site stats
बाह्रखरी :: Baahrakhari
देश
गोर्खा मिडियाका अकाउन्टेन्टको बयान– किस्ता तिर्ने चेकमा रविले हस्ताक्षर गर्थे

काठमाडौं । गोर्खा मिडिया नेटवर्कका अकाउन्टेन्ट सञ्जय अधिकारले गोर्खा मिडियाबाट हुने सबै लेनदेनमा रवि लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका छन् । १७ वैशाख २०७८ बाट गोर्खा मिडियाको अकाउन्टेन्टको काम सम्हालेका अधिकारीले गोर्खा मिडियाको बैंक खाता रहेको ग्लोबल आईएमई, नबिल बैंक, सिभिल (हाल हिमालयन)बैंकको खातामा लामिछानेको हस्ताक्षर चल्ने गरेको बयान दिएका हुन् ।

गोर्खा मिडियाको सबै कारोबारको रेकर्ड राख्ने काम जीबी ग्रुप आफ कम्पनीज प्राइभेट लिमिटेडबाट हुने गरेको उनको बयान छ । उनका अनुसार, जीबी ग्रुप आफ कम्पनीज प्राइभेट लिमिटेडको सबै हिसाब उक्त ग्रुपको लेखा अधिकृत रविना रिमालले राख्ने गर्थिन् ।

Argakhachi Cement Island Ad

अधिकारीले बयानमा भनेका छन्, “भेन्डरलाई रकम दिनुपर्दा वा कर्मचारीलाई तलब खुवाउनेदेखि कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने सामानको लिस्टसमेत बनाएर मैले कुमारीपाटी इमेल गरी पठाएपछि रविना रिमाल मिसले सबै हेरेर सञ्चालकहरूसँग अनुमति लिई मलाई चेक लिन बोलाएपछि म कुमारीपाटी गएर चेक लिई गितेन्द्र बाबु राई भेटिएमा उहाँकै दस्तखत गराउने र उहाँ नभेटिएमा गोरखा मिडियामा आई खर्च हुने रकमको सम्बन्धमा भौचर भरी पेमेन्ट भौचरमा गितेन्द्र बाबु राई वा रवि लामिछाने वा म भन्दा माथि रहनु भएको कम्पनीको अपरेसन हेर्ड पुष्पराज गिरीबाट पेमेन्ट भौचर अप्रुभ गराएपछि उक्त अप्रुभ भएको पेमेन्ट भौचर सहित चेकमा भुक्तानी पाउनेको नाम र रकम लेखेर प्रबन्ध निर्देशक रवि लामिछानेकोमा पेस गरेपछि उहाँले चेकमा दस्तखत गर्ने गर्नुहुन्थ्यो ।”

बयानका क्रममा उनले अगाडि भनेका छन्, “त्यसपछि उक्त चेक भुक्तानीका लागि भेन्डरवाला स्वयंलाई भर्पाइ गरिदिने, अन्य लोनको किस्ता तिर्ने हकमा म लगायत कर्मचारीहरू रजनी श्रेष्ठ, मदन केसी, सन्तोष ढकालले खातामा जम्मा गर्ने गरेका थियौँ ।”

गोरखा मिडियामा आएको रकमको सम्पूर्ण विवरण जीबी ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडको कार्यालयले राख्ने गरेको अधिकारीले बयान दिएका छन् । कम्पनीको लेखा अधिकृत रविना रिमालले भने अनुसार आफूले सूर्यदर्शन, सानो पाइलालगायत सहकारीको खातामा रकम जम्मा गर्ने गरेको अधिकारीको बयान छ ।
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १७:४१
प्रतिक्रिया दिनुहोस्