काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा सुपर–१२ को अन्तिम खेलमा नामिबियमाथि ९ विकेट सानदार विजय हासिल गरेसँगै प्रतियोगितामा भारतको यात्रा टुंगिएको छ ।
योसँगै भारतका कप्तान विराट कोहलीको पनि ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको यात्रा समाप्त भएको छ । किनकि, कोहलीले अब ट्वान्टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कप्तानी गर्ने छैनन् ।
कोहलीले अघिल्लो महिना नै कप्तानीको जिम्मेवारीबाट टाढा हुने घोषणा गरेका थिए । कोहलीले यसअघि नै योे विश्वकप अन्तिम भएको बताएका थिए । तर, कोहलीको ट्वान्टी–२० क्रिकेटमा कप्तानको रूपमा अन्तिम प्रतियोगिता सुखद भएन । बिर्सनलायक बन्यो । कारण, भारत ट्वान्टी–२० विश्वकप २०२१ मा सुपर–१२ को लिग चरणबाटै बाहिरियो ।
आईसीसीले आयोजना गर्ने प्रतियोगितामा भारत नौ वर्षपछि पहिलोपटक समूह चरणबाट बाहिरिएको हो । आईसीसीले आयोजना गरेका कुनै पनि ठूलो प्रतियोगितामा भारतलाई उपाधि जिताउन नसकेका कोहली आफ्नो ‘अन्तिम’ अवसरबाट पनि चुके ।
कोहलीले भारतका लागि ६५ टेस्ट खेलमा कप्तानी गरेका छन् । कोहली भारतका लागि सबैभन्दा धेरै टेस्ट क्रिकेटमा कप्तानी गर्ने खेलाडी हुन् । कोहलीले सन् २०१४ मा टेस्ट क्रिकेटमा कप्तानी सम्हालेका थिए । पूर्वकप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि कोहली कप्तान बनेका हुन् ।
कोहलीले २०१३ मा एकदिवसीय र २०१७ बाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको कप्तानी गरेका थिए ।
सुरुवाती करिअर
कोहली क्रिकेटमा आउने समयमा नै उनको पिताको निधन भएको थियो । सन् २००६ मा कर्नाटकविरुद्ध रणजी ट्रफी खेल्दै थिए, पिताको निधन भएको भोलिपल्ट उनले ९० रन बनाएका थिए ।
कोहलीले मलेसियमा २००८ मा आयोजित यू–१९ विश्वकप क्रिकेटमा भारतका लागि कप्तानी गरेका थिए । उपाधि भारतले नै जितेको थियो । उक्त प्रतियोगितामा उनले चौथो नम्बरमा ब्याटिङ गर्दै ६ खेलमा २३५ रन बनाएका थिए । उनले वेस्ट इन्डिजविरुद्ध शतक पनि प्रहार गरेका थिए ।
कोहलीले सन् २००९ मा इमर्जिङ प्लेअर्स टुर्नामेन्टमा भारतका लागि महत्त्वपूर्ण योगदान गरेका थिए । प्रतियोगिताको फाइनल खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका थिए । उक्त खेल भारतले १७ रनले जितेको थियो ।
पाँच टेस्ट सिरिज जित्ने भारतका पहिलो कप्तान
पूर्वकप्तान धोनीले सन् २०१४ मा टेस्ट टिमको कप्तानी छाडेपछि विराटले कप्तानको जिम्मेवारी पाएका थिए । विराटको कप्तानीमा भारतले ३८ टेस्ट खेल जितेको छ । धोनीको कप्तानीमा भारतले ६० टेस्ट खेल खेलेको थियो । जसमा भारत २७ खेलमा विजयी भएको थियो ।
कप्तानको जिम्मेवारीमा विराट आएपछि भारतले आईसीसीको कुनै पनि ठूलो प्रतियोगिता जित्न सकेको छैन । भारत गएको अगस्टमा भएको आईसीसी टेस्ट च्याम्पियनसिपमा न्युजिल्यान्डसँग पराजित भएको थियो ।
विराटले टेस्ट क्रिकेटमा कप्तानी गर्दै भारतलाई एकै वर्षमा नौ खेलमा जित दिलाएका छन् । त्यस्तै, पाँच टेस्ट क्रिकेट सिरिज जित्ने पनि भारतका पहिलो कप्तान हुन् उनी ।
अन्तर्राष्ट्रिय करिअर
सन् २००८ मा अष्ट्रेलियामा भएको इमर्जिङ प्लेयर्स प्रतियोगितापछि उनी भारतको श्रीलंकासँग भएको एकदिवसीय क्रिकेटमा चुनिएका थिए । सचिन तेन्दुलकर र वीरेन्द्र सहवाग घाइते भएको समयमा उनले भारतका लागि खेलेका थिए । पहिलो खेलमा १२ रन बनाएका विराटले आफ्नो चौथो खेलमा ५४ रन बनाए ।
सन् २००९ मा श्रीलंकाले भारत भम्रण गरेको थियो । उक्त एकदिवसीय सिरिजमा उनले आफ्नो पहिलो एकदिवसीय शतक पनि प्रहार गरेका थिए । विराटले गौतम गम्भीरसँगै तेस्रो विकेटका लागि २२४ रनको साझेदारी गरेका थिए ।
