मुम्बई । कमेडियन कृष्णा अभिषेक बलिउड अभिनेता गोविन्दाका भान्जा हुन् भन्ने धेरैलाई जानकारी भएकै कुरा हो । कृष्णा आफैँले पनि ‘द कपिल शर्मा शो’मा यो कुरा पटक–पटक भनेका छन् । तर, यी मामा–भान्जाबीचको सम्बन्ध त्यति प्रगाढ छैन ।
त्यसैले त जब–जब गोविन्दा शोमा आउँछन्, कृष्णा उक्त शृंखलामा उपस्थित हुँदैनन् । हालसालै पुनः सुरु भएको ‘द कपिल शर्मा शो’मा अतिथिको रूपमा अभिनेता गोविन्दा आहुजा र उनकी पत्नी सुनीता आहुजा आउँदै छन् ।
उक्त शृंखलामा कृष्णा उपस्थित नहुने बताइएको छ । यसबारे कृष्णा भन्छन्, “म पछिल्लो १५ दिनदेखि रायपुर र मुम्बईमा आफ्नो चलचित्र र द कपिल शर्मा शोका लागि आउजाउ गरिरहेको छु । म सधैँ शोका लागि मेरो समय मिलाउँछु । तर, उहाँ (गोविन्दा र सुनीता) गेस्टका लागि आउँदै छन् भन्ने थाहा पाएकाले उक्त एपिसोडका लागि म आउन चाहन्नँ । मलाई लाग्छ, हामी दुवै सँगै आउन चाहन्नौँ ।”
हास्यव्यंग्य गर्नुपर्ने भएकाले आफूले बोलेका केही कुरा मामालाई चित्त नबुझेर त्यसमा लफडा होला कि भन्ने डरका कारण पनि कृष्णा शोमा आउन नचाहेका जनाइएको छ । यसअघि, गत वर्षको नोभेम्बरमा भएको शोमा पनि कृष्णा अनुपस्थित थिए ।
सन् २०१८ मा एउटा ट्विटका कारण गोविन्दा र कृष्णाको सम्बन्ध बिग्रेको थियो । कृष्णाकी पत्नी कश्मीरा साहले ‘केही व्यक्तिहरू पैसाका लागि नाच्छन्’ भन्दै ट्विट गरेकी थिइन् । उक्त ट्विट पढेर गोविन्दाकी पत्नी सुनीताले यो गोविन्दाका लागि लेखिएको भनेकी थिइन् । त्यति बेलादेखि यी दुई परिवार एकार्कासँग बोल्न छोडेका हुन् । त्यसअघिसम्म यी मामा–भान्जाबीच राम्रो सम्बन्ध थियो । नवभारत टाइम्सबाट ।