उसले केही समयका लागि योग सिकाउने मान्छे घरमा ल्यायो । अस्पतालका नर्स र डाक्टरलाई रोगबारे सम्झायो । काम सघाउन गाउँको केटोलाई लिएर आयो । खाने–बस्ने सबै व्यवस्था गर्यो ।
‘अब पिर नलिनु होला । हरेक दिन फोनमा कुराकानी गरिहाल्छु,’ छोराले वचन दियो ।
...
दुई दिनपछि गाउँको मक्किएको बूढो घरमा एक दम्पती भित्रिए । यी तिनै दम्पती थिए, जसका लागि माथिका सबै चिज व्यवस्था गरिएको थियो । बूढाबूढी र केटाकेटी कुरा सम्झेबुझेजस्तो गर्छन् । तर, मनोमानी आफ्नै गर्छन् । ती बूढाबूढी पनि जिद्दी थिए, तसर्थ मनोमानी त गर्ने नै भए ।
बा–आमा गाउँ फर्किएकै दिनदेखि छोराको सम्पर्क टुट्यो । ती दुई बूढाबूढीलाई आफू दुईबाहेक अरू को चाहियोस् ! भत्किएका भित्ता, पटाहा र कोठा मिलेर लिपपोत गरे । बाँझिएको बारीछेउको सानासाना बिरूवा ढालेर दाउराको खलियो बनाए । दैलोबारी बारे । अनि, त्यसमा सागपात र लसुनप्याज रोपे ।
मान्छेलाई बाँच्नका लागि के चाहिन्छ ? स्वस्थ हावापानी, एकमुठी खाना, आनन्दको निद र अलिकति सुरक्षाको आभास । मान्छेको दौड । तँभन्दा म माथि ! मान्छेको मान्छेमाथिको शासन ! यी सब क्षणभंगुर तथा मिथ्या हुन् । यी बूढाबूढीले पनि बैँसमा कम्ता दौडधुप गरेनन् । एकछाक दालभात, अलिकति प्रतिष्ठा, अरूभन्दा कम नदेखिने कोसिसका खातिर संघर्ष गर्दागर्दै तिनलाई रोगले पछारिदियो । हेर कत्राकत्रा मान्छे र कस्ताकस्ता परिस्थितिले समेत गिराउन नसकेको आत्मबल नाथे रोगले गिराइदियो ।
हुन त गिर्नु शब्द उति निच होइन । जस्तो कि गिर्नुलाई निच मानिन्छ । सत्यसत्य, गिर्नु साह्रै दयनीय अवस्था हो । गिरेपछि उठ्नु भनेको बच्चैमा लडेपछि उठ्नु या हिलोमा पछारिएपछि उठेर सफा गर्नुजस्तो सामान्य होइन । कमजोर मान्छे गिरेपछि उठ्ने हिम्मत गर्दैनन् ।
प्रेसर, सुगर र दम । यी उस्तो छिटो जिन्दगी छिनिहाल्ने रोग त मानिन्नन्, तर यी रोगसँगै बाँच्न सहज कहाँ हुनु ? उसैमाथि गाउँमा नजिक स्वास्थ्यचौकी छैन र औषधि पनि पाइँदैन । भनेजस्तो दालभात र तरकारी पनि पाइँदैन । सजिलो बाटो र स्वस्थ खानेपानीको व्यवस्था छैन । कुवाको जमेको पानी पिउनु र दम फुलाउँदै घण्टौँ हिँडेर स्वास्थ्यचौकी पुग्नु सहज कहाँ हुनु ?
एक दिन छोरा, छोरी, बुहारी, बहिनी र छोरीज्वाइँ बूढो घरमा जम्मा भएर बूढाबूढीलाई पोखरा लैजाने सल्लाह गरे । ती बूढाबूढी पोखरा जान तयार थिएनन् । छोराछोरीचाहिँ बा–आमालाई गाउँमा छोड्न तयार थिएनन् । भिरालो ठाउँमा घर छ । तलतिर खोल्सा छ । मान्छे या ढुंगा लड्यो भने एकैचोटि खोल्सामा पुग्छ । दशकौँ पुरानो मक्किएको घर छ । त्यो जतिसुकै बेला पनि ढल्न सक्छ । उसैमाथि वनका बाघ र भालुको डर छ । सौँसाँझै स्यालहरू घरमुन्तिर कराउँछन् । बाघले कुकुर र बाख्रा खाइदिन्छ । गाउँका प्रायःजसो घरहरू रित्तिइसके । ती घर ढलेका त छैनन्, तर घामपानी र हावाले गर्दा छाना झर्ने अवस्थामा छन् । यस्तो ठाउँमा आमा–बालाई मात्र छोडेर जान किन सक्थे !
