ओरालोको सिलसिला
(लघुकथासंग्रह : ध्रुव मधिकर्मी)
पछिल्लो समय लघुकथा लेखन उर्वर हुँदै गएको छ । ‘संक्षेपमा समग्र’ समेट्ने लघुकथाको सानो स्वरूप र त्यसले दिने अथाह सन्देशले पाठकलाई यतातिर आकर्षित गरेको छ । व्यस्त समयको सही सदुपयोग लघुकथा पढ्नबाट हुँदै आएको साहित्यप्रति रुचि राख्नेले बताउँदै आएका छन् । यो सत्य पनि हो ।
झन् सानासाना आख्यान हाते फोनमा सजिलै पढ्न मिल्ने भएकोले पनि यतातिरको आकर्षण बढेर गएको हो भन्न सकिन्छ ।
हालै तीसको दशकदेखि लेख्न सुरु गरेका साहित्यकार धु्रुव मधिकर्मीको अर्को लघुकथासंग्रह प्रकाशनमा आएको छ, ‘ओरालोको सिलसिला’ । कथा, समीक्षा र फुटकर लेखनमा बितेको ४५ वर्षदेखि कलम चलाउँदै आएका मधिकर्मीको यसअघि नै दुईवटा लघुकथासंग्रह प्रकाशित छ ।
यसअतिरिक्त एउटा कवितासंग्रह, दुईवटा कथासंग्रह, एउटा समालोचनासंग्रह, एउटा बालकथासंग्रह, एउटा गजलसंग्रह र एउटा नेपालभाषाको कृति गरेर नौ कृति प्रकाशित छ ।
‘ओरालोको सिलसिला’ मधिकर्मीको दशौँ पुस्तक हो । जसमा लघुकथा संगृहीत छ ।
चर्चित कथाकार किशोर पहाडी आफ्नो भूमिकामा लेख्छन्, ‘धु्रव मधिकर्मी भनेका लघुकथालाई राम्ररी बुझेका कथाकार । उनको लेखाइले तीन–चार दशकदेखि नेपाली लघुकथालाई मलजल हाल्दै झाँगिने अवसर प्रदान गर्दै आइरहेको छ ।’
धु्रवका लघुकथासंग्रहमा मोहनबहादुर कायस्थ, श्रीओम रोदनले पनि उनको कृतिमाथि आफ्नो दृष्टिकोण राखेका छन् ।
सिर्जना अभियान समाज, भक्तपुरद्वारा प्रकाशित ९२+४ पृष्ठको पुस्तकको मूल्य १५०– रुपैयाँ राखिएको छ ।
०००
जिंदगी का सफर
(हिन्दी–उर्दू गजल : डा. कृष्ण जङ्ग राणा)
नेपाली गजल लेखनमा लामो समयदेखि क्रियाशील छन् डा. कृष्ण जङ्ग राणा । उनका कैयन् गजलकृति प्रकाशित भइसकेको छ । डा. राणाको पहिलो नेपाली गजलसंग्रह सन् २०१० मा नै प्रकाशित भएको हो, ‘मनकै सेरोफेरोमा’ ।
त्यसपछिको समयमा उनका केही नेपाली गजलसंग्रह आए्, ‘आस्थाको खोजीमा’, ‘भाव थरीथरीका’, ‘मायाको संगालो’, ‘छल्किएका भाव मनका’, ‘उकाली ओराली’ आदि । यी कृति सन् २०१२ सम्म प्रकाशित भएका हुन् ।
त्यसपछि उनको हिन्दी–उर्दू गजलहरूको संंग्रह प्रकाशित भयो । सन् २०१२ मा नै उनको ‘जिन्दगी की परछाइयाँ’ प्रकाशनमा आयो । त्यसपछि उनका अरू गजलसंग्रहहरू पनि प्रकाशित भए । र, हालै मात्र उनको ‘जिंदगी का सफर’ पाठकका लागि सार्वजनिक भएको छ । यो पनि उनको हिन्दी–उर्दू गजलसंग्रह हो ।
पेसाले चिकित्सक डा. राणाको रुचि कविता साहित्यमा पनि उत्तिकै छ । त्यसैले उमेरले ९० को छेउछाउ पुगिसके पनि उनमा लेखकीय ऊर्जा अपार छ । त्यही ऊर्जाले उनका भावहरूको विरेचन काव्यका माध्यमबाट गर्दै आएको छ ।
डा. राणा पुस्तकमा लेख्छन्, ‘...प्रत्येक मानिसले काँडाले भरिएको बाटोबाट हिँड्नुपर्छ । जीवन के हो र ! यो संसारमा छरिएर रहेको काँडाहरू र फूल । र, त्यही बाटोमा हिँड्नु नै जिन्दगीको सफर वा जीवनयात्रा हो ।...’
