काठमाडौं । बलिउड चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपालमा रहेको टिम मौसममा आएको खराबीका कारण लुक्लामै रोकिएको छ ।
निर्देशक सुरज बडजात्याको निर्देशनमा बन्दै गरेको चलचित्र ‘उचाइ’ को छायांकन अहिले नेपालका हिमाली जिल्लमा भइरहेको छ ।
तर, सोमबारदेखिको खराब मौसमका कारण चलचित्रको छायांकन रोकिएको छ ।
नाम्चेको छायांकन सकेर मंगलबार काठमाडौं आउन लुक्लाको एयरपोर्ट पुगेका उनीहरू काठमाडौं आउन पाएनन् । मंगलबार काठमाडौं आएर यहाँ एकदिन बसेर मनाङ जाने तयारी उनीहरूको थियो । तर, अविरल वर्षाका कारण उनीहरू लुक्लामै रोकिएका छन् ।
छायांकन टिममा नेपाली कलाकार पनि छन् । छायांकन स्थलमा रहेका एक जनाले आफूहरू मौसममा आएको परिवर्तनका कारण लुक्लामै रोकिएको पुष्टि गरे । “यताबाट मनाङको सिधा फ्लाइट नभएर पहिला काठमाडौं आउने अनि एकदिन बसेर मनाङ जाने योजना थियो । तर, मौसम खराबीका कारण यति अड्किएका छौँ,” उनले भने ।
मौसम खराबीका कारण सोमबार नाम्चेबाट उनीहरू लुक्लामा नै आकस्मिक अवतरण गर्नुपरेको थियो । मंगलबार पनि काठमाडौं आउन पाइन्छ कि भनेर गएका उनीहरू तेन्जिङ हिलारी एयरपोर्टबाट फेरि होटल नै फर्किनु¥यो । बुधबार पनि मौसमले साथ नदिएपछि उनीहरू आज पनि लुक्लामै छन् ।
बिहान ७–८ बजे मौसम केही सफा भएकाले उनीहरू एउरपोर्ट पुगेका थिए । तर, केही समयमा नै मौसम फेरि खराब भएपछि उनीहरू होटल नै फर्किएका हुन् ।
स्रोतकाअनुसार नेपाली कलाकारहरूको छायांकन करिब ५० प्रतिशत सकिसकेको छ ।