तर, छोराछोरीले आमा–बालाई मनाउन सकेनन् । अनि, तिनीहरूले बाचा गरे— तिनले यस वर्षभित्रैमा आमा–बाका लागि गाउँमै अर्को सुरक्षित बासको व्यवस्था गर्नेछन् ।
...
साँझ पर्नेबित्तिकै घरछेउको खहरे खोला सुसाउँथ्यो । सुसाउन त दिनमा पनि सुसाउँदो हो, तर ती बूढाबूढीले रातमा अत्यधिक सुसाएको चाल पाउँथे । कान्छी छोरीले ल्याइदिएको कुकुर्नी पनि साँझ परेपछि पटाहामा बसेर भुक्थी । त्यसलाई पनि बूढाबूढीसँग न्यानो भएर सुत्न मन लाग्दो हो । बाघको पनि डर लाग्दो हो । जे होस्, ती बूढाबूढी पटक्कै निदाउँदैनथे । तिनले रातभरि मुसाहरू भद्र्याकभुद्रुक उफ्रिएको चाल पाउँथे । गाउँतिरबाट आएको ढाडे बिरालोले मुसा छोप्न चाल मारेको पनि थाहा पाउँथे । थाहा पाउँदैनथे त छोराछोरीको सन्चोबिसन्चो र गाउँतिरको खबर मात्रै । हुन पनि छोराछोरी परदेश थिए । गाउँले नजिकै थिए र पनि बूढाबूढी गाउँ डुल्दैनथे । छिमेकी र गाउँले पनि ती बूढाबूढीलाई खोज्दै आउँदैनथे । काम गर्ने गाउँको केटोले सामान ल्याइदिन्थ्यो, तर गाउँको खबर ल्याइदिँदैनथ्यो ।
मुसा, बिरालो र कुकुर्नीले पनि ती बूढाबूढीको घ्यारघ्यार आवाज चाल पाउँथे । दमको ख्वाङख्वाङ खोकी त झन् परैबाट चाल पाउँथे । तिनलाई बूढाबूढीको दमको खोकी र घाँटीको घ्यारघ्यार आवाजले कम्ता मनोरन्जन दिँदैनथ्यो ।
बिहान चार नबज्दै गाउँतिर कुखुरा बास्थ्यो । घर मास्तिर वनमा चराहरू कराउँथे । काफल पाक्यो चरी पनि बिहानबिहानै ‘काफल पाक्यो’ भाका गाउँथी । मुसा, बिरालो र कुकुर्नी भने बिहानीपख निदाउँथे । अनि बल्ल बूढाबूढीका आँखा लोलाउँथे । बिहान काम गर्ने केटोले ढोका नबजाएसम्म ती निदाइरहन्थे ।
दिन उस्तो मुस्किल मान्दैनथे, तर रात नआएदिए हुन्थ्योजस्तो लाग्थ्यो । दिनमा घरछेउका रूखहरूसँग र सेतो कालो थोप्ला भएको कुकुर्नीसँग कुरा गर्दै बिताउँथे । तर, रातमा कोसँग कुरा गर्नु ?
...
एक दिन गाउँकी कमली सर्किनी आइन् । सर्किनीसँग ऊ बेला मेलापात र अर्माेपर्माे चल्थ्यो । दुःख–सुख चल्थ्यो, तर छोएको खानेकुरा र पानी चल्दैनथ्यो । सर्किनीको घर आउजाउ रोकिएको त्यति नै भयो जति ती बूढाबूढीलाई दमले छोएको भयो ।
‘ए सर्किनी नानी, तिमी त बूढी भइछौ !’
बूढाको कुरा सुनेर सर्किनीले गिजा देखाएर हाँस्दै भनिन्, ‘ए क्षेत्री बा, तिमी तन्देरी भएर के गर्छाै ? गाउँ डुल्न छोडिहाल्यौ !’
