काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा कारोबारलाई नियमनको दायरामा ल्याउन घरजगामा मूल्य सर्वेक्षण सुरु गरिएको बताएका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले दुई वर्ष लगाएर तयार गरेको घरजग्गामा मूल्य सर्वक्षण सूचकाङ्क प्रतिवेदन सार्वजनिक गर्दै उनले यसले घरजग्गाको करोबार र मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने बताए ।
विश्वमा घरजग्गाको मूल्यवृद्धि उच्च भएकै कारण ठुलठुला आर्थिक संकट आएको भन्दै उनले यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताए । “२००८ मा पनि आर्थिक मन्दीको अवस्थामा पुग्दा समयमै नियन्त्रण गरेर त्यसलाई रोकेका थियौँ । अहिले पनि घरजग्गाको कारोबार अत्यधिक बढेको छ । यसले भविष्यमा आर्थिक संकट निम्तिन सक्छ । बेलैमा नियमन जरुरी छ, त्यसकै लागि यो सर्वेक्षण गरिएको हो,” गभर्नर अधिकारीले भने ।
हरेक तीन महिनामा घरजग्गा मूल्य सुचकाङ्क सार्वजनिक गर्ने भन्दै उनले घरजग्गा व्यवसायीले सही सूचना नदिने हो भने सही घरजग्गा मूल्य सुचकाङ्क आउन नसक्ने बताए । गभर्नर अधिकारीले पहिलोपटक प्रतिवेदन तयार गरेकोले सबकै क्षेत्रलाई समेट्न नसकिएकाले अब यसलाई विस्तार गर्दै जाने बताए ।