काठमाडौं । कैलाश मानसरोवको भ्रमण सकेर काठमाडौं आएका सदगुरु जग्गी वासुदेवले शनिबार बत्तिसपुतलीको एक होटेलमा पत्रकार सम्मेलन गरे । प्रायः जीवन, जगतका कुरा बताउने सदगुरुले शनिबार भने पर्यटन क्षेलाई विशेष जोड दिए । देशको व्यापार व्यवसाय बलियो नबनेसम्म देश समृद्ध बन्न नसक्ने तर्क राखे । उनले नेपाल प्रकृति र संस्कृतिले धनी भएपनि आधुनिकीकरणका नाममा यहाँकाे पहिचान नै मेटिनसक्नेतर्फ सजग गराए ।
प्रस्तुत छ, सद्गुरुले पत्रकार सम्मेलनमा बोलेका कुराको सम्पादित अंश :
व्यापारले मात्र राष्ट्र समृद्ध बन्छ
हामीले जुन प्रकारको राजनीति गरिरहेका छौँ, त्यसले राष्ट्र समृद्ध बन्नेवाला छैन । न यसले नागरिकको दैनिकीमा सुधार नै ल्याउँछ । हामीसँग भएको सैन्य शक्तिले पनि देशको समृद्ध हुन सक्दैन । देश त त्यतिबेला समृद्ध हुन्छ जतिबेला हाम्रो व्यपार व्यवसाय, अर्थतन्त्र समृद्ध हुन्छ । कुनैपनि प्रजातान्त्रिक देश समृद्ध बन्ने एउटै आधार भनेको त्यो देशको अर्थतन्त्र नै हो । देशमा सबै प्रकारका व्यापार व्यवसाय चलायमान भएमा बल्ल देश समृद्ध बन्छ । बल्ल नागरिकको जीवनस्तर माथि उठ्छ ।
नेपाल र भारतबीचको सम्बन्धमा कहिलेकाहीँ सामान्य समस्या देखिन सक्छन् । दुई देशबीच केही असमझदारी हुनसक्छ, सीमाको समस्या देखिनसक्छ । तर, दुई देशबीचको व्यापारमा भने समस्या आउनुहुँदैन । राजनीतिमा एकैछिन समझदारी हुनसक्छ । तर, व्यापार त्यस्तो होइन । आज बिग्रिएको व्यापार बनाउन १०–१५ वर्ष लाग्छ । एउटा पुस्ता जानसक्छ ।
विशेषगरी नेपाल र भारतले पर्यटन क्षेत्रमा सँगै काम गर्नुपर्छ । समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्छ । पछिल्लो दशक नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव देखिएको छ । तर, जे भएपनि दुई देशबीचको व्यापार व्यवसाय भने बिग्रिनु हुँदैन ।
पर्वतारोहण व्यवसायको सम्भावना
नेपालमा पर्वतारोहण व्यवसायको एकदमै सम्भावना छ । पर्वतारोहण भन्ने बित्तिकै सगारमाथालाई लिने गरिन्छ । तर, सगरमाथा सबैका लागि होइन । नेपालमा १२ वटा शिखर छन्, जहाँ सामान्य तालिममा जो कोही चढ्न सक्छ । ती शिखरहरू बढीमा १८ हजार फिट उचाइका छन् । यसकोबारेमा हामीले विश्वमा प्रचार गर्नुपर्छ । म मर्नुभन्दा अगाडि यी १२ शिखर चढ्न चाहन्छु ।
नेपालको सबैभन्दा ठुलो सम्पत्ति भनेको नै यहाँका हिमशिखरहरू हुन् । सबैले शिखर चढ्दैनन् । कोही मोटरबाटोमार्फत हिमाल गएर केहीदिन बस्न रुचाउँछन्, कोही ‘ट्रेकिङ’ गर्न रुचाउँछन्, कोही हिमालमा आनन्दसँग केही समय बस्न रुचाउँछन् ।
