सुरुवात
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय एघारौँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा उनकै जीवनीमा आधारित नाटक ‘कुञ्जिनी’ प्रदर्शन भइरहेको थियो । देवकोटाको भूमिकामा अभिनय गरिरहेका थिए, वसन्तराज घिमिरेले ।
वसन्तराज त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाली विभागमा विद्यावारिधि गरिरहेका थिए । संयोगले उनी महाकवि देवकोटाकै ‘पागल’ कवितामाथि शोधपत्र तयार गरिरहेका थिए । अनि, उता उनी मझेरी नाट्य मण्डलीको संस्थापक सदस्य पनि । उनले एक दर्जन नाटक खेलिसकेका थिए ।
मञ्चमा वसन्तराजले बडो भावुक भएर काव्यिक संवाद बोले–
‘छैन यहाँ केही
अन्धकूप सिवाय
निस्सार भो जगत्
लेख्ने स्याही सकियो
सफेद कागजहरू निख्रिए
खोइ केले लेख्ने हो अक्षर ?
अनि, केमा लेख्ने हो अक्षर ?
जीवनको यो अठबा र नीरस गीत हो
यहाँ उसिन्नलाई अब केवल ढुंगो बाँकी छ !
ढुंगो ?
जिन्दगी खुद यहाँ उसिनिएको छ
खाने हो ?’
(दर्शकदीर्घामा लुकेर नाटक हेरिरहेका निर्देशक रमेश चालिसे सहनिर्देशक हरिहरका कानछेउमा मुर्मुरिए, ‘कुन संवाद बोलिरहेको छ आज हाम्रो नायक ? भर्खरै उसले बोलेको कविता स्क्रिप्टअनुसार छैन ।’
हरिहरले भने, ‘मलाई पनि त्यस्तै लागिरहेको थियो ।’
‘अनि, किन चुपचाप बसेको त ?’ रमेशले मञ्चमा नियाल्दै व्यंग्यताका साथ ताता कोइला ओकले ।
हरिहरले जवाफ नफर्काउनु मुनासिब ठाने र मञ्चको दृश्यमा घोत्लिए ।)
यस्तैमा मञ्चमा शंकर लामिछानेको प्रवेश । उनी ओछ्यानमा कुक्रुक्क परेर बसेका देवकोटालाई स्वस्ती गर्छन् । देवकोटा मुखमा एउटा ठूटो सिगरेट च्यापेर सलाई कोर्ने यत्नमा छन् । सलाई ओसिएझैँ लाग्छ ।
शंकर लामिछानेले खल्तीबाट एउटा ‘किंगसाइज’ चुरोट झिकेर लाइटरसहित महाकविलाई टक्र््याउँछन् । महाकवि गहिरा–गहिरा कस लगाउन थाल्छन् ।
देवकोटाको हालत निरीह छ । कोठामा चरम गरिबी झल्किन्छ । जाडोको मौसम । एउटा मैलो धुसाले महाकविले बदन ढाकेका छन् ।
‘तपाईंसँग कलम छ ?’ चुरोट तानिसकेर देवकोटा सोध्छन् ।
शंकर खल्ती छाम्दै भन्छन्, ‘ज्या है ! आज त कलम खल्तीमा कोच्नै बिर्सेछु ।’
‘त्यसो भए एउटा चक्कु होला ?’ प्रश्न सोध्दै देवकोटा सिरानमुनिबाट एक इन्च लामो पेन्सिलको टुक्रो निकाल्छन् ।
अनि केही गुनासो र गनगन पोख्छन्, ‘यस्तो पैसा नआउने कविता लेखेर के हुन्छ ? भन्दै हिजो बज्यैले मेरा लेखौटहरू आगामा हालिदिइन् । त्यसमा ‘जाङ्बूको पाताल यात्रा’ भन्ने एउटा खण्डकाव्य पनि सहिद भो ! क्यार्ने बाबु ? यस्तै छ यहाँको चलन ! मुलुकका लागि चाहँदाचाहँदै पनि खास्सै लेख्न पाइएन ।’
शंकर असमञ्जसमा पर्छन् । महाकविको हालत देखेर उनलाई आफ्नो हातेघडी र शरीरमा उनिएका ‘ब्रान्डेड’ लुगाहरूप्रति शरम जाग्छ । त्यहाँ उनी आफूलाई एकदमै लुलो पाउँछन् ।
‘त्यसो भए लु जा त !’ भनेर देवकोटा दाँतले नै त्यो छोटो पेन्सिल तिखार्न थाल्छन् ।
अलिकति कार्बन देखिएपछि उनी एउटा अधमरो कागजमा लेख्छन्,
‘सकियो सब सकियो
जिन्दगीको कथा लेख्ने स्याही सकियो
जिन्दगी बाँच्ने कागज सकियो
अहो ! यो आततायी जिन्दगी
अहो ! यो आततायी तावामा डढेको जिन्दगी !
