काठमाडौं । ओपनर हसिब हमिद र रोरी बर्नसले चौथो दिनको अन्तिम सेसनमा सम्हालिएको प्रदर्शन गरेपछि इंग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्ट क्रिकेट जित्ने सम्भावना कायम राखेको छ ।
३६८ रनको चुनौतीपूर्ण पछ्याएको इंग्ल्यान्डले चौथो दिनको समाप्तीमा बिनाविकेट क्षति ७७ रन बनाएर खेलिरहेको छ । चौथो दिन सकिँदा हमिद ४६ र बर्नस ३१ रन बनाएर क्रिजमा छन् ।
पहिलो इनिङ्समा १९१ रन बनाएको भारतले दोस्रो इनिङ्समा ४६६ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङ्समा २९० रन बनाएको थियो ।
लन्डनको केनिङ्टन ओभलमा भारतले २७०/३ को स्थितिबाट चौथो दिन थालेको थियो । चौथो दिन थाल्दा भारतका कप्तान विराट कोहली २२ र रवीन्द्र जडेजा ९ रन बनाएर क्रिजमा थिए ।
कोहलीले ४४ रन बनाउँदा जडेजा १७ रन बनाएर पवेलियन फर्किए । भारतका रिसब पन्तले ५०, शार्दुल ठाकुरले ६० र उमेशकुमार यादवले २५ रनको योगदान गरे । त्यसअघि, दोस्रो इनिङ्समा रोहित शर्माले १२७, चेतेश्वर पुजरा र केएल राहुलले ४६ रन बनाएका थिए ।
इंग्ल्यान्डका क्रिस वक्सले तीन विकेट लिए । ओली रोबिन्सन र मोइन अलीले समान दुई विकेट लिए । जेम्स एन्डरसन, क्राइग ओभरटन र जो रुटले एक/एक विकेट झारे ।