाख डोज खोप हस्तान्तरण गरेको छ ।
नेपालका लागि जर्मनका राजदूत डा. स्टेफन रुसेकले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोर्डना र जोन्सन एन्ड जोन्सन गरी ४१ लाख ४२ हजार २५० डोज खोप हस्तान्तरण गरेका हुन् । जर्मन सरकारले कोभ्यास सुविधामार्फत उक्त खोप नेपाललाई उपलब्ध गराएको हो ।
मोडर्ना खोप यही पुस ४ गतेदेखि देशभरका १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई लगाइँदै छ ।
यस्तै, आजै थप सात लाख १९ हजार ६५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालले पाउने जम्मा २१ लाख ७६ हजार जोन्सन खोपमध्ये पहिलो चरणमा सात लाखभन्दा बढी डोज जोन्सन खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।