बूढा थोते दाँत देखाएर हाँसे । सर्किनीले थपिन्, ‘तिम्रा छोरछोरीले त पैसा कमाए, घरजग्गा जोडे, हाम्रा मुर्दारहरूले त स्वास्नीको लागि एकसरो गहना जोड्न पनि सक्या छैनन् । गाउँतिर हल्लीहल्ली हिँड्चन् । भोक लायो भने दाँत देखाउँदै आउँचन् ।’
बूढाले भने, ‘कमाउन सक्या छैनन् र पो तिमीसँगै छन् । कमाउन थालेपछि त बा–आमा पनि छोड्चन् । हाम्रा छोराछोरीलाई हेर न, बा–आमाको खबर सोध्न पनि भ्याउन्नन् । खान पनि भ्याइनभ्याई हुन्च भन्चन् ।’
सर्किनी फर्किने बेला बूढाले थपे, ‘कैलेकैले यसो आउने गर है नानी । गाउँको खबरखाबर बोकेर आउने गर न । साह्रै बिरानो भयौँ हामी त ।’
सर्किनी ‘हुन्छ’ भन्दै बाटो लागिन् । बूढीचाहिँ उनी गएतिर हेरिरहिन् ।
साँझ केटो केट्लीमा दूध बोकेर आयो । घरआँगन र पटाहा बढारेर गयो । खासमा उसलाई घर कुर्नका लागि राखेका थिए बूढाबूढीका छोराछोरीले । तर, बूढा आफैँले साँझ बिहान घरधन्दा सकेर आफ्नै बा–आमासँग गएर सुत्न भनेका थिए । बूढाले दिउँसोचाहिँ स्कुल जानू भनेर सम्झाउँथे केटोलाई ।
रात परिहाल्यो । सौँसाँझैँ घर मास्तिर वनमा स्याल रून थाले । घरभित्रचाहिँ मुसाहरू उफ्रिन थाले । ती बूढाबूढी चुपचाप एकअर्कालाई पिठ्यूँ फर्काएर पल्टिइरहे । भर्खर सात बज्न लागेको थियो । निदाउन त के सकून् ! गोडातिर ढाडे बिरालो बसिरहेथ्यो । त्यसको सम्पूर्ण ध्यान मुसाहरूतिर थियो । मौका मिल्नेबित्तिकै त्यसले मुसा छोप्नेछ र कर्यामकुरूम पारेर चपाउनेछ । केके न मै हुँ भन्ठानेर भित्ता खोतलखातल पारिरहेका मुसाहरू बिरालोको पन्जामा पर्नेबित्तिकै तिनको अस्तित्व सकिइहाल्छ ।
...
एक दिन बूढी मरिन् । छोरा, बुहारी, छोरी र ज्वाँइहरू आए । आँसु बगाए । बूढा भने रोएनन् । तिनले बूढा बालाई फेरि पनि गाउँ छोड्न अनुरोध गरे । बूढाले भने, ‘यो हिउँद काटेछु भने जाम्ला ।’
काजक्रिया सकिएको केही दिनमै फेरि बूढा बा एक्लिए । घर पारिपट्टि डाँडाको एक्लो पीपल हेर्दै बूढा टोलाइरहन्थे । रातमा भने मच्छड, मुसा, कुकुर्नी र ढाडे बिरालो साथी हुन्थे ।
बूढी मरेको महिना दिनपछि बूढा गाउँ डुल्न निस्किए । साथमा छोरीले ल्याइदिएको बेलायती कुकुर्नी पनि थिई । माझघरे साने, मंगलेको आरन र मुखिया नारानको रित्तो घर हुँदै कमली सर्किनीको घर पुगे । तिनको घरको आँगनमा केटाकेटी खेलिरहेका थिए । छोरा–बुहारीहरू पटाहामा रेडियो सुन्दै बसिरहेका थिए । बूढालाई देख्नेबित्तिकै निला गिजा देखाउँदै सर्किनी आइन् र चकटी दिँदै भनिन्, ‘ए क्षेत्री बा, आज कताबाट बाटो बिरायौ ?’