धेरै दुःख, थोरै सुख
यहाँ
एक थोपा ब्रह्माण्ड के उधिनेको थिएँ
ग्रहमा आफ्नो पालो नै सकियो !
अनि सल्केका गोल जस्ता आँखाले लल्कारेँ–
मूर्खहरू जिन्दगीलाई सुख र दुःखको परिभाषाले बाँध्छन्
सुख र दुःखको दायरा नाघेर
ए मनुवाहरू हो,
जिन्दगीलाई भुटभाट तुल्याएर खाऊ !’
शंकर लामिछाने ट्वाँ ! दर्शक स्तब्ध !
निर्देशक रमेश चालिसे लगभग बेहोस ! किनभने, वसन्तराजले आज स्क्रिप्टइतर संवाद बोलेका थिए ।
बिस्तारै पर्दा खस्छ ।
दर्शकको तालीको गडगडाहटले नाटकघर गुञ्जायमान हुन्छ । दर्शकले वसन्तराजको अभिनय र कविता वाचनको खुब तारिफ गर्छन् । प्रबुद्ध दर्शकको प्रतिक्रिया आयो, ‘आज यस्तो लाग्यो, मञ्चमा साक्षात् महाकवि अवतरित हुनुभएको छ ।’
अनि दर्शकहरूले वसन्तराजलाई बधाई पनि दिए । निर्देशक रमेश भने सास रोकेर यो सब हेरिरहेका थिए । नायकले स्क्रिप्टइतर संवाद बोले पनि परिस्थिति नबिग्रिएकोमा उनी केही आश्वस्त देखिन्थे ।
तर, मौका पाउनासाथ उनले वसन्तराजलाई टोकिहाले, ‘आज तिमीले किन मनलाग्दी संवाद बोल्यौ ? के भयो तिमीलाई ? स्क्रिप्ट किन फलो गरेनौ ?’
तर, वसन्तराजले केही जवाफ दिएनन् । उनी बिल्कुलै शान्त थिए !
