लाहोर । दक्षिण एसियाली देश पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ । वायुको गुणस्तर निगरानी प्लेटफर्म सञ्चालन गर्ने स्विस प्रविधि कम्पनी आईक्यूएयरले लाहोरलाई विश्वकै सबैभन्दा प्रदूषित सहर घोषणा गरेको हो । आईक्यूएयरकाअनुसार लाहोरको हावाको गुणस्तर ३४८ थियो, जुन खतरनाक स्तर ३०० भन्दा एकदमै धेरै हो ।
खारयुक्त धुवाँमा निस्सासिएका सहरवासीले वायु प्रदूषण कम गर्न अधिकारीहरूलाई आग्रह गरेका छन् ।
“बालबालिकाले श्वासप्रश्वास सम्बन्धी रोगहरू अनुभव गरिरहेका छन् । समाधान खोज्नुहोस्,” एक जना श्रमिक मुहम्मद सइदले एएफपीलाई भने ।
कम–ग्रेडको डिजेल धुवाँ, मौसमी बालीहरू जलाउँदा निस्कने धुवाँलगायतका प्रदूषण मिसिएको कुहिरो चिसो मौसममा वायुमण्डलमा स्थिर भएर बस्ने भएकाले हालैका वर्षहरूमा पाकिस्तानमा वायु प्रदूषणको अवस्था नराम्ररी बिग्रिएको छ ।
एक करोड १० लाखभन्दा बढी मानिसहरूको भिडभाडयुक्त मेगासिटी लाहोर वायु प्रदूषणका लागि विश्वको सबैभन्दा खराब सहरहरूमा पर्छ ।
हालैका वर्षहरूमा त्यहाँका बासिन्दाहरूले आफ्नै एयर प्युरिफायर (हावा शुद्धीकरण गर्ने उपकरण) बनाएका छन् । प्रदूषणबाट हताश भएका उनीहरूले वायु स्वच्छ बनाउन माग गर्दै सरकारी अधिकारीहरूविरुद्ध मुद्दा पनि हालेका छन् । तर, अधिकारीहरूले भने भारतमा भइरहेको प्रदूषणलाई दोष दिँदै वा तथ्याङ्कहरू बढाइचढाइ गरेको दाबी गर्दै वायु प्रदूषण कम गर्न ढिलो गरेका छन् ।
“हामी गरिब मानिस हौँ, डाक्टरको खर्च पनि तिर्न सक्दैनौँ,” पसले इक्राम अहमेदले भने ।
“हामी त केवल प्रदूषण नियन्त्रण गर भनी उनीहरूलाई अनुरोध गर्न सक्छौँ । म त पढेलेखेको मान्छे होइन तर मैले लाहोर हावाको गुणस्तर सबैभन्दा खराब भएको सहर हो र त्यसपछि दिल्ली आउँछ भनेर पढेको छु । यस्तै भइरहे हामी मर्नेछौँ ।”
मजदुर सइदले भने, “पहिले छोराछोरी लिएर बाहिर निस्कन्थेँ, तर अहिले उनीहरूलाई मसँग ल्याउँदिनँ ।”
“यहाँ फ्याक्ट्रीहरू र साना उद्योगहरू छन् । तिनीहरूलाई अन्तै सारे या आधुनिक प्रविधिका लागि सहयोग गरे हामी यो प्रदूषणबाट मुक्त हुन सक्छौँ ।”