काठमाडौं । नेपाली महिला युवा फुटबल टोलीले आज यू–१९ साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
बंगलादेशको ढाकास्थित बीर श्रेष्ठ शाहीद शाइपही मोस्तफा कमल रंगशालामा नेपालले घरेलु टोलीसँग बराबरी खेल्दै अंक बाडेको हो । नेपाल बंगलादेश पछिल्लो संस्करणमा उपाधि लागि प्रतिस्पर्धा गरेका थिए । भुटानमा सम्पन्न उक्त खेलमा बंगलादेशले नेपाललाई १–० ले हराएको थियो ।
नेपालका प्रशिक्षक हरिओम श्रेष्ठले गत संस्करणको फाइनलमा हारेको बदला लिने बताएका थिए । तर नेपाली टोलीले एक अंकमा चित्त बुझाउनु परेको छ ।
आजै सोही मैदानमा सम्पन्न पहिलो खेलमा भुटानले श्रीलंकालाई ५–० ले हरायो ।
पाँच टोली सहभागी प्रतियोगिता राउन्ड रोबिन लिग पद्धतिमा खेलाइएको छ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले प्रतिस्पर्धा गरेका छन् ।
नेपालले दोस्रो खेल मंसिर २९ गते श्रीलंका, पुस २ गते भुटान र पुस ४ गते भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।