एक
मझेरी नाट्य मण्डलीको चमेना गृह ।
नाटक सकेर सबै खाजा खाइरहेका थिए । चर्चा चलिरहेको थियो, वसन्तराजको अभिनयको । आज उनले महाकविको कथामा निकै डुबेर अभिनय गरेका थिए । अनि उता स्क्रिप्टभन्दा बाहिर गएकोमा उनी समकक्षीहरूबाट आलोचना पनि खेपिरहेका थिए ।
सहनिर्देशक हरिहरले निर्देशक रमेश चालिसेतर्फ हेर्दै भने, ‘स्क्रिप्टइतर गए पनि वसन्तराजको अभिनयलाई आज दर्शकले औधी मन पराएका छन् । यसलाई भयंकर इश्यु नबनाऊँ ।’
रमेशले सुस्तरी भने, ‘सायद तिमी ठिकै भनिरहेका छौ ।’
वसन्तराज भने केही बोलिरहेका थिएनन् । उनी लगातार शून्यमा टोलाइरहेका थिए । नाटक सुरु भएदेखि सकिएर चमेना गृहसम्म आइपुग्दा आज वसन्तराजका व्यवहार असामान्य लागिरहेका थिए । नाटक सकिएपछि पनि उनको चालढालमा महाकवि नै झन्झनाइरहेका देखिन्थे ।
वसन्तराज बरफमा घाम परेर पग्लिएसरह भएका थिए भने महाकवि लक्ष्मीप्रसाद देवकोटा नामक घाम त्यहाँ हठात् उदाउन पुगेको थियो । नाटक सकिए पनि अहिलेसम्म उनी शून्यमा नै टोलाइरहेका थिए ।
‘के भयो तिमीलाई ? महाकविको चरित्रबाट बाहिर निस्किन गाह्रो भयो ?’ निर्देशक रमेश चालिसे स्नेह प्रकट गर्दै सोध्छन् ।
तर, वसन्तराज केही बोल्दैनन् । उनी कुनै जवाफ नै दिदैनन् । उसै गरी शून्यमा टोलाइरहन्छन् ।
यतिकैमा सबैलाई खाजा आइपुग्छ, समोसा तरकारी ।
अचानक वसन्तराज भन्छन्, ‘म मासु खान्छु ।’
‘तर, तिमी त शाकाहारी हौ । आज अकस्मात् यो के भन्दै छौ, वसन्त तिमी ?’ सहनिर्देशक हरिहर आश्चर्य प्रकट गर्छन् ।
उपस्थित सबै आश्चर्यको फोहरामा नुहाइरहेका थिए ।
‘कसले भन्यो म शाकाहारी हुँ ?’ बडो अनौठो आवाजमा वसन्तराज प्रश्न गर्छन् । अनि चमेना गृहको सहायकलाई आदेशात्मक भावमा भन्छन्, ‘एक प्लेट कुखुराको पांग्राकलेजो लेराऊ, झट्टै ।’
अबेर नगरी एक प्लेट पांग्राकलेजो आइपुग्छ । वसन्तराज चिउरा पनि मगाउँछन् । प्याज, लसुन, हरियो खोर्सानी र कागती समेत मगाएर उनी बडा स्वाद मानीमानी मांसाहार खाइभ्याउँछन् । सबै छक्क पर्छन् ।
के भयो आज वसन्तराजलाई ? उनी अरू पनि केही असामान्य व्यवहारहरू देखाइरहेका थिए ।
साँझ पर्यो । सबै आ–आफ्नो घर जाने तरखर गर्न थाले ।
तर, वसन्तराजले भने, ‘मलाई डिल्लीबजार पुर्याइदेओ ।’
‘डिल्लीबजार नै किन नि ? तिमी बस्ने त कीर्तिपुर होइन र ?’ निर्देशक रमेश चालिसेले हडबडाउँदै सोधे ।
‘ल, मेरो घरै डिल्लीबजार हो नि । बरु, घरबाट मलाई लिन कोही आएका छन् कि ? पद्म, प्रकाश, मुना वा मीरा ? कोही आएका छन् कि ?’ वसन्तराजले लगभग एकै सासमा भने ।
सुनेर एकपटक त सबै गलल हाँसे । तर, त्यो हाँसो टिकाउ रहेन । उनी महाकविको चरित्रबाट बाहिर निस्किनुको सट्टा झन्झन् भासिन थालेको आभास भइरहेको थियो ।
वसन्तराज भनिरहेका थिए, ‘झमक्कै साँझ परिसक्यो । लौ न, मलाई कसैले घर पुर्याइदेओ । खोइ मेरो साइकिल ? के म आज बिनासाइकिल घरबाट बाहिर निस्किएको थिएँ ?’
सुरुमा सबैले वसन्तराजले ठट्टा गरिरहेको ठाने । तर, केही बेरमा नै उनीहरू के पत्याउन बाध्य भए भने, उनी महाकविको चरित्रमा नराम्रोसँग जकडिन पुगेका छन् ।
अब के गर्ने ?
