भिखारी
मन्दिरको ढोकामा
एउटा मगन्ते
हात पसार्छ
प्रभु ! दिनुहोस्
मेरो कोही छैन
मन्दिरको मूलढोकामा
एउटा धनी मगन्ते
हात पसार्छ
प्रभु ! दिनुहोस्
मेरो कोही छैन ।
दुवै भिखारीको एकै सहारा
भगवान् दैव सहारा ।
०००
काल
बुढी मरी भन्दा पनि
काल पल्केकोमा चिन्ता छ
डर विश्वभरि छ
विषाक्त जीवाणु
कोरोनाभाइरस
एकएक घर
फेरी लाउँदै घुम्दै छ
झुपडीदेखि महल पुग्दै छ ।
मान्छेको फूलबारी
कुल्चँदै यहाँ उभिएको छ
उजाड छ, सुनसान छ ।
अरूलाई जस्तै मलाई
डर छ, त्रास छ, चिन्ता छ
टकटक गर्छ मेरो ढोकामा
हुलाकीझैँ कोरोनाभाइरस ।
म ढोका खोल्न चाहन्नँ
भोकै मर्छु बरु
ढोका खोल्दै खोल्दिनँ
नालापानीमा पानी नखाई
ढोकै नखोली युद्ध लडेथे पुर्खा
त्यही रगत मेरो शरीरभरि छ
म आफ्नै घरको किल्लामा
कोरोनाको बन्दी छु ।