बूढा फिस्स हाँसेर भने, ‘गाउँको खबर के रैछ भनेर हिँडेको नि । तिमी पो हाम्रोतिर आउन छोड्यौ ।’
‘काँ फुर्सद हुन्च र गाउँ डुल्नलाई ? यी छोउँडाहरूलाई पकाइतताइ खुवाउन परिहाल्यो । अचेल पहिलेजस्तो उस्तो हिँड्न नि सौतिन । तेजेका बा खसेदेखि उस्तो मन नि यताउता लाउँदैन ।’
‘तिमी पनि उमेरमै बूढी भयौ । मेरै छोरीको उमेरको मान्चेले हिँड्न सौतिन भन्न सुहाउँच ?’
‘नसुहाएर के अर्चौ त बा ? मुर्दारको घुँडा दुखिरन्च । एक पाथी खान्चु तैपनि ताकत आएर मर्दैन !’
‘अन्डा, मासुभात, दूधदही प्रशस्त खाने गर । काल छल्न पनि अलि पोषिलो खान पर्च ।’
‘कहाँबाट आउँच मिठोमसिनो सधैँ मलाई भनेर ? मिठोमसिनो जति यी छोउँडाहरूलाई रूच्च । म बूढीलाई पेट भर्न पाए पुग्च ।’
बूढाले सर्किनीका छोरा–बुहारीले नसुन्ने गरी सुस्तरी भने, ‘दिनदिनै आउने गर हाम्रोमा । मैले सबै खाइसक्दिनँ ।’
सर्किनी खिसिक्क हाँसिन् ।
बूढा उकालो लागे । पुच्छर हल्लाउँदै कुकुर्नी पनि बूढाको पछि लागी ।
घर पुगेपछि गनगनाए, ‘यो केटो कता मुन्टिएछ ?’
बूढा गनगनाउनु र केटो आइपुग्नु एकैचोटि भयो । उसले दूध तताएर गिलासमा राखेर बूढालाई दियो । तातो दूध लिएर बूढा पटाहामा टुक्रुक्क बसे । केटो भाँडा बजाउँदै भित्र कामधन्दा गर्न लाग्यो । भित्र भाँडाकुँडाको आवाजसँगै केटोले गाएको पनि सुनिन्थ्यो । केटोले गाएको बूढालाई मन परेछ । सुनेर मुस्कुराउँदै भने, ‘केटो तँ पढ्ने पनि गर्चस् कि गाउँचस् मात्रै ?’
‘अघि दीपक दाइले फोन गर्नुभाथ्यो । हजुरले फोन उठाउनुभएन अरे ।’
बूढाले खल्ती छामे । मोबाइल त छुटेछ ।
‘तल कमलीकोमा छुटेछ । भोलि आउँदा लिएर आइजा है ।’
केटो ‘हवस्’ भन्दै फेरि व्यस्त हुन थाल्यो । बूढाले अझै दूध अलिकति पनि खोट्याएका थिएनन् । बूढाले दूधबाट उडिरहेको तातो बाफ हेरिरहे । त्यै बेला माखा बस्यो तातो दूधमा । लगत्तै मरिहाल्यो । बूढा मुसुक्क हाँसेर बोले– थुप्रो खान पसेको मुर्दार !
बूढाले माखा पसेको दूध माटोमा खन्याइदिए र भने, ‘ए केटो ! दूध बाँकी छ नि ?’
केटोले दूध बाँकी रहेको जानकारी दियो ।
‘तँ खा त्यो । अलिकति ढाडे बिरालो र कुकुर्नीलाई पनि राखिदे ।’
केटो मुस्कुरायो र मनमनै भन्यो– धन्न यी बूढाले मुसा र मच्छडको लागि पनि राखिदे भनेनन् !
अँध्यारो हुने बेलामा सास फुलाउँदै सर्किनी आइन् । र, भनिन्, ‘क्षेत्री बा, तिमी पनि बूढो भएछौ ।’
बूढा फिस्स हाँसेर मोबाइल लिए । एकछिन कुरा गरेर सर्किनी गइन् ।
बूढालाई खुवाइवरी केटो घर फर्कियो । बूढा भने ओछ्यानमा पल्टिए । मुसा, मच्छड र बिरालो आफ्नो काममा लागे । बाहिर कुकुर्नी पनि भुक्न लागी ।
...
