काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करणमा त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बल (एपीएफ)ले विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा आइतबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीले २५–१४, २५–८ र २५–७ को सेटमा सहज विजय हासिल गरेको हो ।
त्यस्तै, दोस्रो खेलमा अर्को विभागीय टोली एपीएफले ढोरपाटन स्पोटर््स क्लबलाई ३–१ को सेटमा हरायो । ढोरपाटनले पहिलो सेट जिते पनि बाँकी सेटमा एपीएफले पुनरागमन गरेको थियो । पहिलो सेट ढोरपाटनले २८–२६ ले जितेको थियो । तर, बाँकी सेट एपीएफले २५–१८, २५–१३ र २५–१५ ले जित्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषको १४ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिलाको ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । महिलातर्फको खेल मंगलबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन् । त्यस्तै, विधागत रूपमा उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।