वसन्तराज चाहिँ भनिरहेका थिए, ‘मलाई आज केही रकम पनि चाहिएको छ । बगरेलाई तिर्नुपर्ने ।’
दुई
शिक्षण अस्पतालको मनोवैज्ञानिक कक्ष ।
मनोवैज्ञानिक नूतन सिंहले वसन्तराजका आँखामा गढेर हेर्दै सोधिन्, ‘नाम के हो तपाईंको ?’
वसन्तराजले सहजै भने, ‘लक्ष्मी... लक्ष्मीप्रसाद देवकोटा !’
उपस्थित सबै छक्क परे । त्यति बेला निर्देशक रमेश चालिसेको अनुहार हेर्न लायक थियो ।
वसन्तराज विवाहित थिए । उनकी एक नाबालिग छोरी पनि थिइन् । उनीहरू पनि त्यहाँ उपस्थित थिए । तर, वसन्तराज उनीहरूलाई चिनिरहेका थिएनन् ।
मनोवैज्ञानिक नूतन सिंह अगाडि सोध्छिन् ‘तपाईं वसन्तराज घिमिरेलाई चिन्नुहुन्छ ?’
वसन्तराज फटाफट भन्छन्, ‘अहँ चिन्दिनँ !’
नूतन वसन्तराजकी श्रीमतीतर्फ औँलो सोझ्याउँदै सोध्छिन्, ‘उनी को हुन् ?’
वसन्तराज जवाफ दिन्छन्, ‘अहँ चिन्दिनँ !’
सानी छोरीतर्फ देखाएर सोध्छिन्, ‘यिनी चाहिँ को हुन् ?’
वसन्तराज उस्तै जवाफ दिन्छन्, ‘अहँ चिन्दिनँ !’
नूतन फ्याट्ट सोध्छिन्, ‘तपाईंको नाम के हो रे ?’
वसन्तराज पनि फ्याट्टै भन्छन्, ‘लक्ष्मीप्रसाद देवकोटा !’
सुनेर वसन्तराजकी श्रीमती डाँको छाड्छिन्, ‘लौ न, के रोग लाग्यो नि तपाईंलाई ? आफ्नै परिवार पनि नचिन्ने ? वसन्तराज घिमिरे कसरी भयो अचानक लक्ष्मीप्रसाद देवकोटा ?’
वसन्तराज बर्बराउँछन्, ‘जरुर साथी म पागल, यस्तै छ मेरो हाल...!’
मनोवैज्ञानिक नूतन सिंह सोचमग्न भएर भन्छिन्—
‘अब चाहिँ ‘लाइ डिटेक्टर मेसिन’को सहारा लिनुको अर्को विकल्प रहेन ।’
‘मतलब ?’ रमेश चालिसे सोध्छन् ।
‘मतलब, वसन्तराजका चेतन मनका जवाफ त हामीले सुन्यौँ । तर, के उनले दिएको जवाफ अवचेतन मनमा पनि सोहीअनुसार होला त ? के उनी सत्य बोलिरहेका छन् ? कि झुटो ? त्यसैले अब झटो पत्ता लगाउने यन्त्र अर्थात् ‘लाइ डिटेक्टर मेसिन’को मद्दतले काम लिनुपर्ने देखियो । अर्को हप्ता आउनुहोस् ।’
‘किन त्यति लामो समय ? भोलि नै हुन सक्दैन ?’ वसन्तराजकी श्रीमती सोध्छिन् ।
‘त्यो मेसिन हामीसँग छैन । बैंककबाट मगाउनुपर्ने हुन्छ ।’ नूतन भन्छिन् ।
तीन
वसन्तराजज आफ्नो घरमा बस्न नमानेपछि उनलाई मझेरी नाट्य मण्डलीको कार्यालयमा राखिएको थियो । नाट्य मण्डलीका साथीले पालैपालो उनको हेरचाह गरिरहेका थिए । उनी भने अनौठा हर्कत देखाएर थाकेका थिएनन् । बढी समय उनी धाराप्रवाह कवितावाचन गर्थे । लेख्थे पनि । यस्तो लाग्थ्यो, त्यहाँ साक्षात् महाकविको अवतरण भएको छ ।
आज वसन्तराजज बडो काव्यिक मुद्रामा गाउँदै थिए—
‘कालोनिलो देख्छु चारैतिर
कोकिलकण्ठहरू सुस्ताएका
मयूरहरू सुतेका
नलिनीहरु झोक्राएका
परितापग्रस्त आवोहवा
सरिता शान्त,
छैन कुनै वेग जिन्दगीको अब
निःशब्द र मौन छ धुकधुक
लैजाऊ ए लैजाऊ
मेरो सास लैजाऊ
मेरो धड्कन लैजाऊ
पल्लव लैजाऊ
पल्लवी लैजाऊ
नवयौवनाको ओठको लाली लैजाऊ
नवजातको निर्दोष दृष्टिपथ लैजाऊ
लैजाऊ...