हिउँद सकिन लाग्यो । बूढाले ‘हिउँदसम्म बाँचे गाउँ छोडेर नातिनातिना, बुहारीसँग पोखरा जाउँला’ भनेका थिए । तर, बूढाले श्रीमतीको मृत्युपछि एक हिउँद सजिलै कटाए । थाहा छैन अझै कति हिउँद बिताउने हुन् । बूढालाई गाउँ छोड्न मन छैन । बूढाको लागि पोखरामा बसेकी बुहारी पनि अन्जान हो । नातिनातिना झनै अन्जान भइहाले । ती वर्षाैँ बिराएर गाउँ आउँदा पनि पोखरा फर्किन हतार गर्थे । बूढाबूढीसँग बस्न मन गर्दैनथे । बूढाका लागि त झन् पोखरा नाउँ नै अपरिचित हो । पहिले एकचोटि महिना दिन बस्दा पोखरालाई चिन्न सकेका थिएनन् उनले । त्यहाँको रहनसहन हावापानी आफू सुहाउँदो छ÷छैन बूढालाई थाहा छैन । पोखरा नजानका लागि बूढा मरिहाल्नुपर्छ । तर, बूढालाई मर्न मन छैन । उनलाई मुसा–बिरालोको खेल, जहाँ गए पनि पछ्याउने कुकुर र कमली सर्किनीको आफ्नोपन मन पर्न थालेको छ ।ं आफ्ना भनेका छोरा–बुहारी, छोरी–ज्वाइँ र नाति–नातिनासँग कहिल्यै आत्मीयता कायम हुन पाएन । तिनीहरूले यस्तो खाऊ, यस्तो गर र यस्तो नगर भनेर दर्शाउने आफ्नोपनमा उस्तो आफ्नोपन भेट्दैनन् उनी ।
छोराछोरीले हिउँदको कुरा बिर्सेछन् क्यारे ! बूढालाई पोखरा लैजाने कुरा निकालेनन् । बूढाकी श्रीमती नमर्दै तिनले गाउँमै सुरक्षित बासको व्यवस्था गर्ने कुरा पनि गरेका थिए । त्यो त उहिल्यैको कुरा खुइले भयो, तर तिनले एक हिउँदअघिको कुरा कसरी बिर्से ? गाउँको मक्किएको घर, एक्लो बाको खबर लिन तिनीहरूले कसरी बिर्से ? लौ मानौँ, बूढा त जिद्दी थिए रे । बुहारी, नाति–नातिनासँग बूढालाई पोखरा जान मन लागेन रे । तिनले दुईपटक, चारपटक मात्र हैन, सयौंपटक फकाउनु पर्थ्यो नि । तिनका आमा–बाले सानोमा खान, स्कुल जान नमान्दा एक–दुईपटक फकाएर मानेन भनेर त्यसै छाडेका थिए र ? तिनलाई पटकपटक को खाई को खाई गरेर, गालीले–मायाले फकाएर खुवाएर पखेटा हालीवरी उड्न सक्ने बनाएका होइनन् ?
तीनवटा हिउँद बिते । खेताला लगाएर भए पनि बूढाले घरको चर, खटप्वाल देखिन दिएनन् । खर पनि बर्सेनि फेरिरहे । तर, उकालो उक्लिइरहेका बूढा र त्यो घर देख्दा उस्तो कमजोर नदेखिए पनि ती दुवै कमजोर थिए ।
...
हावाहुरीको मौसम । बूढाका लागि पकाइतताइवरी खुवाएर सौँसाँझैँ केटो आफ्नो घरतिर लाग्यो । हावाहुरीको छाँट देखिँदैथ्यो । बूढाले चुल्होमा पानी हालेर आगो निभाए । सधैँ बाहिर बाँध्ने कुकुर्नीलाई पनि छोडिदिए । अनि, ओछ्यानतिर लागे ।
मच्छड बूढाको कानमा कराउन थाले । मच्छडको गुनगुन र टोकाइ त बूढाका लागि सामान्य नै थियो । बूढा गनगनाए– खाओ बाबै खाओ । बूढो शरीरमा रगत बाँकी रहुन्जेल खाओ ।
मुसाहरू पनि भित्ता र भुइँ खन्दै भद्र्याकभुद्रुक गर्न थाले । बिरालोचाहिँ थाहा नपाएजस्तो मुसा छोप्ने दाउ पर्खिइरहेको थियो । बूढा फेरि उसैगरी गनगनाए– नसताओ न बाबै । भित्ता बाँकी नराख्ने भयौ तिमीहरूले !