डा. श्वेता दिप्ती पुस्तकको आफ्नो भूमिकामा लेख्छिन्, ‘साँच्चै भनुँ भने कृतिमा जिन्दगीको पूरा फिलोसफी (दर्शन) भेटिन्छ ।...’
२० वटाभन्दा बढी कृति प्रकाशनमा ल्याइसकेका डा. कृष्ण जङ्ग राणाको यस कृतिमा ८९ वटा गजलहरू समावेश छ ।
कृष्णचन्द्र मिश्र पब्लिकेशन प्रालिद्वारा प्रकाशित ११०+४ पृष्ठको पुस्तकको मूल्य २००– रुपैयाँ राखिएको छ ।
०००
हत्केलामा अट्ने मनुवा
(जीवनयात्रा : लेखनाथ भुसाल)
जीवनकथा वा जीवन संस्मरण लेख्ने प्रचलन अचेल चुलिएको छ । त्यसैले पनि जीवनगाथा, आत्मकथा, जीवनयात्रा, आत्मवृत्तान्त, जीवनीलगायत विभिन्न नाममा अनेकौँ पुस्तकहरू प्रकाशन हुँदै आएका छन् ।
जीवनका आरोह–अवरोहलाई समेटेर लेखिएको किताबहरूको लहरमा हालै उभिन आएको छ, ‘हत्केलामा अट्ने मनुवा’ । जसका लेखक हुन् लेखनाथ भुसाल । भुसालले आफ्नो जीवनका यावत् पक्षहरूलाई किताबमा पस्केका छन् । आफ्नो कथाव्यथा पाठकका लागि सुम्पिएका छन् ।
लेखनाथ भुसाल आफ्नो मन्तव्यमा लेख्छन्, ‘यो संक्षिप्त आत्मकथा मेरो डायरी लेखनको अम्मल र स्वतःस्फूर्त प्रेरणाको उपज रहेको । कोरोनाकालमा घरभित्र नै रहनु्पर्ने बाध्यता र अध्ययन, लेखनबाहेक समय बिताउन बाहिर घुमफिर, इष्टमित्रसँग भेटघाट आदि सबै गतिविधिबाट अलग्गिनु परेको अत्यासलाई रचनात्मक सिर्जनाबाट समयको सदुपयोग गर्न अनायास एक दिन मनमा बीजारोपणले यसतर्फ कलम चलाउने इच्छा पलाएको । मानिसको सदिच्छालाई कम गर्दै जाने हो भने दैवले एक दिन अवश्य नै पुर्याउने उक्तिलाई सत्य साबित गर्दै आफ्नो प्रयास सार्थक भएको ठान्दछु ।’
नेपाल राष्ट्र बैंकको उच्च पदमा कार्यरत रही अहिले सेवानिवृत्त जीवन बिताइरहेका लेखनाथ भुसालले यस जीवनयात्रामा कुल १३ वटा शीर्षकमा आफ्ना जीवनका आरोह–अवरोह प्रस्तुत गरेका छन् ।
निर्मला भुसालद्वारा प्रकाशित ९८+४ पृष्ठको यस जीवनयात्राको मूल्य १५१– रुपैयाँ राखिएको छ ।