केही पनि बाँकी नराखी सब लैजाऊ...!’
साथीभाइहरू मोबाइलमा उनले गाएको भिडियो बनाएर सामाजिक सञ्जाल तताइरहेका थिए । उनीहरू निकै रोमाञ्चित देखिन्थे । वसन्तराज साँच्चै नै टिकटकमय भएका थिए । विभिन्न सामाजिक सञ्जालमा वसन्तराज नयाँ महाकवि वा महाकविको नयाँ अवतार भनेर भाइरल भइरहेका थिए ।
कविता गाउँदागाउँदै बेलाबेला वसन्तराजज भन्थे, ‘के उनीहरूले मेरो घरमा बुल्डोजर चलाए ? म घर जान्छु । मलाई कसैले डिल्लीबजार पुर्याइदेओ । बज्यै के गर्दै छिन् ? मेरो लेखौट मन नपराए पनि उनी मलाई असाध्यै माया गर्छिन् । पद्म, प्रकाश, मिरा र मुनाको खबर के छ ? यस्तो लाग्छ, लामो निद्रा सुतेर उठेको छु । कि मलाई झुक्याएर राँची ल्याएका हौ तिमीहरूले ? के अहिले म औषधिहरूले लठ्याइएको छु र ?
होइन, के भइरहेको छ यहाँ ? कस्तो आश्चर्य ! अनि कस्तो घोर उदेक ?
महाकविको आत्मा अन्तरिक्षमा घुम्दाघुम्दै वसन्तराजजको आँतमा घुसेको हो कि ? वसन्तराजको आत्मा चाहिँ अन्तरिक्षमा घुमिरहेको महाकविको आत्मासँग एकाकार भएको हो कि ? हो भने यस्तो कसरी सम्भव छ ? कि वसन्तराजज प्रख्यात हुनका लागि गहिरोभन्दा गहिरो अभिनय गरिरहेका छन् ?
हुँदाहुँदै उनी लक्ष्मीप्रसाद देवकोटा जसरी नै हिँड्न पनि थालेका थिए । चुरोट कहिल्यै नखाने वसन्तराज आजकल ‘चेनस्मोकर’ भएका थिए । माछामासु अत्यधिक खान थालेका थिए । कलम र कापी पाए कविता लेखिरहन्थे । नपाए धाराप्रवाह कविता गाइरहन्थे । उनका कविता निकै अनौठा र रहस्यमय हुन्थे । बडा सुमधुर आवाज निकालेर उनी कविता गाउँथे । कविता गाउँदा उनी सासको आरोह–अवरोहको हेक्का राख्थे ।
कहिले उनी एकदमै भावुक भएर रुन्थे । डाँको छाडेरै रुन्थे । अनि सुँक्कसुँक्क गर्दै अनौठो आवाज झिकेर कविता गाउँथे । कहिले गलल हाँस्थे । अनेक हाउभाउ निकालेर उनी अनौठो अभिनय पनि गर्थे । अमूर्त संवादहरू पनि बोल्थे । जानकारहरूले बताएअनुसार उसको आवाज र कविता भन्ने शैली ठ्याक्कै महाकविसँग मिलिरहेको थियो ।
कस्तो अचम्म ?
