बीबीसी । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादा जिवित रहेको र चाँडै सार्वजनिक रूपमा देखापर्ने बताएका छन् । तालिबानका सर्वोच्च नेता कहाँ छन् र किन उनी सार्वजनिक भएका छैनन् भन्ने प्रश्न उठेका थिए । सोमबार भएको पत्रकार सम्मेलनमा तालिबान प्रवक्ताले सर्वोच्च नेता चाँडै सार्वजनिक हुने बताएका हन् ।
अखुन्दजादा २०१६ मा तालिबानका सर्वोच्च नेता बनेका थिए । उनी करिब ६० वर्ष हाराहारीको रहेको विश्वास गरिएको छ । उनले आफ्नो अधिकांश जीवन अफगानिस्तानमा बिताएका छन् ।
यद्यपि, केही विज्ञहरूका अनुसार उनले तथाकथित ‘क्वेटा शूरा’सँग घनिष्ठ सम्बन्ध राख्छन् । अफगान तालिबान नेताहरू पाकिस्तानी क्वेटा सहरमा आधारित रहेको बताइन्छ । तालिबान समूहको सर्वोच्च कमान्डर भएकाले अखुन्दजादा राजनीतिक, सैन्य र धार्मिक मामिलाका प्रमुख हुन् ।
को हुन् हिबतुल्लाह अखुन्दजादा ?
हिबतुल्लाह अनुन्दजादा तालिबानको सर्वोच्च नेता हुन् । १९६१ मा अफगानिस्तानको कान्दाहार प्रान्तमा उनको जन्म भएको थियो । उनको नाम हिबतुल्लाहको अर्थ ‘अल्लाहको तर्फबाट प्राप्त उपहार’ हुन्छ ।
तालिबानका पूर्वप्रमुख मोहम्मद मन्सुरको मृत्युपछि २०१६ मा उनी तालिबान प्रमुख बनेका हुन् । त्यसअघि उनी मन्सुरका उपप्रमुख थिए ।
उनी १९८० को दशकमा सोभियत सैनिक विरुद्धको इस्लामिक प्रतिरोधमा सहभागी भएका थिए । तर, उनको पहिचान सैनिक कमाण्डरको भन्दा पनि धार्मिक नेताको रूपमा धेरै भएको पाइन्छ । उनले १९९० को दशकमा शरिया अदालतहरूको प्रमुखको रूपमा काम गरेका थिए ।
उनले दोषी पाइएका हत्यारा वा अवैध यौन सम्बन्ध राख्नेहरूलाई हत्याको सजाय र चोरी गर्नेहरूलाई हात काट्ने सजायका आदेश दिएका थिए । उनी भयङ्कर मौलवी र मुल्लाहको रूपमा चिनिन्छन् ।