नेपालमा साहसिक पर्यटन, ऐसआराम पयर्टन र आध्यात्मिक पर्यटन सँगसगै अघि बढ्नुपर्छ । अनिमात्र पयर्टन क्षेत्रले नेपालको अर्थन्त्रलाई योगदान दिनसक्छ । नेपालमा अबको १० वर्षमा कम्तीमा ३० प्रतिशत योगदान पर्यटन क्षेत्रले दिनुपर्छ । अन्यथा नेपालले आफूसँग भएको सम्पत्ति खेर फाल्नेछ । नेपाल सांस्कृतिक र प्राकृतिक रूपमा धनी छ । नेपाल विश्वको एक ‘आइल्यान्ड’ हो ।
नेपाललाई नेपाली बनाउनुपर्छ
वास्तवमा नेपाल एसियाको स्विट्जरल्यान्ड हो । नेपालसँग सुन्दरता छ, आफ्नै संस्कृति छ । यहाँ पूर्वीय जीवन छ । हामीले विश्वका हरेक देशलाई औद्यगिकीकरण गर्न आवश्यक छैन । किनकि यसले संस्कार, संस्कृति सबै नष्ट गरिरहेको छ ।
मलाई सम्झना छ, पहिलोपटक म १९ वर्षको हुँदा नेपाल आउन चाहेको थिएँ । मेरा धेरै साथीहरू नेपाल आउने गर्थे । त्यतिबेला काठमाडौं जाने भन्नबित्तिकै एउटा बैग्लै उत्सुकता हुन्थ्यो । भारतमा भएका सबै सहरभन्दा पृथक र बेग्लै पहिचान थियो काठमाडौंको । तर, अहिले हेर्नुहोस् त कस्तो छ काठमाडौं ? जनसंख्या बढ्दै गयो, बाहिरबाट मान्छेहरू आउन थाले, अव्यवस्थित तवरबाट विकास गर्ने प्रपृत्ति हाबी भयो । काठमाडौंका पुराना संरचनालाई आधुनिक तवरबाट व्यवस्थित गर्न सकिन्थ्यो । काठमाडौंभन्दा बाहिर व्यवस्थित सडक तथा सहर विस्तारमा जोड दिन सकिन्थ्यो ।
कुनै पनि विकासकार्य थाल्नुअघि योजनबद्ध रूपमा जानुपर्छ । नत्र त्यसले पछि गएर विनाश निम्त्याउँछ ।
विश्वमा अहिले उद्देश्यविनाको आधुनिकीकरण होडबाजी चलिरहेको छ । तर, हामीले उद्देश्यसहितको आधुनिकीकरणमा जोड दिनुपर्छ । हामीले हाम्रो आकर्षण, संस्कृति, संस्कार जोगाउन सकेमा मात्र विश्वका मान्छेहरू यहाँ आउँछन् । यदि नेपाललाई अमेरिकाको भूमिजस्तो बनाउन खोज्नुभयो भने एक त त्यो सम्भव पनि हुँदैन र अर्कोतिर नेपालको पहिचान पनि हुँदैन । नेपाललाई नेपाली बनाउनुपर्छ ।
भ्रमण अनुभव
मेरो पछिल्लो नेपाल भ्रमणको ९ दिने यात्रा एकदमै भव्य रह्यो । मेरो यात्रालाई वर्णन गर्ने अरू शब्द नै छैन । अधिकांश मान्छेले यस्तो भूमि छ भनेर विश्वास नै गर्ने छैनन् । हिमाल छिचाल्दै कैलाश मानसरोवरको दर्शन गर्दाको अनुभव शब्दमा वर्णन नै गर्न सकिँदैन । सिमिकोटदेखि लिमी उपत्यकाको यात्राको अनुभव नै बेग्लै छ ।
तस्बिरहरू : अभिषेक महर्जन