‘जरुर साथी म पागल
भयो मेरो यहाँ घोर बेहाल...’
वसन्तराज फेरि भावविभोर हुँदै कविता गाउँन थाले–
‘किन पदार्थको आहालमा भयो
जिन्दगी मेरो हायलकायल ?
कहाँ छु म ?
किन छु म ?
कसरी छु म ?
कसले चिन्छ मलाई ?
कसले चिन्दैन मलाई ?
यहाँ को लाटा अनि को छ वाचाल ?
को छ यहाँ तरंगी ?
अनि को सप्तरंगी ?
यहाँ को सिकन्दर अनि को वेश्या ?
कसलाई लागेको छ यहाँ भूत ?
को को ज्युँदै जलिरहेका छन् चितामा ?
को हो बहुला ?
को छ यहाँ सद्दे ?
जरुर साथी म पागल...
तर खोइ तिमी सद्दे हुनुको प्रमाण ?
तिमी चन्द्राहत नहुनुको प्रमाण खोइ ?
हो, म एक स्वर्गाग्नी चोर हुँ
अनि सन्के मगज छु सन्के
जरुर साथी म पागल
तर भयो आज मेरो यहाँ बेहाल
मेरो टाउको बेचेर
को को भए मालामाल ?
ए, स्वतन्त्रता देऊ अहिले भर्खर मलाई
यो घनघोर तिमिरबाट
म आफ्नो घर जान चाहन्छु
जहाँ धिपधिप गर्दै एउटा झिनो दियो
मलाई अहर्निश पर्खिरहेको छ !’
यत्ति कविता गाएर वसन्तराज डाँको छाडेर रुन थाले । साथीभाइ ट्वाँ !
चार
सामाजिक सञ्जालमा वसन्तराजको उपचार रोक्नुपर्ने माग हुन थाल्यो । उनलाई उनकै हालतमा छाडेर नयाँनयाँ कविता लेख्न दिनुपर्ने मागहरू पनि हुन थाले । किनभने, यस्तो लागिरहेको थियो कि जहाँ महाकवि देवकोटा सकिएका थिए, ठिक त्यसै विन्दुबाट वसन्तराज सुरु भएका हन् । एक अभिनव आँसुकविको अचानक जन्म भएकोमा अब उनलाई प्राकृत राखेर संरक्षण गर्नुपर्ने माग समेत उठिरहेका थिए ।
अर्को पक्ष त्यो सबको खण्डन गरिरहेको थियो । उसको सवाल थियो, वसन्तराजको परिवारको अब के हुन्छ ? उनकी श्रीमती र त्यो नाबालिग छोरीको कसले हेरचाह गर्छ ? के परिवारको लागि वसन्तराज एउटा ज्युँदो लास भएर बाँच्ने ? आखिर उनले आफ्नो परिवारलाई नै जब चिन्दैनन् भने भयंकर कविता लेखेर मात्रै हुन्छ त ? के हामीले उनको व्यक्तिगत जिन्दगीको सम्मान नगर्ने ? त्यसैले विदेश लगेर भए पनि वसन्तराजको उपचार हुनुपर्छ ।
पाँच
शिक्षण अस्पताल, मनोवैज्ञानिक कक्ष ।
वसन्तराजको शरीरमा केही यन्त्र जोडिए । उनी भने लगातार अनौठा कविताहरू गुन्गुनाइरहेका थिए–
‘जरुर साथी म पागल
गर्यौ तिमीहरूले मेरो झन्झन् बेहाल
तर तिमी सद्दे भएको प्रमाण मलाई देऊ
अहिले भर्खरै देऊ
अनि बाँध मलाई अनेक तारहरूले
रोबोटहरू मेरोपछि राक्षसजसरी लगाइदेऊ
बहुला भन
पागल भन
चन्द्राहत भन
सन्के मगज वा तिमी मलाई लुनेटिक नै भन
तर चाहियो मलाई तिमी चाहिँ सद्दे भएको प्रमाण
छ के तिमीसँग त्यस्तो चन्द्रहार ?’
