विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले लैंगिक हिंसाविरुद्धको अभियान गाउँ–गाउँमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । उनले अभियानलाई गाउँ–गाउँमा पुर्याउन सके लैंगिक हिंसा अन्त्य गर्न सकिने बताए ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहीबार विराटनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने साझा अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले सो कुरा बताए । सरकारले मात्रै अभियान सञ्चालन गर्दैमा लैंगिक हिंसा अन्त्य गर्न कठिनाइ हुने भएकाले आ–आफ्नो तहमा सबै निकायले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
“घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ अभियान सुरुवात गर्दे विराटनगरमा प्रभातफेरि निकालिएको छ । प्रभातफेरिमा सामाजिक विकास मन्त्री यादव, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे, विभिन्न सामाजिक संघ संस्थाका लगायतकाको प्रभातफेरिमा सहभागिता रहेको थियो ।
देवकोटा चोकबाट सुरु र्याली बजार परिक्रमा गरी पुनः देवकोटा चौकमा आएर समापन भएको थियो । अभियान अन्र्तगत साँझ ५ वजे ट्राफिक चौकमा दीपप्रज्वलन गरिएको छ । सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी अभियानलाई १६ दिनसम्म जनचेतनामुलक ढंगले विविध कार्यक्रम गरी सञ्चालन गरिने बताइन् ।
साझा अभियानमा सरकारी निकायहरुका साथै मानव अधिकार सञ्जाल, अन्तरपार्टी महिला सञ्जाल, नेपाल बार एसोसिएसन, विराटनगरका सामुदायिक विद्यालय, ओसीएमसी कोशी अस्पताल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाहरूको सहभागिता रहेको छ ।