काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग मागेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा स्वतन्त्र भूमिकामा रहेका नेमकिपाका सांसद प्रेम सुवावले प्रश्न उठाएका थिए ।
“सम्माननीय सभामुख महोदय, प्रधानन्यायाधीशले मन्त्री परिषदमा भाग खोज्दै दुईवटा नाम दिएको भन्दै नामसमेत सार्वजनिक भएको छ, यो शक्ति पृथकीकरण सिद्धान्तको विपरित हो,” सुवालले भने, “यस्तो शक्ति पृथकीकरणको सिद्धान्त विपरितका कुरामा सरकार किन लागिरहेको छ ? प्रधानमन्त्रीले यो सदनमा जवाफ दिन आवश्यकछ ।”
उनले यस्तो गम्भीर विषय आउँदा पनि सरकारको मौनताताले बाघ कराउनु र बाख्रो हराउनुजस्तै भएको भन्दै हावा नचली पात नहल्लिएको दाबी गरे ।
“जवाफमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री कार्कीले यस्तो समाचारमा कुनै सत्यता नरहेको जवाफ दिएका थिए ।
“प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भाग खोजेको भन्ने कुरामा कुनै सत्यता छैन,” मन्त्री कार्कीले सुवालले उठाएको प्रश्नको जवाफमा भने, “यस्तो गलत सूचनाबाट भ्रमित नहुन म सबैमा आग्रह गर्दछु ।”