जनकपुरधाम । प्रदेश–२ मा नेपाली कांग्रेसको प्रदेश अधिवेशन स्थगित भएको छ । सोमबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत प्रदेश २ को निर्वाचन संयोजक रमेश रिजालले तत्काल प्रदेश २ को अधिवेशन स्थगित भएको बताएका हुन् ।
“परिस्थिति काबुभन्दा बाहिर गएको हुनाले सहमतीमा प्रदेश अधिवेशन स्थगित गरिएको छ । छिट्टै महाधिवेशनपछि कार्य समितिको निर्वाचन हुन्छ,” उनले भने । केन्द्रीय महाधिवेशनपछि अधिवेशन हुने बताइए पनि यकिन मिति उनले बताएनन् । प्रदेशको तीन जिल्लाबाट मतदाता नामावली नआएका कारण प्रदेश अधिवेशन स्थगित भएको हो । सर्लाही, महोत्तर र बाराका एक–एक निर्वाचत क्षेत्रबाट मतदनाता नामावली आउन नसकेको रिजालले जानकारी दिए । बाँकी रहेको जिल्लाको सबै काम दुई÷तीन दिनमा टुङ्गिने उनले दाबी गरे ।
प्रदेश–२ को अधिवेशन मंसिर १७ गते उद्घाटन भए पनि तत्काल हुन नसक्ने निर्वाचन समितिले जनाइसकेको छ । उद्घाटनको पाँच दिन पश्चात समितिले आवश्यक तयारी नपुगेको हुनाले स्थगित गरेको बताएको छ ।