मनोवैज्ञानिक नूतन सिंह मुसुमुसु हाँस्छिन् । परिवारका सदस्य र साथीभाइ किंकर्तव्यविमूढ देखिन्छन् ।
टाउको, हात र गोडाका औँलामा विभिन्न तार र यन्त्र जोडिसकेपछि नूतन प्रेमिल भावमा वसन्तराजलाई सोध्छिन्, ‘तपाईंले केही प्रश्नको जवाफ दिनुपर्ने छ । तयार हुनुहुन्छ ?’
वसन्तराज भन्छन्, ‘तयार छु ।’
सर्वप्रथम उनलाई अन्य सामान्य प्रश्नहरू सोधिन्छ । भित्ताको घडी देखाएर वर्तमान समय सोधिन्छ । गुलदस्ताको रङ सोधिन्छ । तपाईं स्त्री हो कि पुरुष भनेर पनि सोधिन्छ । सबै प्रश्नको उनी सही जवाफ दिन्छन् ।
उनका जवाफहरूमा ‘लाइ डिटेक्टर मेसिन’ले कुनै रातो बत्ती बालेन । वसन्तराजले गलत जवाफ दिएको भए मेसिनले रातो बत्ती बाल्ने रहेछ । झुटो पकड्ने मेसिन जो पर्यो ।
यस्तैमा अबेर नगरी मनोवैज्ञानिक नूतन सिंह वसन्तराजका आँखामा गढेर हेर्दै सोध्छिन्, ‘तपाईं लक्ष्मीप्रसाद देवकोटा हो ?’
वसन्तराज बिल्कुलै सहज भावमा जवाफ दिन्छन्, ‘होइन !’
वसन्तराजको यो जवाफमा ‘लाइ डिटेक्टर मेसिन’मा रातो इन्डिकेटर बलेको देखेर नूतन सिंह चकित पर्छिन् । बाहिर ‘होइन’ जवाफ दिए पनि भित्र भने उनी ‘हो’ जवाफ दिइरहेका थिए । त्यसैले रातो बत्ती बलेको थियो ।
नूतन गम्भीर हुँदै भन्छिन्, ‘परिस्थिति गहिरियो । अब वसन्तराजको उपचार गर्नु अति कठिन हुन पुगेको छ । सोचेविपरीत परिणाम हात लाग्यो ।’
किन ? कसरी ?
र, अन्त्यमा
बिस्तारै पर्दा खस्छ ।
नेपथ्यमा वसन्तराजले कविता गुनगुनाइरहेको सुनिन्छ–
‘के हो झुट ?
अनि कहाँ छ सत्य ?
आऊ तिमी हामी झुट र सत्यभन्दा
एक तह माथि चढौँ
आऊ तिमी हामी आज
पान्ढिकीको त्यो बाटुलो सत्यपार जाऊँ
चन्द्रमाको चिसो यहाँ अलिक ज्यादा भयो कि ?
अब सूर्यको तापले आँतहरू सेकौँ !
किनभने, झुट र सत्य परिभाषा गर्ने
हामी मानव पानीका थोपा हौँ
सात समुद्रका सामुन्ने
त्यसैले आज केही निर्णय
परमात्माका पाउमा छाडिदिऊँ
आज केही बात प्रकृतिका पोल्टामा पारिदिऊँ
शून्य बसौँ
शून्य रमौँ
शून्य बाँचौँ !’
दर्शकहरूको तालीको गडगडाहटले सारा नाट्यालय गुञ्जायमान हुन्छ ।