विराटनले सन् २०१० मा भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडीको पहिचान बनाए । उनले एक हजार रन बनाएका थिए ।
सन् २०११ को विश्वकप
सन् २०११ को विश्वकप क्रिकेटमा सबैभन्दा धेरै रुचाइएका खेलाडी थिए विराट । विश्वकप डेब्यु सन् २०११ मा शतक बनाउने भारतका पहिलो ब्याटर हुन् विराट कोहली । कोहलीले नौ खेलमा २८३ रन बनाएका थिए । उक्त प्रतियोगितामा फाइनलमा श्रीलंकालाई हराउँदै भारत विजेता बनेको थियो ।
सन् २०१२ को एसिया कप
सन् २०१२ मा विराटले भारतीय टोलीको उपकप्तानको जिम्मेवारी पाएका थिए । उनले एसिया कपमा पाकिस्तानविरुद्ध १८३ रनको शतकीय पारी खेले । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ३३० रनको लक्ष्य पछ्याउँदै २२ चौका र एक छक्काको सहयोगमा उक्त योगफल तयार पारेका थिए । खेल भारतले जित्यो ।
सन् २०१५ को विश्वकप
विराटले सन् २०१५ को विश्वकपमा भारतका लागि पाकिस्तानविरुद्ध पहिलो खेलमा नै १०७ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै, दोस्रो खेलमा अफ्रिकाविरुद्ध ४६ रन बनाए । उनले प्रतियोगिता अवधिभर ५०.८३ को औसतमा ३०५ रन बनाएका थिए ।
सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफी
सन् २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा विराटले पहिलोपटक भारतका लागि एकदिवसीय क्रिकेटमा कप्तानी गर्ने मौका पाएका थिए । उक्त खेलमा बंगलादेशविरुद्ध ९६ रनको अर्धशतकीय पारी खेले ।
विराटको कप्तानीमा फाइनल प्रवेश गरेको भारत पाकिस्तानसँग पराजित भएको थियो । विराटले ९६ रन बनाएसँगै सबैभन्दा छिटो आठ हजार रन बनाउने खेलाडीको रेकर्ड बनाएका थिए ।
आईपीएल करिअर
विराट इन्डियन प्रिमियर लिग (आईपीएल)मा सफल खेलाडी भए पनि सफल कप्तानको पहिचान बनाउन सकेका छैनन् । रोयल्स च्यालेन्जर्स बैंगलोरले विराटलाई सन् २००८ मा अनुबन्ध गरेको थियो । पहिलो सिजनमा विराटले १२ खेलमा जम्मा १०५ रन बनाएका थिए । दोस्रो सिजनमा भने २४६ रन बनाएका थिए ।
विराटले सन् २०११ मा उपकप्तानको जिम्मेवारी पाएका थिए । टिमका कप्तान डेनियल विटोरी घाइते हुँदा टिमको कप्तानी गर्ने जिम्मेवारी पनि पाएका थिए । त्यस बेला उनी मात्र २२ वर्षका थिए ।
विराटले सन् २०१३ मा आईपीएल टिम बैंगलोरको कप्तनी गर्ने मौका पाए । विराटले पहिलो सिजन कप्तानी गर्दा बैंगलोर तालिकाको पाँचौँ स्थानमा रहँदै बाहिरिएको थियो । उक्त सिजन विराटले ६३४ रन बनाएका थिए । सन् २०१५ मा विराटले बैंगलोरलाई प्लेअफमा पुर्याए ।
रेकर्ड
विश्वकप डेब्यु सन् २०११ मा शतक बनाउने भारतका पहिलो ब्याटर हुन् विराट कोहली । त्यस्तै, सचिन तेन्दुलकरपछि २२ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा शतक बनाउने उनी तेस्रो खेलाडी हुन् ।
विराट एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो हजार, तीन हजार, चार हजार र पाँच हजार रन बनाउने एक्लो खेलाडी पनि हुन् । लगातार २५ खेलमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको रेकर्ड पनि उनले बनाएका छन् ।
विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा २३ हजारभन्दा धेरै रन बनाएका छन् । उनी सबै फर्म्याटमा ५० भन्दा धेरै औसतमा खेल्ने खेलाडी हुन् ।
विराटले २०५ खेलमा १० हजार रन बनाउने खेलाडीको रेकर्ड पनि बनाएका छन् । विराटको नाममा आईपीएलको एकै सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको रेकर्ड पनि छ । –एजेन्सीको सहयोगमा ।