काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को महिला टोलीले आज अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिपमा समूह ‘ए’को विजेता बनेको छ ।
पहिलो खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई हराएसँग एपीएफले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाइसकेको थियो । समूह विजेता र उपविजेता टुंगो लगाउने खेलमा एपीएफले पुलिसलाई २५–१४, २१–२५, २५–१८ र २५–१९ को स्कोरमा हराएको हो ।
जितसँगै समूह ‘ए’मा एपीएफले ६ अंक जोड्यो । पुलिसले तीन अंक जोड्दा ढोरपाटन अंकविहीन रह्यो ।
एपीएफले अब समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । पुलिसले समूह ‘बी’को विजेतासँग खेल्नेछ । समूह ‘बी’मा विजेता टोलीको टुंगो लगाउन न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ ।