काठमाडौं । नेपालको स्थापित र अग्रणी ब्राण्ड खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ(प्याक) सार्वजनिक गरेको छ ।
कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहका बीच २० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो ।
खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टिलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२ औं वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रुपमा बजारमा उतारेको हो ।
लण्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो ।
भौतिक रुपमा नयाँ प्याकेजिङ सार्वजनिक समारोहमा उपस्थित भएका र अनलाइनमार्फत विश्वभरबाट कार्यक्रममा जोडिएकाहरुले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गरेको कम्पनीले जनाएको छ ।
खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देशविदेशका ग्राहकहरुमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरुको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरुबाट आएका प्रतिक्रियाहरुलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरु झल्किने गरी विशेषताहरु समावेश गरिएका हुन् ।
बीस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरु एक महिनाअघि नै बन्द भइसकेका छन् ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको वर्षौदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकांक्षाअनुरुप परिस्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरुको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक शुभाष लामीछानेले व्यक्त गरेका छन् ।