तर, तिनले बूढालाई टेर्थे कहाँ र ? बाहिर पनि गड्याङगुडुङ र हुरूर्र आवाज गर्न थाल्यो । बूढाको मन हल्लियो । उठेर भाग्न मन लाग्यो बूढालाई, तर भागुन् कता ? नजिकै घर छैन । तीन–चार मिनेटको दूरीमा भएको छिमेकीकोमा पुग्नुअगावै बूढो शरीर उडाउन सक्छ हावाले । बूढाले आफैँसँग भने– छानो त पक्कै उडाउन्न होला । गारो ढलेर मलाई किच्दैन होला । किचे पनि के नै हानि छ र ? नाफाको जिन्दगी हो, गए गैजाला ।
बूढा सिरक ओढेर खाटमा पल्टिए । बिरालो म्याउ गरेर बूढालाई हेर्यो । त्यसले मुसा मार्ने दाउ बिर्सिएछ क्यारे । मुसाहरू भने यताउता कुदिरहे । ती बिरालोको म्याउसँग डराएनन् । बूढा जुरूक्क उठेर लौरोले खाटमा हान्दै बोले– यी मुसाका जात कति खन्न सकेका ? दिनदिनै पाथीका पाथी माटो फालेर कति सक्नु ? तिमीहरूले खन्ने अन्त ठाउँ पाएनौ ? मै बूढोको बूढो घरको भित्ता र भुइँ खनेर ढलाउन खोजेछौ ?
मुसाहरूले बूढाको कुरा के बुझ्थे ! बूढाले जति कोसिस गरे पनि मुसालाई छोप्न या मार्न सक्ने होइनन् ।
बूढा खाटमा पल्टिएर आफैँसँग फेरि बोले– यसरी हुन्न । अब भोलि मुसाको दबै ल्याएर नथापी भएन ।
त्यै बेला उत्तरतिरबाट आएको हुरीहावाले घरको छानो उडायो । बूढा आत्तिँदै खाटमा उठेर चिच्याए । झन्झन् हावाहुरीसँगै असिनापानी पर्न थाल्यो । मुसा मार्न दाउ गरिरहेको ढाडे पनि झ्यालबाट फुत्त भाग्यो । मुसाहरू पनि प्वालमा छिरे । त्यो देखेर बूढाले भने– जाओ बाबै ज्यान बचाओ ।
बाहिर कुकुर जोडजोडले भुक्न थाल्यो । घरनेरको सिसौको रूख पनि टुप्पोले भुइँ छोइएला जस्तै हल्लिइरहेको थियो ।
बूढाले ढोका खोलेर बाहिर निस्कने भेउ पाएनन् । सिरक ओढेर उनी घोप्टो परे । असिनाले चुटे पनि सिरकले छेकेको थियो ।
आधा घण्टासम्म असिनापानी र हावाहुरी चलिरह्यो । जाडोले काम्दै उठेर बूढाले आकाशतिर हेरे । हुरीले बादल उडाएछ । टहटह जून लागिरहेथ्यो । बूढाले मनमनै मुस्कुराउँदै आफैँसँग भने– भोलि नै छोरालाई फोन गरेर पोखरा लगिदे बाबु भन्छु ।
ठिक त्यै बेला ढुंगा र माटोको गारो बूढामाथि खस्यो । केही छिन बूढो शरीर चल्मलायो, तर फेरि छिनमै त्यो चल्मलाउन छोड्यो ।
भोलिपल्ट बिहानै केटो आयो । बूढामाथि ढुंगाको थुप्रो थियो । मुसाले निकालेका अरू तीन–चार थुप्रा नयाँ माटो पनि थियो । बाहिर बेलायती कुकुर्नी नमिठो आवाज निकालेर भुकिरहेकी थिई ।
०००
कथाकार परिचय
(रामपुर–४, पाल्पामा जन्मिएकी स्वप्निल नीरव कथा लेखनमा निरन्तर सक्रिय छिन् । कथा, कविता, मुक्तकसमेत लेख्दै आएकी उनको ‘उज्यालोतिर’ कथासंग्रह प्रकाशित छ । विभिन्न विधामा उनका फुटकर रचनाहरू प्रकाशित हुँदै आएका छन् ।)